0
गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले उद्योगी–व्यवसायीको समस्यामा चासो नदिने पोखरा उप–महानगरपालिकालाई व्यावसायिक कर नतिर्न निर्देशन दिएका छन् । कपडा व्यवसायी एशोसिएशन पोखराको १७औं साधारणसभा तथा नवौं अधिवेशनको उद्घाटन गर्दै उनले भने–‘उद्योगी–व्यवसायीका समस्या बग्रेल्ती छन् ती समस्यामा पोखरा उप–महानगरपालिकाको प्रतिवद्धता बाहेक अन्य केही छैन । व्यवसायीका समस्यामा चासो नदेखाउने हो भने कोही पनि व्यवसायीले नगरपालिकालाई तिर्दै आएको व्यावसायिक कर तिर्नुपर्दैन ।’ ‘पोखरामा रहेका उद्योगी–व्यवसायीका समस्या सुन्ने जिम्मेवार निकाय पोखरा उद्योग वाणिज्य संघ हो भने सबैको समस्या सुन्ने सरकारी निकाय पोखरा उप–महानगरपालिका हो’, प्रश्न गर्दै उनले भने–‘जब हाम्रो समस्या नै सुनुवाइ हुँदैन भने हामीले करमात्र किन तिर्ने ?’ आफ्नो सुरक्षा र हक हितका लागि व्यवसायीले नगरपालिकालाई कर तिर्ने हो भन्दै अध्यक्ष पालिखेले व्यवसायीको समस्या समाधानमा नगरपालिकाले चासो नदिएसम्म कर नतिर्न व्यवसायीलाई निर्देशन दिए । व्यवसायीका घरभाडा र फुटपाथका व्यापारी समस्या मुख्य रहेको र यी समस्याको समाधान नगरपालिका बाटमात्र हुने भन्दै उनले समस्यामा अझैपनि मौन बसे नगरपालिकालाई तिर्दै आएको व्यावसायिक र फोहोरमैला दुवै कर नतिर्न समेत निर्देशन दिए । उद्योगी–व्यवसायीको हक हित र सुरक्षामा पोखरा उद्योग वाणिज्य संघ सदैव प्रतिवद्ध रहेको समेत अध्यक्ष पालिखेले स्पष्ट पारे । व्यवसायीको विविध समस्याको सुनुवाई गर्नका लागि पोउवासंघले विशेष अभियान संचालन गर्न लागेको समेत उनले जानकारी दिए। संघको उक्त अभियानमा निर्धक्क भएर आफ्नो समस्या राख समेत उनले आग्रह गरे ।  अध्यक्ष पालिखेले विजयपुर–हलनचोकमा छिट्टै सोलार वत्ति बल्ने समेत स्पष्ट पारे । उनले भने–‘चीन सरकारबाट सोलार आउन लागेको छ, भन्सार कार्यालयमा भन्सार छुटको प्रक्रिया पु¥याएर सोलार पोखरा ल्याउने काम अब केही दिनमै हुन्छ र छिट्टै पोखरामा सोलार वत्ति बल्छ ।’
 
पोखराको खानेपानी र खानेपानी आउने मुहान मर्दीखोलाप्रति पोखरा उद्योग वाणिज्य संघ गम्भीर रहेको अध्यक्ष पालिखेले बताए । उनले पोखरामा शुद्ध खानेपानी ल्याउनका लागि पोउवासंघको ध्यान केन्द्रित हुन लागेको समेत स्पष्ट पारे । उनले भने–‘पोखराको खानेपानी मुहान मर्दीमा त्यहाँ वरपरका करिब ५ गाउँका मानिसको दाहसंस्कार गरिने गरेको छ भने र ढल समेत मिसाइने गरेको छ । त्यही खोलाको पानी हामीले पिउँदै आएका छौं । उक्त गाउँमा व्यवस्थित शवदाह स्थल र शौचालय निर्माण गर्न पोखरा उद्योग वाणिज्य संघले पहल गरिरहेको छ । कार्यक्रममा कपडा व्यवसायी एशोसिएशनका अध्यक्ष यमनाथ तिमिल्सिनाले आफूहरुको समस्यामा नगरपालिका सधैं वेखबर हुने गरेको बताए । नगरपालिकाले आफूहरुको समस्या नसुनेसम्म कर नतिर्ने भन्र्दै अध्यक्ष तिमिल्सिनाले नगरपालिका लाई कुनैपनि कर नतिर्न सबै उद्योगी व्यवसायीलाई निर्देशन समेत दिए । उनले विकास निर्माण भन्दा व्यवसायी हक, हित र सुरक्षामा ध्यान दिन पोखरा उद्योग वाणिज्य संघलाई आग्रह गरे ।  कार्यक्रममा कस्मेटिक व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद बाँस्तोला, सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष धर्ममानसिंह भण्डारी, संस्थाका संस्थापक अध्यक्ष रामजी बाँस्तोला, संस्थापक कोषाध्यक्ष केदार मर्सानी, पूर्व अध्यक्षहरु प्रदीपकुमार श्रेष्ठ र जनकराज पराजुली, अग्रज व्यवसायी लक्ष्मण कुमार श्रेष्ठ लगायतले व्यवसायीका समस्या र समाधानका बारेमा चर्चा गरेका थिए । उनीहरुले व्यवसायीका समस्यामा राज्यका कुनैपनि निकाय गम्भीर हुन नसकेको समेत आरोप लगाए ।  संस्थाका अध्यक्ष यमनाथ तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष एवं कार्यक्रम संयोजक विष्णु प्रसाद तिमिल्सिना र संचालन महासचिव नविन नापितले गरेका थिए ।  कार्यक्रममा अग्रज व्यवसायी सम्मानबाट रत्न इम्पोरियमका संचालक लक्ष्मण कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । यसैगरी एसएलसी परीक्षामा उत्तीर्ण व्यवसायीका छोराछोरीहरु र संस्थाद्वारा आयोजित विभिन्न कार्यक्रमका संयोजकहरुलाई पनि सम्मान गरिएको थियो ।
 
कपडा व्यवसायीमा नविन नापित विजयी
कपडा व्यवसायी एशोसिएशन पोखराको नवौं अधिवेशनबाट अध्यक्ष पदमा नविन नापित विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवार विष्णुप्रसाद तिमिल्सिनालाई पराजित गर्दै उनी विजयी भएका हुन् । कुल खसेको १४८ मतमध्ये ९२ मत प्राप्त गरि उनी विजयी भएका हुन् । अध्यक्षका प्रत्यासी तिमिल्सिनाले ५५ मतमात्र प्राप्त गरे । अध्यक्षमा विजयी नापित संस्थाको यसअघिको कार्यसमितिमा महासचिव भएर काम गरेका थिए । उनी चिप्लेढुङ्गास्थित गण्डकी ट्रेडिङ कन्सर्नका संचालक हुन् । यसैगरी एशोसिएशनको वरिष्ठ उपाध्यक्ष पदमा लक्ष्मण न्यौपाने निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी उम्मेदवार मीनबहादुर अधिकारीलाई पराजित गर्दै विजयी भएका हुन् । न्यौपानेले ९० मत प्राप्त गरे भने अधिकारीले ५६ मत प्राप्त गरे। अघिल्लो कार्यसमितिमा महासचिवको भूमिका निर्वाह गरेका उनी पोखराको मानव अधिकारचोक, चिप्लेढुङ्गास्थित गण्डकी ड्रेस हाउसका संचालक हुन् । यसैगरी संस्थाको उपाध्यक्ष पदमा साँघुको मुखस्थित विराज सप्लायर्सका संचालक रामेश्वर अधिकारी निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघिको कार्यसमितिमा सदस्य भएर काम गरेका थिए । यसैगरी एशोसिएशनको महासचिव पदमा गजेन्द्रमान श्रेष्ठले प्रतिस्पर्धी थानेश्वर तिवारीलाई पराजित गर्दै विजयी भएका छन् । महासचिव श्रेष्ठले १०३ मत प्राप्त गरे । सभागहचोकस्थित श्रेष्ठ ब्रदर्शका संचालक उनी प्रदीकुमार श्रेष्ठ अध्यक्ष रहेको कार्यसमितिमा सदस्य भएर काम गरेका थिए । संस्थाको सचिव पदमा भने धर्ममानसिंह भण्डारी र कोषाध्यक्ष पदमा लेखनाथ पौडेल निर्विरोध निर्वाचित भएका छन् । सचिव भण्डारी सर्वेश्वर मार्गस्थित श्रृङगार इम्पेक्सका संचालक हुन् भने कोषाध्यक्ष न्यौपाने कालिका वटन शपका संचालक हुन् । एशोसिएशनको कार्यसमिति सदस्यहरुमा देवी पनेरु, चोकबहादुर गुरुङ, रामचन्द्र तिमिल्सिना, पोषराज पौडेल र रजनी चापागाइँ निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षम निर्वाचित भएपछि बोल्दै अध्यक्ष नविन नापितले निर्वाचनमा पराजित भएकाहरुलाई पनि समेटेर सबैलाइृ मिलाएर अघि बढ्ने प्रतिवद्धता जनाए । उनले संस्थामा आफ्नो कार्यकाललाई सबैभन्दा उत्कृष्ट बनाउने समेत स्पष्ट पारे । संस्थाका पूर्व अध्यक्ष प्रेमबहादुर भुजेल संयोजक र पूर्व अध्यक्षहरु रामचन्द्र गौतम र जनकराज पराजुली सदस्य रहेको समितिले निर्वाचन कार्यक्रम सम्पन्न गरेको हो ।

Post a Comment

 
Top