0
गोल्डेन न्यूज संवाददाता
सहारा यूकेको टोलीलाई पोखराका खेलकुद पत्रकारले स्वागत गरेका छन् । सहारा क्लब पोखराले आयोजना गरेको १५औं आहारारा गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुन आएका टोलीलाई नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेका हुन् । सहारा यूकेका अध्यक्ष मिनबहादुर गुरुङ लगायतलाई मञ्चका अध्यक्ष केशव पाठकले खादा र मायाको चिनो प्रदान गरे । सो अवसरमा सहारा यूकेका तर्फबाट पनि मञ्चलाई मायाको चिनो प्रदान गरियो भने क्षेत्रीय फुटबल संघममा हालै अध्यक्षमा चयन भएका खेम गुरुङलाई पनि बधाई ज्ञापन गरिएको थियो । तमु धिं यूकेका अध्यक्ष ग्याम गुरुङ सहितलाई स्वागत पनि गरिएको थियो । सहारा यूकेका अध्यक्ष मिनबहादुर गुरुङले खलकुद पत्रकार मञ्च कास्कीले अग्रजलाई सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन स्वरुप पोखरा स्पोर्टस् अवार्ड सुरु गरेकोमा खुशी व्यक्त गरे । उनले आफू सहित समग्र सहारा यूके टीमले यो उत्कृष्ट कार्यमा सहयोग गर्ने बचनबद्धता प्रकट गर्दै यूके पुगेर संस्थागत निर्णय गरेरै सहयोग पठाउने जानकारी दिए । सहारा क्लबका सल्लाहकार महेश गुरुङले खेलकुद निकट पत्रकारको हरेक कदममा साथ रहने प्रतिबद्धता जाहेर गरे । मञ्चका सचिव रञ्जन अधिकारीले खेलकुदमा समर्पित संघसंस्थासँग मञ्चले सम्बन्ध स्थापित गर्ने प्रयासस्वरुप यो कार्यक्रम आयोजना गरेको उल्लेख गर्दै सहयोग र सद्भावको सधैं अपेक्षा रहने बताए ।  यसैबीच १५औं आहारारा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन भईरहेको सन्दर्भमा शुक्रबार विहान मैत्रीपूर्ण खेल खेलिएको छ । सहारा यूके भेट्रान र पोखरा भेट्रानबीचको मैत्रीपूर्ण फुटबलमा सहारा यूकेले जीत हात  पारेको छ । उसले पोखराको टोलीलाई ३–० गोलले हरायो । सहारा यूके भेट्रानका लागि महेश गुरुङ, मिनबहादुर गुरुङ र मनकाजी गुरुङले गोल गरे ।

Post a Comment

 
Top