0
हरि पन्त÷गोल्डेन
निकै प्रतिस्पर्धात्मक खेलमा बलियो प्रतिद्वन्दी सशस्त्र प्रहरी वलको एपीएफ क्लवलाई १–० गोलले हराउँदै धरान फुटवल क्लव १५औं आहारारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । यो जित संगै धरानले चौथो आहा गोल्डकपमा एपीएफसंगै व्यहोरेको हारको बदला लिएको छ । आहारारा गोल्डकपमा धरान र एपीएफ बीचको प्रतिस्पर्धा यो दोस्रो पटक हो । यसअघि २०६२ को चौथो आहा गोल्डकपमा यी दुई टीमबीच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतिस्पर्धामा धरान एपीएफसंग ट्राइ ब्रेकरमा ४–३ गोलले पराजित भएको थियो । यस्तै आहारारा गोल्डकपमा १२ पटक सहभागी धरानको यो दोस्रो जीत पनि हो । यसअघि ११औं आहा गोल्डकपमा त्रिभुवन आर्मीलाई २–१ गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । धरानले बलियो प्रतिद्वन्दी एपीएफलाई पराजित गर्न निकाल्न  १०३औं मिनेट कुर्नुप¥यो । खेलको निर्धारित समयमा कुनैपनि टीमबाट गोल हुन सकेन । खेलको निर्णय लिन अतिरिक्त समय पर्खनुपरेको थियो । १०३औं मिनेटमा दीपक राइको १ गोलनै निर्णायक भइ धरान विजयी भयो । डिबक्समा सब्सिच्यूट खेलाडी वर्तमान राइले दिएको क्रस पासलाई दीपकले वान टचमा सुन्दर गोल गरेका हुन्। धरानले सेमिफाईनल प्रवेशका लागि माघ ९ गते  मनाङ–मस्र्याङदीको सामना गर्नेछ । खेल अवधिभर डिफेन्समा जोड दिएको धरानले १२औं र २२औं मिनेटमा पाएका राम्रो अवसरलाई सुदपयोग गर्नबाट चूक्यो । यी दुवै अवसरमा रोहन मल्ल चुकेका थिए । यस्तै खेलको ८१औं गोल्सन कन्दङवाको सशक्त प्रहारले पोष्टको दिशा लिन सकेन भने ८३ औं मिनेटमा पनि उनैको प्रहारलाई एपीएफका गोलरक्षक अमृत चौधरीले विफल पारे । ९३ औं मिनेटमा दीपक राइको प्रहारलाई पनि उनै चौधरीले विफल तुल्याए ।  यता एपीएफको तर्फबाट पनि गोल गर्ने धेरै प्रयत्न सफल हुन सकेन । खेल अवधिभर स्पीड र काउण्टर एट्याकमा जोड दिएको एपीएफको दुई वटा प्रहार गोलपोष्टको बारमा लागेर बाहिरिंदा खेलमा पराजि हुन पुग्यो । खेलको ८८ औं र ९२औं मिनेटमा नविन लामाको सशक्त प्रहार गोल पोष्टको बारमा लागेर बल बाहिरिएको थियो । खेलको आठौं मिनेटमा श्याम नेपाली र १६औं मिनेटमा नविन लामाको कडा प्रहारलाई खेलको म्यान अफदी म्याच बन्न सफल धरानका गोल रक्षक पूर्ण चेम्जोङले विफल पारिदिए भने ९३ओं मिनेटमा राजन विष्टको प्रहारले पनि गोलपोष्टको दिशा लिन सकेन र एपीएफ प्रतियोगिताबाटै बाहिरन पुग्यो । एपएफ क्लव यसअघि छैटौं आहा गोल्डपकमा फाइनलमा पुगेर नेपाल पुलिसंग पराजित भएको थियो । आहारारामा एपीएफको यो ११औं सहभागिता हो । जसमध्ये २ पटक क्वाटर फाइनल, १ पटक समिफाइनल र १ फाइनलमा पुग्न सफल भएको छ । खेल समापन पछि प्रतिक्रिया दिंदै एपिएफका प्रशिक्षक कुमार थापाले खेलमा हार जित हुने स्वभाविक भएको भन्दैै पहिलो हापमा आफूहरुले पाएका केहि अवसरहरु खेर जाँदा आफूहरु पराजित हुनु परेको बताए । उनले आफ्ना खेलाडीले जति खेल्नुपर्ने हो त्यति खेल्न नसकेको बताए ।  धरानका प्रशिक्षक सुवास केसीले आफूहरुको अझ सोचे जस्तो टिम सेट नभएको कारणले गर्दा कठिन जित भएको बताए। उनले एपीएफसंग खेलाडीले निकै मेहनत गरे र अब मनाङसंग पनि अझ राम्रो खेल्ने बताए ।


Post a Comment

 
Top