0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले राजनीतिक अस्थिरता भएकै कारण मुलुकको विकास हुन नसकेको भन्दै तत्काल निर्वाचन गरी राजनीतिक अवस्थालाई राम्रो बनाउनु सके विकारको लहर आउने बताएका छन् । पोखरामा सातौं पोखरा महोत्सवको उद्घाटन गर्दै मन्त्री महराले विकास बजेट खर्च हुन नसक्नु ठूलो चुनौती भएको बताए । उनले भने–‘धेरै विकासे योजनाका बजेटहरु समयमै खर्च हुन सकेको छैनन् भने काम गर्ने परम्परागत शैली र नयाँ प्रविधिलाई अपनाउन नसक्नु पनि दुर्भाग्य हो ।’ विकासको लागि सरकारसंग पैसा नभएर काम नरोकिएको बताउँदै अर्थमन्त्री महराले पैसा भएर पनि त्यसलाई समयमै खर्च गर्ने र नयाँ ढंगले काम गर्ने इच्छाशक्ति नभएको बताए।  देशमा विकास गर्नका लागि भएको सीमित श्रोतसाधनलाई अधिकतम् प्रयोग गरी मोडलको रुपमा काम गर्नुपर्नेमा उनले जोड दिए । विकास गराउन निजी क्षेत्र, स्थानीय सरोकार पक्ष र राज्य बीचको समन्वयमा मात्र सम्भव हुने बताउँदै अर्थमन्त्री महराले तीनै पक्षसंगको सहकार्यमा आफूले मुलुकको विकास गराउन चाहेको बताए। स्थानीय निकायको श्रोत साधन संघीयता लागू भएपछि बढी प्रयोग हुने भन्दै उनले २०७४ माघ ७ गते भित्र तीन वटा निकायको निर्वाचन हुने स्पष्ट पारे । स्थानीय निकायको निर्वाचन धेरै समयदेखि हुन नसक्दा धेरै विकासका कार्यमा प्रभाव पारेको भन्दै उनले मेला र महोत्सवले देशको आर्थिक गतिविधिलाई चलायमान बनाउँदै स्थानीय उत्पादनमा बढ्वा दिने विश्वास व्यक्त गरे ।  कार्यक्रममा प्रकृति संरक्षण विज्ञ जुद्धबहादुर गुरुङले युनाइटेड क्लवले महोत्सवको आयोजना गरी प्रकृति संरक्षण संगै विभिन्न सामाजिक काममा लागेकोमा खुशी प्रकट राजनीतिक दलहरुले नेपालको प्राकृतिक सम्पदालाई चिन्न नसकेको दुःखेसो गरे। सांसद एवं नेपाली कांग्रेस कास्कीका पूर्व सभापति यज्ञ बहादुर थापाले पोखरामा चिडियाखाना निर्माणमा ढिलाइ भएकाले यसलाई ध्यानाकर्षण गर्न केन्द्रमा झक्भक्याउन आवश्यक रहेको बताए । सांसद शारदा पौैडेलले नेपाल सरकारले विकासका काममा चाँसो नदेखाएको भन्दै विशेष गरी ग्रामीण भेगका किसानहरुलाई लक्षित गरी विकासका पूर्वाधारहरु निर्माण गर्नतर्फ सरकार लाग्नुपर्नेमा जोड दिइन । एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले सरकारले विकासको काममा भन्दापनि राजनीतिक अस्थिरता निर्माण गर्ने काममा लागेकाले राजनीतिक अस्थिरताको अन्त्य गरी समग्र नेपालको विकासतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।  नेकपा माओवादी केन्द्र कास्कीका संयोजक दिपक कोइरालाले युवाहरुले आयोजना गरेको पोखरा महोत्सवले पोखरामा छुट्टै पहिचान बनाएकाले युवाहरुले चाहने होे भने जे पनि गर्न सक्छन भन्ने उदाहरण युनाइटेड क्लवले देखाएकोमा युवाहरुले एकजुट भएर देशको विकासतर्फ वढ्नुपर्नेमा जोड दिए । क्षेत्रीय वन कार्यालय पोखराका वन निर्देशक धनन्जय पौडेलले पोखरा महोत्सवले महोत्सवकै माध्यामबाट चिडियाखाना निर्माण जस्तो वन र वन्यजन्तु संरक्षणमा देखाएको चासोप्रति अभार ब्यक्त गरे । अमरसिंह उच्च मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष वैनबहादुर अधिकारीले पोखरा महोत्सवले सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरेको भएतापनि अमरसिंह उच्च माविमा केही लगानी नगरेकोमा गुनासो गरे । क्लवका अध्यक्ष सुक बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महोत्सवको मुख्य प्रायोजक शालिमार सिमेन्टका गण्डकी धौलागिरी अधिकृत बिक्रेता तथा सिजी हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक दिनेश प्रसाद चौधरी, पोखरा अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण समितिका संयोजक तथा युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लवका प्रथम उपाध्यक्ष लालकाजी गुरुङ, महोत्सव प्रचार–प्रसार संयोजक तथा क्लवका महासचिव राजु श्रेष्ठ लगायतले महोत्सव र क्लवको बारेमा चर्चा गरेका थिए ।  महोत्सव उद्घाटन पूर्व पोखरो रंगशाला गेटबाट विभिन्न जातजाति, संघ–संस्था तथा आमा समूहका झाकी तथा ¥याली आयोजना गरिएको थियो ।   महोत्सवको पहिलो दिन स्थानीय कलाकारहरु चोलेन्द्र पौडेल, प्रजापति पराजुली, चन्द्रा कार्की, शंकर बिरही गुरुङ लगायतले दर्शकहरुलाई लोकदोहोरी मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।




Post a Comment

 
Top