0
गोल्डेन न्यूज संवाददाता
खेलकूदमा कलम चलाउने पत्रकारहरुका लागि आइतबारबाट शुरु भएको फुटवल र क्रिकेटको तालिम सोमबार सम्पन्न भयो । पत्रकारको क्षमता अभिवृद्धिका लागि खेलकूद पत्रकार मञ्च कास्कीले दोस्रो पटक तालिम आयोजना गरेको थियो । मञ्चले गतवर्ष पनि यस्तै तालिमको आयोजना गरेको थियो । तालिमको समापन अवसरमा बोल्दै नेपाल ओलम्पिक कमिटी सदस्य तेज गुरुङले खेलकूद विश्वमा शान्ति र समृद्धिका लागि भएको बताए । उनले समाजमा सकारात्मक परिवर्तन गर्न खेलकुदको महत्व विशेष भएको स्पष्ट पारे । व्यक्तिगत हिसाबमा शारीरिक तन्दुरुस्ती, मानसिक शुद्धता साथै आफ्नो राष्ट्रलाई विश्वमाझ शानका साथ चिनाउने माध्यम नै खेलकुद भएको उनले स्पष्ट पारे । नेपाल ह्याण्डबल संघका केन्द्रीय अध्यक्ष समेत रहेका गुरुङले मोफसलको खेलकुद अघि बढाउन राजधानीका मिडियाले कञ्जुस्याईं गर्न नहुने बताए। खेल पत्रकारलाई प्राविधिक पक्षकारुपमा राम्ररी जानकारी हुनुपर्ने भएकाले यसको ज्ञान हुनु अत्यन्त आवश्यक रहेको भन्दै उनले पत्रकारले नयाँपन र फरकपन दिन सक्नुपर्नेमा जोड दिए । मञ्चका केन्द्रीय अध्यक्ष महेश आचार्यले दुई दिने तालिम शुरुवाती मात्र भएको भन्दै उनले खेलका नयाँ नियम, खेल समाचार लेख्ने शेली, आवश्यक तयारीका बारेमा सदैव ध्यान दिनुपर्ने बताए ।  मञ्च कास्कीका अध्यक्ष केशव पाठकले दुई दिनसम्म दुई खेलसम्बन्धमा दुई–दुई जना अग्रजबाट प्रशिक्षण दिने काम भएको स्मरण गराउँदै सिद्धान्ततः सिकेर नबुझ्ने भएकाले यसपटक व्यवहारिक रुपमा फिल्डमै पुगेको बताए ।  सहभागीका तर्फबाट बोल्दै पत्रकार फडिन्द्र अकिञ्चनले आवश्यक ज्ञानको अभावमा समाचार नै बिग्रने अवस्था आउने र यो पत्रकारका साथै मिडिया हाउसकै प्रतिष्ठाको विषय भएको बताए । विषयगत ज्ञानको अभावलाई केहि भएपनि पूर्ति गर्न तालिम सफल भएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिए ।  क्रियाशील महिला पत्रकार डब्लुडब्लुजे, कास्कीकी अध्यक्ष सरिता तिम्सिना पंगेनीले महिला सहभागिताप्रति सन्तुष्टि जनाउँदै खेलकुदमा महिलाहरु पनि अघि आउनेक्रम सुरु भएको बताइन ।  तालिमको दोस्रो दिन नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले क्रिकेट खेलको समाचार लेखन विधिबारे प्रशिक्षण दिए भने अन्तर्राष्ट्रिय रेफ्री एवं कास्की जिल्ला क्रिकेट संघका सचिव सञ्जयकान्त सिग्देलले क्रिकेट खेलको प्राविधिक पक्ष, खेलका क्रममा ध्यान दिनुपर्ने कुराहरु, रेफ्रीको भूमिका लगायत सम्बन्धमा जानकारी गराए । कार्यक्रमपछि पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा पुगेर प्रशिक्षक सिग्देलले मैदान र खेलाडी पोजिशनबारे जानकारी गराएका थिए भने दुई समूहमा विभाजन गरी क्रिकेट समेत खेलिएको थियो । मञ्च कास्कीका अध्यक्ष केशव पाठकले अब खेलकूदको राजधानी बन्दै गएको सन्दर्भमा पोखरेली पत्रकारलाई यस्ता तालिम फलदायी बन्ने विश्वास व्यक्त गरे । केहि महिनापछि गल्फ खेलको बारेमा प्रशिक्षण दिने अध्यक्ष पाठकले जानकारी दिए ।
कार्यक्रम संयोजक दिननाथ बरालले धन्यवाद ज्ञापन एवं सचिव रञ्जन अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
तालिमको पहिलो दिन नेपाली राष्ट्रिय महिला फूटबल टीमका प्रमुख प्रशिक्षक कुमार थापा र मञ्चका केन्द्रिय महासचिव प्रकाश तिमिल्सिनाले फुटबल खेलबारे सहजीकरण गरेका थिए । तालिममा कास्कीका विभिन्न मिडियामा आबद्ध ४४ जना पत्रकार सहभागी थिए ।


Post a Comment

 
Top