0
पछिल्लो समय प्रवासमा पर्यटन दूत नियुक्तिको समाचार नियमित जसो सुन्न पाइन्छ । युरोपेली मुलुकहरुमा हप्ता–दस दिनमै एक न एक पर्यटन दूत नियुक्तिको खबर आउने गरेको छ । पर्यटन दूत केका लागि भन्नेबारे धेरै जना अनविज्ञ छन् । विदेशका नेपाली समुदायको एक हिस्सामा भ्रम छ, यो सरकारले दिएको पद हो र मासिक रुपमा तलब पनि आउँछ । तर, पर्यटन दूत तलब र कुनै पनि सुविधा नलिई देशको पर्यटन विकासमा काम गर्ने जिम्मेवारी हो । दूत बनेका व्यक्तिहरुले आफूले के काम गर्ने, समाजमा पर्यटन दूतबारे फैलिएका भ्रम कसरी चिर्ने र नेपाली समुदायलाई कसरी बुझाउने भनेर केन्द्रित भएको पाइँदैन । अब विदेशी समुदायलाई नै केन्द्रित गरेर नेपालको पर्यटन विकासलाई कसरी सघाउलान् ? यो त झनै चासोको विषय बनेको छ ।
 राजनीतिक आडमा दूत नियुक्ति
 सर्वप्रथम दूत नियुक्तिको विषयलाई नै जोडौं । पर्यटन दूत नियुक्तिलाई राजनीतिक भागबण्डाको एक अंशको रुपमा बुझ्दा फरक पर्दैन । केही महिनाअघि नेकपा एमाले नेतृत्वको सरकार हुँदा बेल्जियम, डेनमार्क, फ्रान्स, स्पेनमा गरी एकैचोटि पर्यटन दूतहरु नियुक्त भए । एमालेकै विदेशस्थित भ्रातृ संस्था प्रवासी नेपाली मञ्च निकटहरुले दूतको नियुक्ति पाए ।
एमाले नेतृत्वको सरकार ढलेसँगै पासा पनि पल्टियो । अहिले मुख्यतया माओवादी केन्द्र र नेपाली कांगेस सरकारका रहँदा फेरि दूतहरु भटाभट नियुक्त भइरहेका छन् । यस क्रममा सरकारमा रहेका दल निकटहरुलाई अवसर मिलेको छ ।
पछिल्लो क्रममा कांगेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति निकटहरु दूतमा नियुक्त भएका छन् । नेपालमा सरकार परिवर्तन भएर धेरैले मन्त्री बन्ने अवसर पाए जस्तै प्रवासमा भने राजनीतिक आडमा दूत बन्ने मौका मिल्यो । नेपालमा सरकार ढलेपछि मन्त्री पद सकिन्छ । तर,यता एकपटक दूत नियुक्त भएपछि दुई वर्ष अवधि हुने भएकोले संख्या थपिँदै गएको देखियो ।
नियुक्ति पाएका दूतहरु विदेशी नागरिकहरु बाहेक प्रायस् सबै जना कुनै न कुनै राजनीतिक दल निकट नै छन् । प्रवासमा रहेर प्रर्यटनको क्षेत्रमा काम गरेका, विज्ञ नेपालीहरुले भने दूत बन्ने मौका पाएनन् वा त्यसको कुनै खोजी नै भएन । दूत बनेकामा काम गर्ने क्षमता भएका व्यक्ति निकै थोरै छन् ।
दूतहरु थपिँदै जाँदा साँच्चिकै काम गर्ने चाहनेहरुको मन पनि अहिले खिन्न छ । केही महिनाअघि मात्र नियुक्त एक पर्यटन दूतले भने, ‘यस्तो जात्रा हुन्छ भन्ने थाहा पाएको भए म दूत बन्ने नै थिइनँ । नियुक्ति धेरै भयो । यसबारे सम्बन्धित निकायले बेलैमा सोच्नुपर्छ । कम्तीमा काम गर्ने मन भएकाहरुलाई वातावरण त बनाइदिनुप¥यो ।’
राजदूत मागेको देशमा पर्यटन दूतको भिड
स्पेनमा रहेका नेपाली समुदायले करिब एक दशकअघिदेखि नेपाली दूतावासको माग गर्दै आएका छन् । तर, त्यहाँ पर्यटन दूत मात्रै पठाउने काम भएको छ । राजदूतावाससँगै राजदूत पनि आउलान् भनेर बाटो हेरिरहेका नेपालीहरुलाई पर्यटन दूत मात्र थपिँदा खिन्न छन् ।
यसै महिना मात्र पर्यटन दूत नियुक्त भएका एकराज गिरी र चिन्तामणि सापकोटा समेत गरी हाल स्पेनमा पर्यटन दूतको संख्या चार पुगिसकेको छ । पर्यटन बोर्डले आफ्नो वेबसाइटमा अपडेट गरे अनुसार स्पेनिस नागरिक मार्कोस फर्नान्डेज पनि नेपालका पर्यटन दूत छन् । उनलाई सन् २०१८ को अक्टोबरसम्म जिम्मेवारी तोकिएको छ ।
यसअघि बोर्डले २०१८ जुलाईसम्म दीपक खरेललाई नियुक्त गरेको थियो । फर्नान्डेजलाई म्याड्रिड तथा खरेललाई बार्सिलोना क्षेत्रका लागि तोकिएको बोर्डको साइटबाट थाहा हुन्छ । तर, फेरि सोही क्षेत्रका लागि यसै महिना दुई जना नयाँ दूतहरु थपिए । हालै थपिएका दूतहरुको विवरण भने बोर्डले आफ्नो साइटमा अपडेट गरिसकेको छैन । दूत थपिने क्रम नरोकिएपछि स्पेनमा रहेका नेपालीहरुले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक पोस्ट गरेका छन् । स्रोतका अनुसार स्पेनका लागि पर्यटन दूत बन्ने लविङ अझै चलिरहेको छ ।
युरोपमा कहाँ कति पर्यटन दूत ?
 पर्यटन बोर्डको वेबसाइट अनुसार, रसियामा तीन जना, बेल्जियम, डेनमार्क, जर्मन, नेदरल्याण्ड र फ्रान्समा दुई–दुई जना दूतहरु नियुक्त भएका छन् । यस्तै फिनल्याण्ड, टर्की, नर्वे, स्वीडेन, स्वीट्जरल्याण्ड, पोल्यान्ड, पोर्चुगलमा लागि एक–एक जना पर्यटन दूत छन् ।
युरोपेली मुलुकमा अहिले दूत बन्न तँछाड–मछाड जस्तै छ । विभिन्न औपचारिक कार्यक्रममा अतिथि बन्ने अवसर मिल्ने भएकोले यसप्रतिको मोह राम्रै देखिन्छ । यहीँबाट सम्पर्क गरेर लविङ गर्नुका साथै कतिपय त दूत बन्ने इच्छा जाहेर गर्न नेपाल समेत पुग्ने गरेका छन् । खासगरी गैरआवासीय नेपाली संघमा काम गरेका तथा विभिन्न राजनीतिक दलहरुको भ्रातृ संस्थामा आबद्ध भएकाहरुले नै दूतमा वर्चश्व जमाएका छन् ।
देशको पर्यटन विकासमा योगदान गर्ने मौका
आफ्नो देशको पर्यटन विकासका लागि विशुद्ध सेवा भावका साथ काम गर्न चाहनेका लागि पर्यटन दूत बन्नु राम्रो अवसर हो । तर, पछिल्लो क्रममा विभिन्न देशहरुमा भएको नियुक्ति हेर्दा त्यस्तो कुनै संकेत देखिँदैन ।
‘घुम्नका लागि नेपाल राम्रो गन्तव्य हो’ भनेर विदेशी समुदायमाझ सूचना प्रवाह गर्न सक्नु पर्यटन दूतको प्रमुख दायित्वमै पर्छ । यसका लागि पर्यटन बोर्डले अफिसियल लोगो, लेटरप्याड, भिजिटिङ कार्ड लगायत विभिन्न सामग्री उपलब्ध गराएको हुन्छ ।
अर्कोतर्फ, नेपाली दूतावास, कन्सुलर कार्यालय, विभिन्न कूटनीतिक नियोगहरुमा सम्पर्क गरी पर्यटन विकास र प्रवर्द्धनका लागि पहल गर्नु अर्को जिम्मेवारी हो । तर, यी जिम्मेवारी पूरा गर्न दूतको संख्या बढाएर हुँदैन । दूत बनेका व्यक्तिमा सेवा भाव हुनु अपरिहार्य छ । दूतको जिम्मेवारी पाएकाहरुले के–कस्तो काम गरे भनेर मूल्याङ्कन नै नगरी दूतको पदलाई सस्तो बनाउनु कदापि राम्रो होइन । नेपाली समुदायले गर्ने औपचारिक कार्यक्रमहरुमा सहभागी भएर खादा लगाउने र भाषण गर्ने मात्र दूतको जिम्मेवारी होइन । यो त पदको दुरुपयोग मात्र हो । त्यसैले जिम्मेवारी पाउने व्यक्ति आफ्नो दायित्वप्रति गम्भीर हुन जरुरी छ ।
दूत बन्नुअघि नै आफू सो पदको लागि उचित हो वा होइन, जिम्मेवारी निर्वाह गर्न सक्षम छु वा छैन भन्नेबारे मनन गर्दा उपयुक्त हुनेछ । दूत हुने व्यक्तिमा सम्बन्धित देशको भाषामा दख्खल, विदेशी समाजसँग घुलमिल, कूटनीतिक सम्बन्ध स्थापित गर्न सक्ने लगायतका खुबीहरु आवश्यक हुन्छ । औपचारिक कार्यक्रममा समेत नेपालीमा भाषण गरेर विदेशी पर्यटक कसरी नेपाल पुग्लान् ? त्यतातिर पनि सोच्ने कि ? यद्यपि विभिन्न मुलुकका लागि नियुक्त भएका पयर्टन दूतहरुलाई सफल कार्यकालको शुभकामना !






Post a Comment

 
Top