0
शिरोमणि बराल÷गोल्डेन न्यूज
कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा हुने सिक्लेस माघी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । सिक्लेस युवा क्लवले आयोजना गर्ने माघी मेला संगै क्लवको २२औं वार्षिकोत्सव ममेत हुने भएको छ । सिक्लेसमा प्रत्येक वर्ष माघेसक्रातिको दिन मेला लाग्ने र ठेलो हान्ने परम्परा रहँदै आएकोले विगत २२ वर्षदेखि सिक्लेस युवा क्लवले वृहत् खेलकूद प्रतियोगिता समेत आयोजना गर्न थालेको हो । क्लवका सल्लाहकार देवीजंग गुरुङले गोल्डेन न्यूज दैनिकलाई दिएको जानकारी अनुसार मेलाको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माघ १ गते शनिबार गर्दैछन् । देउवा पोखराबाट सिक्लेसमा हेलिकोप्टरमा गएर कार्यक्रमको उद्घाटन गर्ने र सोही दिन पोखरा फर्किने बताइन्छ ।   मेलामा यस पटक महिला तथा पुरुष भलिवल र बास्केटवल ठेलो हान्ने प्रतियोगिताको साथै अन्तर गाउँस्तरीय नृत्य प्रतियोगिता समेत आयोजना गरिएको छ । मेला अवधिभर करिब २० हजार दर्शकको सहभागिता रहने आयोजकको विश्वास छ । मेला सम्पन्न गर्न क्लवका सचिव मिलन गुरुङ संयोजक रहेको मेला आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरिएको क्लवका अध्यक्ष तिलमान गुरुङले जानकारी दिए । उनका अनुसार दीलिप गुरुङ संयोजक रहेको खेलकूद उप–समिति, रुपा गुरुङकको संयोजकत्व मा सांस्कृति उपसमिति र पदम गुरुङको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति चयन गरिएको छ ।  पोखराबाट करिब ४२ किलोमिटरको दुरीमा रहेको सिक्लेसमा करिब ५०० घर धुरी रहेको छ । सिक्लेसबाट ५ घण्टाको पैदलमार्फत परिचित कुपुकी हिमताल पुग्न सकिने छ । सिक्लेस गुरुङको उद्गम स्थल पनि हो ।  यसैबीच कांग्रेस सभापति देउवा माघ १ गते पोखरा आएर सिक्लेसको माघी मेला उद्घाटन, २ गते स्याङ्जा जाने र ३ गते  बिहान कास्की कांग्रेसको कार्यालयमा  कार्यकर्तासंग घेटघाट कार्यक्रम रहेको कांग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए ।

Post a Comment

 
Top