0
गणतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी पाएको तीन चरणको निर्वाचन प्रक्रिया बाढीमा पौडिरहेको डुंगाजस्तो प्रमाणित हुन थालेको छ । प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाबीचको वार्ता सकारात्मक बिन्दुमा अझै पुग्न नसकेको कारण यो असहजतापूर्ण स्थिति उत्पन्न भएको हो । निर्वाचनसम्बन्धी विधेयकहरु र रिक्त तीन आयुक्त पदका लागि भर्खरै मात्र सिफारिस गरिएको कारण निर्वाचन प्रक्रियालाई गति दिन निर्वाचन आयोगलाई अप्ठेरो परेको हुन सक्छ । अझै पनि सरकारले निर्वाचनको मिति तोक्न ढिलाइ गरिरहेको देख्दा आमनागरिक आश्चर्यचकित भइरहेका छन् । बाढी आएको नदीमा ओभरलोड काठको डुंगालाई जबर्जस्ती धकेल्दाजस्तो परिणाम बन्ने त होइन ? भन्ने आशंका राजनीतिक वृत्तमा बढेर गएको छ । निर्वाचनपछि देशमा ठोस परिवर्तनको अपेक्षा जनताले गरिरहेको कारण तत्काल मिति तोक्न हामी सरकारसँग आग्रह गर्दछौँ । अब पनि जनता निराश हुने अवस्था आयो भने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई इतिहासले पनि माफी गर्ने छैन । आज सहिद सप्ताहको अन्तिम दिन पनि भएको कारण सहिदका सपनाहरु साकार पार्ने जिम्मेवारी पनि हामी सबैको हो । सधैँ विवाद र झगडामा व्यस्त रहने नेताहरुले समयमा निर्वाचन नहुँदा उत्पन्न हुन सक्ने परिस्थितिको परिकल्पना आजै गर्नु पनि उत्तिकै आवश्यक देखिन्छ । सधैँ परिणामविहीन वार्ता मात्र गरेर महत्वपूर्ण समय खेर फाल्न कसैले पनि पाउँदैन । इतिहासको कठघरामा उभिएर जनताको सामु बयान दिनुपर्दा आजका जिम्मेवार नेताका हातखुट्टाहरु अवश्य पनि काँप्नेछन् । ठूलो त्याग र तपस्यापछि प्राप्त गणतन्त्रलाई संरक्षण गर्न तीनै तहको निर्वाचनले महत्वपूर्ण भूमिकालाई हामीले अहिले बिर्सनु कदापि मिल्दैन । हामीले यावत् अप्ठेराहरुका बाबजुद पनि निर्वाचन गर्नु नै पर्छ । यसका लागि वातावरण जति अनुकूल र सहज बन्नुपर्ने थियो, त्यो हुन सकेन भन्ने मात्र हाम्रो गुनासो र आशय हो । अहिले जिल्लाहरुमा चुनावी माहोल सुरू भइसकेको छ । केन्द्रका नेताहरुलाई भन्दा जिल्ला र गाउँका कार्यकर्ता र सचेत मतदातालाई यो चुनावले छोइसकेको छ । सभा, सम्मेलनहरु हुन थालेका छन् । मधेसी मोर्चाको अनेक माग र अडानहरुले हामीलाई अप्ठेरो भइरहेको छ भन्छन्, तीन ठूला पार्टीका नेताहरु । अब मधेसी दलहरु पनि लचकदार भएर निर्वाचनप्रति सकारात्मक ढंगले प्रस्तुत हुनुपर्दछ भन्ने हाम्रो माग र आग्रह पनि हो । सबै राजनीतिक दलहरु मिलेर चुनावी मैदानमा गयौँ भने सबै जातजाति र भूगोलका जनताले गणतन्त्र नेपालको सुन्दर मुहार देख्न र अनुभूत गर्न पाउने थिए । असहमतिका स्वरहरु हामीले दर्जनौँपटक सुनिसक्यौँ, अब सहमतिको बिन्दु पहिल्याउने जिम्मेवारी पनि हाम्रै काँधमा आएको छ ।

Post a Comment

 
Top