0
नेपालका केही शहरमा लोडसेडिङ मुक्त भएसंगै नेपालमा सकारात्मक सन्देश फैलिएको छ । लोडसेडिङ मुक्त गर्न सरकार तथा विद्युत प्राधिकरण कम्मर कसेर लागेको छ भने विद्युत चोरी गर्ने र लोडसेडिङ गरेर मुलुकलाई अन्धकारमा राख्नेहरुलाई कार्वाही धमाधम हुन थालेका छन् । यो संगै निजी क्षेत्रले जलविद्युतको क्षेत्रमा लगानी गर्न उत्सुक देखिएको छ । निजी क्षेत्रले देखाएको उत्साह कै पश्चिमाञ्चलका तीन जिल्लामा साना ठूला विद्युत उत्पादन गरिएको छ भने कतिपय ठाउँमा संरचना बनाउने कामले निकै नै तीव्रता पाएको छ । अझ उर्जा मन्त्रालयले अघि सारेको ‘नेपालको पानी जनताको लगानी’ अभियानमा दुई अर्ब ५७ करोड, ११ हजार चार सय ४३ रुपैयाँ लगानीको प्रतिवद्धता व्यक्त भईसकेको छ । जसमध्ये दुई अर्ब ४८ करोड तीन लाख ३६ हजार रुपैयाँ व्यक्तितर्फबाट लगानीको प्रतिवद्धता व्यक्त भएको छ भने आठ करोड ९६ लाख ७५ हजार एक रुपैयाँ संस्थागत तर्फबाट प्रतिवद्धता व्यक्त भएको छ । मन्त्रालयले नागरिकलाई जलविद्युतमा लगानी गर्न गरेको आग्रहपछि अहिले दिनहूँ करोडौं रुपैयाँ बराबरको प्रतिवद्धता व्यक्त हुन थालेको छ । जलविद्युतमा लगानी गर्न चाहने नेपालीहरुले अनलाइनमार्फत प्रतिवद्धता फारम भर्ने व्यवस्था मिलाइएको छ । जलविद्युतमा सजिलै लगानी गर्न पाइने भएपछि स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले उत्साहपूर्वक लगानीको प्रतिवद्धता व्यक्त गरिरहेका छन् । लगानीको प्रतिवद्धता भइसकेपछि अभियानबाट प्राप्त रकम राष्ट्रिय गौरवको जलविद्युत आयोजनामा लगानी गर्ने मन्त्रालयको भनाई छ । बढ्दो लोडसेडिङलाई घटाएर एकाएक चर्चामा आएको उर्जा मन्त्रालयले विद्युतको क्षेत्रमा निजी क्षेत्रलाई सहभागिता गराउनको लागि अघि सारेको अभियान उर्जा संकट कम गर्ने महत्वपुर्ण भुमिका खेल्ने निश्चित छ । विद्युत चोरी गर्ने कर्मचारीलाई ठेगान लगाउँदै नेपालीको पानी जनताको लगानी अभियानलाई प्रभावकारी रुपमा अघि बढाउनु पर्छ । रोजगारीका लागि धेरै नेपालीहरु विदेशमा रहेका छन् । उनीहरुको कमाई विलासिताका क्षेत्रमा खर्च भईरहेको छ । अहिले विशेष गरी विदेशमा रोजगार गर्दै आएकाहरुले उर्जाको क्षेत्रमा लगानी गर्न अग्रसर देखिएका छन् । यो निकै नै सह्रानिय काम हो । नेपालको एक मात्र वायु उर्जा अहिले पूर्ण रुपमा बन्द रहेको छ । मुस्ताङमा रहेको वायु उर्जालाई पुन संचालनको लागि सरकारले निजी क्षेत्रलाई सहभागिता गराउन जरुरी छ । देशमा साना ठूला विद्युत गृहहरु बिग्रिएर वर्षाेदेखि जीर्ण अवस्थामा रहेका छन् । ति विद्युत गृहलाई सामान्य मर्मत गर्दा पनि संचालनमा आउन सक्छन् । त्यसको लागि सरकारले पहल गर्नुपर्छ । जलविद्युत उत्पादन बढाई माग पूरा गर्न राज्यसँगै निजी क्षेत्र पनि चिन्तित छ । लगानी निकै ठूलो हुने र आम्दानी लामो समयपछि मात्र प्राप्त हुने भए पनि निजी क्षेत्र जलविद्युतमा लगानीका लागि उत्साहित छ । जल विद्युतमा मात्र नभएर नवीकरणीय उर्जा र सौर्य उर्जामा समेत निजी क्षेत्रको लगानी छ । नेपालमा निजी क्षेत्रले जलविद्युत उत्पादनमा पहल गरिरहेको भए पनि विविध कारणले त्यसको प्रभावकारिता भने कम देखिएको छ । निजी क्षेत्र विद्युत उत्पादनका क्षेत्रमा थप जिम्मेवारी लिन तयार भएपनि सरकारले खासै चासो दिन नसकेको गुनासो व्यवसायीहरूको छ । त्यसैले देशको उर्जा संकट कम गर्न सरकारले निजी क्षेत्रलाई हौसला दिनुपर्छ ।








Post a Comment

 
Top