0
गोल्डेन न्यूज संवाददाता
कमल भण्डारीले श्रीराम मगरसंग गतवर्षको हारको बदला लिएका छन् । पोखरा रंगशालामा सोमबार सम्पन्न १४औं पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोतिगामा ३५ वर्ष माथिको एकलतपर्फ कमलले श्रीरामलाई पराजित गर्दै नगद ५० हजार रुपैयाँ सहितको उपाधि आफ्नो नाम गराए । पहिलो सेट ६–७ ले श्रीरामलाई सुम्पिएका भण्डारीले खेलमा फर्कदै दोश्रो सेट ६–३ र तेश्रो सेट सुपरटाईमा १०–७ ले आफ्नो पक्षमा पारे । गतवर्ष यस्तै नतिजामा श्रीरामले कमललाई हराएका थिए । दोश्रो स्थान हाँसिल गरेका श्रीरामले नगद २० हजार रुपैयाँ सहित ट्रफी पुरस्कारमा चित्त बुझाए । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्र्तगत सोमबारनै भएको ४५ वर्ष माथिको एकलमा कृष्णराज घलेले राजु श्रेष्ठलाई ६–४, ६–१ मा पराजित गर्दै नगद १५ हजार रुपैयाँ र ट्रफी पुरस्कार प्राप्त गरे । श्रेष्ठले नगद ७ हजारसहित ट्रफी पुरस्कार प्राप्त गरे । त्यस्तै ५५ वर्ष माथिको एकल उपाधि मनोज राणाले जिते । उनले विदुर विष्टमाथि ६–४, ६–३ को नतिजा निकाले । प्रतियोगिताका विजेता खेलाडीहरुलाई कास्की जिल्ला टेनिस संघका संरक्षक कुमार मोहन बहादुर शाहीले एक समारोहका बीच नगद तथा ट्रफी पुरस्कार वितरण गरे । अन्य विजयी खेलाडीहरुलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, उपाध्यक्ष सुनिल गुरुङ्ग, क्षेत्रीय प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, अग्रज टेनिस खेलाडी समिर शेरचन, प्रतियोगिताको मुख्य प्रायोजक ट्रयाक्युलिटी स्पाका प्रतिनिधि दिपेन्द्र पहारी लगायतले पुरस्कार वितरण गरे ।  सोही समारोहमा सातौं राष्ट्रिय खेलकुद प्रतियोतिगामा टेनिसतर्फ स्वर्ण जितेका पश्चिमाञ्चलका खेलाडीहरु कुमार अधिकारी, अनिल शाहि, निरज थापा, प्रदिप खड्का र नविन मगरलाई नेप्लिज इन्काउण्टका प्रवन्ध निर्देशक नारायण पहारीले जनही पाँच पाँच हजार नगदले सम्मानित गरे । समापन समारोहमा बोल्दै आयोजक संघ कास्कीका अध्यक्ष विनोद कायस्थले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको टेनिस पोखरामा सम्पन्न गरे लगत्तै भेट्रान ओपन गर्नुपर्दा व्यवस्थापनमा केहि कठिनाइ भएको औल्याए । तरपनि आफ्नो टिमले प्रतियोगिता सफल पार्न अहोरात्र खटेको भन्दै प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । उनले रंगशालाभित्र सञ्चालित ड्राइभिङ्ग इन्स्टिच्युट तुरुन्तै हटाउन पनि आग्रह गरे । ड्राइभिङ्ग नहटाए कि आन्दोलन गर्ने कि त आफूहरुले त्यो ठाउँनै छाडिदिने चेतावनी समेत दिए । कार्यक्रममा आयोजक संघका द्वितीय उपाध्यक्ष नारायण पहारीले स्वागत तथा प्रतियोगिता निर्देशक नविन चालिसेले प्रतियोगिताका बारेमा प्रकाश पारेका थिए । सचिव लोक गुरुङ्गले कार्यक्रम सञ्चालन गरेका थिए ।


Post a Comment

 
Top