0
गोल्डेन न्यूज संवाददाता
गाउँ बाल मञ्च, घान्दु्रकको सक्रियता र गाउँ विकास समिति, घान्द्रुकको सहयोगमा घान्दु्रक गाउँ विकास समितिका विद्यालयहरूमा पहिलो पटक बालअधिकार सचेतना सम्बन्धी विभिन्न कार्यक्रम सम्पन्न भएको छ । गाविसमा प्रत्येक बर्ष बालबालिकाको लागि छुट्टाएको बजेटबाट घान्द्रुक गाविसमा गाउँ बाल मञ्चको सक्रियतामा पहिलो पटक बालबालिकाका लागि विभिन्न कार्यक्रमको आयोजना गरिएको हो । माघ ५, ६ र ७ गते गरी गाविसका विभिन्न तीन विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रम अन्तर्गत गाविसस्तरीय बालअधिकार सचेतना, माध्यमिक र आधारभूत तहका लागि वक्तृत्वकला प्रतियोगिता र कक्षा ५ भन्दा मुनिका बालबालिकाका लागि चम्चा दौड प्रतियोगिताहरू फुम्रोखुँ, मेश्रम बराह र धौलाश्री माध्यमिक विद्यालयमा आयोजना गरिएको थियो । विभिन्न विद्यालयमा गरी वक्तृत्वकलामा ३८ जना बालबालिकाले भाग लिएका थिए भने बालअधिकार सचेतना कार्यक्रममा १५० जना बालबालिकाले भाग लिएका थिए । त्यस्तैगरी, चम्चा दौड प्रतियोगिता मा ५२ जना बालबालिकाले भाग लिएका थिए । कार्यक्रममा घान्द्रुक गाविसका गाविस सचिव अर्जुनप्रसाद भण्डारीले घान्द्रुक गाविसमा गाउँ बाल मञ्चको सक्रियतामा यस्तो कार्यक्रम पहिलो पटक भएको बताए । उनले यस किसिमको कार्यक्रमले बालबालिका को क्षमतामा बृद्धि विकास गर्नुका साथै उनीहरूको अधिकार सुनिश्चित गर्न समेत ठूलो टेवा पुग्ने कुरा व्यक्त गरे । त्यस्तैगरी, घान्द्रुक स्रोत केन्द्रका स्रोत व्यक्ति टेकनाथ पोख्रेलले विद्यालयस्तरमा बालबालिकाको लागि विभिन्न खालका अतिरिक्त क्रियाकलापले उनीहरूको पढाईका साथै नेतृत्व विकासमा समेत सहयोग पुग्ने बताए । उनले विद्यालयमा यस्ता खालका कार्यक्रम निरन्तर आयोजना गरिनुपर्ने कुरामा समेत जोड दिए । विभिन्न कार्यक्रमहरूमा फुम्रोखुँ माविका प्रधानाध्यापक दिपक क्षत्री, मेश्रम बराह माविका प्रधानाध्यापक रामेश्वर सुवेदी, धौलाश्री माविका प्रधानाध्यापक बन्धुराज जम्मरकट्टेल, जनउत्थान दिगो विकास संस्थाका अध्यक्ष दुर्गाबहादुर क्षत्री लगायतले मन्तब्य व्यक्त गरेका थिए । गाउँ बाल मञ्चका अध्यक्ष दिपक वि.क.को अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सहजकर्ताद्वय गोविन्द भट्टराई र विष्णुकुमार मल्लले गरेका थिए ।

Post a Comment

 
Top