0
गोल्डेन न्यूज संवाददाता
पोखराको चाउेथमा युनिक बडी विल्डर्स प्रालि सञ्चालनमा आएको छ । पोखरा लगायत यस वरपर भेगका यातायात व्यवसायीहरु ले वासबस, फ्रिजर, ओभन लगायत सुविधा भएको एसी डिलक्स बस बनाउन छिमेकी मुलुक भारतको दिल्ली धाउनुपर्ने समस्यालाई मध्यनजर गरी बडी विल्डर्समा लगानी गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए । नेपालमै पहिलोपटक एशियाली मापदण्डको सुविधा सम्पन्न गाडी बनाउने उद्देश्यका साथ बडी विल्डर्स सञ्चालनमा ल्याइएको अधिकारीले बताए । बडी विल्डर्सको बिहीबार औपचारिक शुभारम्भ गरिने कार्यक्रम छ ।
कम्पनीमा लामो समयसम्म भारतको विभिन्न कम्पनीमा काम गरी उत्कृष्ट ज्ञान हाँसिल गरेका दक्ष कालिगढ तथा यातायात क्षेत्रमा ख्याती कमाएका युवा व्यवसायीहरु को लगानी एवं अग्रसरता रहेको अधिकारीले बताए । यस युनिक बडी विल्डर्सका सञ्चालकहरुमा केशवप्रसाद अधिकारी, राजेश पराजुली, रुद्रनाथ पौडेल, गणेशराज पहारी, टीकाराम अधिकारी, रामचन्द्र ढुंगाना र श्यामबाबु शाह छन् । यस कम्पनीले भारतमा उत्पादित गुणस्तरीय कच्चा पदार्थ तथा सामग्री प्रयोग गरी त्यहाँकै दक्ष कामदार र डिजाइनरबाट एसियाली मापदण्डस्तरको बडी सुपथ मूल्यमा निर्माण गर्ने अर्का सञ्चालक राजेश पराजुलीले जानकारी दिए । ‘स्थानीय कच्चा पदार्थ प्रयोग गरी लोकल बडीसमेत तयार गरिनेछ,’ उनले भने, ‘ग्राहकको चाहनालाई ध्यानमा राख्दै विभिन्न गुणस्तरका बडी उत्पादन गर्नेछौं ।’ कम्पनीले नर्मल बडी, डिलक्स बडी, दिल्ली डिलक्स बडी, दिल्ली डिलक्स एसी बडी, डिलक्स मिनी बस, दुई सापटे डिलक्स, ५२ मोडल, ५३ मोडल, ५५ मोडलका गाडीको बडी निर्माण गर्नेछ ।  गुणस्तरीय बस निर्माण गर्न पटक पटक दिल्ली धाउनुपर्ने, फ्लोअप नपुग्ने, तयारी बस ल्याउँदा भन्सार लगायतका शुल्क अत्याधिक लाग्ने आदि कारणले ग्राहकको नेपालमै गुणस्तरीय बस निर्माणको चाहना रहेकाले बडी विल्डर्समा लगानी गरिएको सञ्चालक टीकाराम अधिकारीले बताए । उत्पादित बसमा १ वर्षको वारेन्टी उपलब्ध गराएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । बडी निर्माण अवस्थामा हावापानीका कारणले निर्माणमा अबरोध नहोस् भनेर कारखाना घर निर्माण गरिएको छ । कारखानाको एउटै भवन भित्र च्याचिस हुलेपछि तयारी बस बाहिर निकाल्ने व्यवस्था गरिएको छ । निश्चित मापदण्डको बस ९० दिनभित्र ग्राहकलाई बुझाउनसक्ने संयन्त्र तयार गरिएको सञ्चालक रामचन्द्र ढुंगानाले बताए । १० रोपनी जग्गामा फैलिएको कम्पनीमा प्रर्याप्त पार्किङको सुविधा उपलब्ध छ । कम्पनीबाट पहिलो चरणमा करिब ५० जनालाई रोजगारी दिन सफल भएको उनले बताए ।

Post a Comment

 
Top