0
गोल्डेन न्यूज संवाददाता
जाडोको मौसममा विद्यार्थी मिलेर सडक तथा श्रमिक बालबालिकालाई न्यानो कपडा प्रदान गरेका छन् । पोखरा बहुमुखी क्याम्पस, नयाँबजारका विद्यार्थीले चर्चित नेपाली फिल्म जात्राको च्यारिटी शो देखाएर बचेको रकमले न्यानो कपडा वितरण र खाना खुवाएका हुन् । बिबिएस तेस्रो बर्ष र बिए तेस्रो बर्ष अध्ययनरत विद्यार्थीले मंगलबार एक कार्यक्रम आयोजना गरी थान सुईटर, मोजा, जुत्ता र टोपी वितरण गरेका हुन् । उनीहरुले विहानको खाना पनि खुवाए । पोखरा उप महानगरपालिकामा एक सय दुई जना सडक बालबालिका तथा श्रमिक बालबालिका रहेको तथ्यांक छ । कार्यक्रममा पोखरा उप–महानगरपालिका वडा नं ९ सचिव लोकदर्शन कोइरालाले देशको मेरुदण्डका रुपमा रहेका विधार्थीले सामाजिक सेवा तथा सेवामुलक काम गरेकोमा खुसी व्यक्त गरे । उनले अबका पुस्ताले यस्ता काममा ध्यान दिएमा समाजमा युवा तथा विद्यार्थीको राम्रो प्रभाव पर्ने बताए । पोखरा बहुमुखीका विधार्थीलाई पोखरा बृहत सरसफाईको कार्यक्रममा सहभागी हुन अनुरोध पनि गरे । कार्यक्रममा पोखरा बहुमुखी क्याम्पस प्रमुख सुनिल मर्सानीले अरु क्याम्पस भन्दा एक पाईला अगाडी बढेर विधार्थीले सामाजिक काम गरेको बताए । उनले विधार्थीले सामाजिक तथा सेवामुलक कार्य गर्दा क्याम्पसको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । क्याम्पस व्यवस्थापन समिति सदस्य मुना बाँस्तोलाले विधार्थीले अध्ययनसँगै सामाजिक उत्तरदायित्व वहन गरेर प्रशंसायोग्य काम गरेकोमा खुशी व्यक्त गरिन् ।  विधार्थी कल्याणकारी संघका अध्यक्ष सुबास शर्माले पढाईमा मात्र नभएर सामाजिक सेवामा अगाडि बढेको बताए । कार्यक्रममा विद्यार्थी रमा गुरुङ, सन्देश क्षेत्री, पोखरा उद्योग वाणिज्य संघ श्रमिक न्युनिकरण कार्यलय केन्द्रिय साहायक बिन्दु आचार्य लगायतले बोलेका थिए । यसैबीच, आफ्नो फिल्म प्रदर्शन गरेर विद्यार्थीले पोखरामा यस्तो राम्रो काम गरेकोमा जात्रा फिल्मका निर्माता एवं अभिनेता रविन्द्रसिंह बानियाँले खुशी भएको बताएका छन् ।





Post a Comment

 
Top