0
दुःख गरेर लगाएको बाली बाँदरले खाइदिन थालेपछि खाद्यान्न समस्या झेल्दै आएका कास्कीका कृषक पछिल्ला दिन घरभित्रै बाँदर पस्न थालेपछि थप समस्यामा परेका छन् । तीन वर्षयता बाँदरले गाउँमा आतङ्कित पार्दै आएकामा पछिल्ला दिनमा घरभित्रै बाँदर पस्न थालेपछि कृषकलाई समस्या परेको हो । बाँदरले कृषकले लगाएको बाली सखाप पार्न थालेसँगै व्यावसायिक कृषिको विकल्प सोच्नुपर्ने अवस्था आएको पुम्दीका खेमराज बराल बताउँछन्। विगतमा बाँदर धपाएर पनि बालीको संरक्षण गर्न सकिने गरेकामा पछिल्ला दिनमा धपाउन जाँदा उल्टै बाँदरले आक्रमण गर्ने गरेको उनको भनाइ छ ।  उनले भने–“पहिले पहिले त धपाएपछि बाँदर भाग्थे, तर अहिले त्यस्तो छैन।” वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाइने जनावरका रुपमा सूचीकृत गरेको छ । तर यहाँका कृषकले भने राज्यले बालीनालीको उचित क्षतिपूर्ती उपलब्ध गराउनुपर्ने माग गरेका छन् । राष्ट्रिय कृषक समूह महासङ्घ कास्कीका सचिवसमेत रहेका बरालकाअनुसार बाँदरले गाउँ÷गाउँमा आतङ्कित बनाए पछि सङ्घका तर्फबाट यसको व्यवस्थापनको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता समेत गरिएको छ ।  जिल्लाका विभिन्न गाउँमा बाँदरले बाली खाइदिएपछि जिल्ला कृषि विकास कार्यालयमा गुनासो आउने गरेको छ । कृषकले बाँदरको व्यवस्थापन एवम् क्षतिपूर्तिको माग गर्दै आए पनि त्यस सम्बन्धमा स्पष्ट नीति तयार नहुँदा उनीहरूले राहत तथा क्षतिपूर्ति पाउन सकेका छैनन् । जिल्लाका पुम्दीभुम्दी, भरतपोखरी, निर्मलपोखरी, लाहाचोक, घाचोकलगायतका कृषक बाँदरबाट पीडित बनेका जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत इन्द्रमणि लामिछाने बताउँछन् । पुम्दीभुम्दी, घाचोक, लाहाचोकका साथै भरतपोखरीका बरमाझथर, बाँसपानी, चाउका, आँगेटारी, हुँडिकोटलगायतका स्थानमा बाँदरका कारण मकै भित्र्याउन नपाएका कृषकलाई यतिखेर हिउँदे तरकारी तथा मेवालगायतका फल जोगाउन हम्मे÷हम्मे परेको छ । बिक्री गर्न राखेको एक लाख ५० रुपैयाँ हजार बराबरको गोलभेँडा बाँदरले खाइदिएको पुम्दीका कृषक प्रेमनाथ बरालले बताए । कतिपय कृषक व्यवसाय नै परिवर्तन गर्न बाध्य छन् । तराईमा हात्तीका कारण बालीनालीमा क्षति हुँदा कृषकले क्षतिपूर्ति पाउने गरे पनि वषौँदेखि बाँदरका कारण क्षति बेहोरेका यहाँका कृषकले क्षतिपूर्ति पाउन सकेका छैनन् । रासस

Post a Comment

 
Top