0
विसं २००९ साल वैशाख १ गते जन्मिएकी अनुराधा कोइराला माइती नेपालकी संस्थापक एवम् ‘ट्रेडमार्क’ हुन् । यिनै नेपाली महिला समाजसेवी अनुराधा भारतको प्रसिद्ध पद्मश्री सम्मानबाट विभूषित भएको खबरले आमनेपालीलाई खुसीको सञ्चार गराएको छ । भारत सरकारले आफ्नो मुलुक र बाहिरका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई हरेक वर्ष पद्मश्री सम्मान प्रदान गर्दै आएको छ । भारतको ६८औँ गणतन्त्र दिवसको अवसरमा उदाहरणीय सामाजिक कार्य गरेबापत् सन् २०१७ को पद्मश्री सम्मान अनुराधालाई प्रदान गरिएको हो । यो विशिष्ट सम्मान प्राप्त गर्ने अनुराधा एक्ली विदेशी महिलासमेत बनेकी छन् । उनले माइती नेपालमार्फत् लामो समयदेखि नेपालबाट भारतमा बेचिएका चेलीबेटीको उद्वार गर्दै आएकी छन् । भारतका कोठीहरुमा बेचिएका महिला तथा बालबालिकाको उद्धार तथा संरक्षणमा उनको निरन्तर योगदान रहँदै आएको छ । संयोग नै मान्नुपर्छ– भारतीय सहरहरुमा नेपाली चेली बेचबिखन हुँदै आएको सन्दर्भमा भारत सरकारले नै यस्तो महान् कार्यमा योगदान दिँदै आएकी अनुराधालाई पद्मश्री सम्मान गरेको छ । यसले चेलिबेटी बेचबिखन नियन्त्रणमा परिणाममुखी नतिजा हासिल गर्ने विश्वास गरिएको छ । समाज र राष्ट्रका लागि उदाहरणीय कार्य गरे अवश्य त्यसको मूल्यांकन हुँदोरहेछ भन्ने उदाहरण हो यो । अनुराधाको सामाजिक कार्यको कदर गर्दै अमेरिकाको टेलिभिजन च्यानल सिएनएनले सन् २०१२ मा सिएनएन हिरोको उपाधि प्रदान गरेको थियो । उनको योगदानको कदर गर्दै विभिन्न संस्थाहरुले सम्मान गर्दै आएका छन् । दुई दसकभन्दा बढी समय शिक्षण सेवामा समर्पित भइसकेकी उनले मुलुकको गम्भीर समस्याका रूपमा फैलिएको चेलीबेटी बेचबिखनविरुद्ध चेतना फैलाउन पद्मकन्या कलेजका विद्यार्थी र प्रहरीको सहयोगमा चेलिबटी बेचबिखनको गढ मानिएका जिल्लाहरुमा अनुगमन तथा अध्ययन गरेकी थिइन् । त्यसपश्चात् सन् १९९३ मा माइती नेपाल नामक संस्था स्थापना गरी निरन्तर रुपमा भारतमा बेचिएर फर्किएका महिलाको उद्धार तथा संरक्षण गर्दै आएकी छन् । माइती नेपालले चेलीबेटी बेचबिखन रोकथाम, बेचबिखनमा परेकालाई सहयोग, संरक्षण, रोजगारी, परिवारमा पुनस्र्थापनालगायतका सहयोग गर्दै आएको छ । माइती नेपालका सबै जिल्लामा शाखा खुलिसकेका छन्, जसका स्वयम्सेवकहरुले चेलिबेटी बेचबिखनविरुद्ध चेतना अभिवृद्धि गराउनुका साथै थुप्रै चेलीहरुलाई बेचबिखन हुनबाट जोगाउने काम गरिरहेका छन् । नेपालका सीमा क्षेत्रहरुमा कैयौँ चेलीबेटी बेचबिखन गर्ने दलाललाई पक्राउ गर्न प्रहरीलाई सहयोग पु¥याउँदै आएका छन् । अनुराधाजस्ता समाजिक योद्धाकै कारण अहिले हरेक गाउँ–सहरमा जागरण चलेको छ । महिलाको हकअधिकारदेखि सावधानी अपनाउनु पर्ने कुराहरुमा जनतामा धेरै जागरण आइसकेको छ । सीमा क्षेत्रदेखि बसपार्क, होटल, सार्वजनिक स्थलहरुमा शंकास्पद गतिविधि देखिएमा जो कसैले पनि आवाज उठाउन सक्ने अवस्था सिर्जना भएको छ । यद्यपि अझै पनि विभिन्न प्रलोभनमा पारेर चेलिबेटी बेचबिखन भने भइरहेको छ । माइती नेपालजस्तो सक्रिय संस्था र अनुराधाजस्ती जागरुक अभियन्ता भएकै कारण चेलिबेटी बेचबिखन न्यूनीकरणमा थुप्रै प्रगति भइरहेको छ । अनुराधालाई प्रदान गरिएको पद्मश्री सम्मानले उनलाई आगामी दिनमा थप ऊर्जावान् भई चेलिबेटी बेचबिखन र महिलाहिंसाविरुद्ध उभिन सहयोग गर्ने विश्वास लिइएको छ । धेरै चेलीहरुलाई माइतीको सहारा प्रदान गरेर उनले अनुकरणीय योगदान दिँदै आएकी छन् । उनको समाजसेवाको अविरल यात्रा अझै परिणाममुखी बन्न सकोस् । पद्मश्री सम्मान प्राप्त गर्ने नेपाली चेली अनुराधालाई अग्रिम बधाई तथा शुभकामना ।





Post a Comment

 
Top