0
गोल्डेन न्यूज संवाददाता
क्षेत्रीय शिक्षा निर्देशक विष्णु प्रसाद अधिकारीले शिक्षा क्षेत्रमा विदेशी संस्कृति भित्रिन थालेको भन्दै चिन्ता प्रकट गरेका छन् । पोखरा–१२ स्थित शितलादेवी सामुदायिक उच्च माविको ५२औं वार्षिकोत्वको उद्घाटन गर्दै उनले शिक्षा क्षेत्रमा आफ्नै पुरानो मूल्य, मान्यतालाई कायम राख्नुपर्नेमा जोड दिए । मानिसको पहिलो जग नै विद्यालय भएको भन्दै उनले विद्यालयबाटै आधुनिकताको नाममा विकृति, विसंगति भित्रिएको र यसले भावी पुस्तालाई नै समस्यामा पारेको बताए । उनले भने–‘हाम्रो नेपाली पुरानो मूल्य, मान्यता र रीतिरिवाज धेरै राम्रा छन्, त्यसलाई शिक्षा क्षेत्रमा अझै कायम राख्न जरुरी छ ।’ अहिलेको शिक्षामा उच्चतम अंक हासिल गर्ने विद्यार्थीमा सामाजिक भावना कत्तिपनि नरहेको भन्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारीले विद्यार्थीलाई सामाजिक मूल्य मान्यता र नैतिक ज्ञान सिकाउने पहिलो थलो विद्यालय भएकाले यसतर्फ विद्यालयका प्रमृुख तथा सबै गुरुहरुले ध्यान पु¥याउनुपर्नेमा जोड दिए । अहिलेका युवाहरु विदेशिने प्रवृत्ति बढेकोमा चिन्ता प्रकट गर्दै उनले भने–‘एउटा विद्यार्थीका लागि अभिभावक, समाज र राष्ट्रले २० वर्ष लगानी गरेका छन् भने त्यसको प्रतिफल पाउने खालको हुनुपर्छ । यसबाट राष्ट्रले पनि लाभ लिन सक्नुपर्छ ।’ शितलादेवी सामुदायिक उच्च माविको प्रशंसा गर्दै उनले विद्यालयको नेतृत्व राम्रो भए त्यसको प्रभाव सबै क्षेत्रमा पर्ने स्पष्ट पारे । विद्यालयका शिक्षक–अभिभावक संघका अध्यक्ष शिरोमणि बरालले विद्यालयलाई यहाँसम्म ल्याउन र राष्ट्रिय पुरस्कार समेत हात पार्न सफल हुनुमा विद्यालय व्यवस्थापन समितिका साथै सबै क्षेत्रको सहयोग रहेको बताए । उनले विद्यालयका गरिमालाई अझ अघि बढाउन सबैको सहयोग अपरिहार्य रहेको बताए । विद्यालयका लागि महत्वपूर्ण योगदान दिने शिक्षक–शिक्षिकाहरु लाई हौसला बढाउन भएपनि सम्मान एवं पुरस्कृत गर्नुपर्नेमा समेत उनले जोड दिए । विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले विद्यालयको गतिविधिमाथि प्रकाश पारेका दिए । उनले विद्यालयमा सौर्यवत्ति जडान, २५ थान कम्प्युटर, प्रोजेक्टर लगायतका गतिविधिका लागि प्रक्रिया अघि बढिसकेको बताए । विद्यालयमा २ सेक्सनको पढाइ संचालन, विज्ञान र कम्प्युृटर प्रयोगशालालाई थप व्यवस्थित गर्ने, पुस्तकहरु थप गर्दै इ पुस्ताकालय को मोडलमा संचालन गर्ने, वेवसाइट संचालनका साथै विद्यालयमा विश्राम कक्ष निर्माण गर्ने विद्यालयको लक्ष्य रहेको उनले जानकारी दिए ।  कार्यक्रममा शिक्षा तर्जुमा समितिका सदस्य डा. कृष्ण केसी आगामी दिनमा सबै क्षेत्रलाई समेटेर गुरुयोजनाका साथ विद्यालयलाई अघि बढाउन आग्रह गरे ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीका कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा १० की विद्यालय शिक्षक विद्यार्थी जोश्ना जोशीले पनि बोलेकी थिइन ।
शितलादेवी सामुदयिक उच्च मावि वि.सं.१९८८ मा कास्की काहुँ कुँडहर संस्कृत भाषा पाठशालाको नामबाट शुरु भएको थियो । विद्यालयको विधिवत् दर्ता २०२१ सालमा माटेपानी प्रा.विको नामबाट भएको विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । २०२१ देखि २०५८ सालसम्म माटेपानी प्राविको नामबाट संचालित विद्यालय २०५९ सालमा समुदाय लाई हस्तान्तरण गरिएको थियो ।  वार्षिकोत्सव गतवर्षको एसएलसी परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान र कक्षा १ देखि १० सम्मका सर्वोत्कृष्ट विद्यार्थीहरुलाई सम्मान एवं पुरस्कृत गरिएको थियो । साथै विद्यालयमा विभिन्न व्यक्तिहरु द्वारा स्थापित अक्षयकोषबाट विभिन्न विधानका पुरस्कार विद्यार्थीलाई प्रदान गरिएको विद्यालयले जनाएको छ ।

Post a Comment

 
Top