0
गोल्डेन न्यूज संवाददाता
पोखरा–१३ भद्रकालीमा रहेको कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले पोखरा बृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुको सहयोगार्थ अक्षयकोष स्थापना गरेको छ । आफ्नो बार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत कोन सहकारीले १ लाख १ हजार १ सय १५ रुपैयाँको पोखरा बृद्धाश्रम कोन सहकारी अक्षयकोष स्थापना गरेको हो । अक्षयकोष स्थापना कार्यक्रममा बोल्दै कोन सहकारी संस्थाका अध्यक्ष शरदकान्त सिग्देलले अक्षयकोषको व्याजबाट ज्येष्ठ नागरिकहरुलाई भोजन, स्वास्थ्योपचार लगायतका आवश्यक काममा खर्च गर्न सक्ने गरी सहयोग गरिएको बताए ।  पोखरा बृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले सहकारीका तर्फबाट प्राप्त भएको सहयोगप्रति आभार प्रकट गर्दै सहकारीको उत्तरोत्तर प्रगतिको कामना गरे। कार्यक्रममा कोन सहरकारीका उपाध्यक्ष तीर्थ बस्नेत, सचिव शान्तकुमार श्रेष्ठ, बृद्धाश्रमका उपाध्यक्ष टिकाबहादुर भण्डारी, सहकारी संचालक समितिका सदस्यहरु, प्रबन्धक शोभाकान्त भट्टराई लगायतको उपस्थिति रहेको थियो । ३ हजार भन्दा बढी शेयर सदस्य रहेको कोन सहकारीले बार्षिक १ अर्व भन्दा बढीको आर्थिक कारोकार गर्दै आएको छ । यस्तै काभ्रेको बनेपा घर भई पोखरामा नर्सिङ प्राध्यापन पेशामा संलग्न चाहना अधिकारीले आफ्नी साढे ३ बर्षकी छोरी विभु श्रेष्ठको नाममा ३० हजार नगद सहयोग गरेका छन् । पोखरा बृद्धाश्रममा असहाय एवं वेवारिसी अवस्थाका ६५ जना आश्रित रहेका छन् ।

Post a Comment

 
Top