0
गोल्डेन न्यूज संवाददाता
ठूलो जनसमूहलाई सम्बोधन गर्न मञ्चमा उभिएका एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्ति शुक्रबार अरू बेलाको भन्दा केही नरम थियो । न त उनले धेरै उखान टुक्का हाले, न तीखो व्यक्तिगत टिप्पणी नै गरे । संविधान संशोधनमा ल्याएका अन्तरवस्तुबारे हाल विपक्षीहरूले राखिरहेको ‘पोजिसन’ मात्र प्रस्ट पार्ने कोसिस गरे ।  राष्ट्रियता, स्वाभिमानको पक्षमा आफूहरू उभिएको उल्लेख गर्दै ओलीले आफूहरू रहुन्जेल नेपाललाई कुनै तलमाथि गर्न सकिन्छ भन्ने नसोच्न चेतावनी दिए । हालको सत्ता गठबन्धन ‘लम्पसार’ परिरहेको भन्दै ओलीले राष्ट्रियता जोगाउनका लागि एकजुट हुन अपिल गरे ।  ‘नेपाल हिजो पनि जिउँदो र स्वतन्त्र राष्ट्र थियो, आज पनि छ । भोलि पनि यस्तै रहन्छ,’ एमालेसहित विपक्षी गठबन्धनले राजधानीमा गरेको ‘शक्ति प्रदर्शन सभा’ लाई सम्बोधन गर्दै ओलीले भने, ‘हाम्रा पुर्खाले लड्न सिकाएका छन् । लम्पसार पर्न कहिल्यै सिकाएनन् । त्यसैले नेपाली जनताले अहिलेको ‘लम्पसारवाद’ लाई पनि मुर्दावाद भनिसकेका छन् ।’ राष्ट्रघात गर्नेलाई त्यसको विरुद्ध जनमत छ भन्ने देखाउनलाई पनि जनशक्ति प्रदर्शन गरेको उनले बताए । संविधान जारी गर्न नदिनेहरू नै अहिले संविधान कार्यान्वयन पनि हुन नदिने षड्यन्त्रमा लागिरहेको ओलीको भनाइ थियो । ‘हिजो संविधान जारी गर्न नदिने प्रयास गर्नेहरूकै इसारामा संविधान संशोधन गर्न खोजिएको छ,’ उनले भने, ‘देशलाई कमजोर नपारी नछोड्ने, अप्ठ्यारोमा नपारी नछोड्ने षड्यन्त्र यसमा लुकेको छ ।’
संविधान संशोधन विधेयक संसद्मा पेस भएलगत्तै झन्डै एक महिनादेखि सडक र सदनमा विरोध गरिरहेको विपक्षी गठबन्धनले बृहत् प्रदर्शन सहितको सभा गरेको हो । राजधानीका झन्डै ४० स्थानबाट निस्किएको जुलुसमा विपक्षी गठबन्धनमा रहेका ९ दलका प्रमुख नेताहरू सहभागी थिए । झाँकी सहितको जुलुस भृकुटीमण्डपको प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत भएको थियो । सभाका अन्तिम वक्ताका रूपमा रहेका एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धन, मधेसी दलहरूप्रति टिप्पणी गर्दै कुनै हालतमा संशोधन पारित हुन नदिने घोषणा गरे ।  ‘संसदमा हैसियत सहितको उपस्थिति एमालेको छ,’ उनले भने, ‘हामी राष्ट्रियहित विपरीतको संशोधन प्रस्ताव पारित हुन दिँदैनौं ।’ अहिलेको संविधान संशोधनको प्रस्ताव जनताको माग र आवश्यकता नभएर अन्यत्रका कसैको आदेश पालना गर्न ल्याइएको ओलीको आरोप थियो । ‘राष्ट्रिय एकता, सामाजिक सद्भावका लागि वा त्यहाँका जनताले मागेर कुनै पनि कारणले संविधान संशोधन प्रस्ताव ल्याएको होइन,’ उनले भने, ‘अन्यत्र कसैको आदेश पालना गर्न ल्याएको हो, अन्त्यतै गम्भीर षड्यन्त्रका साथ यो प्रस्ताव ल्याइएको छ ।’ विदेशी (भारत) को इसारामा संविधान संशोधन गर्न खोजिएको भन्दै त्यसलाई कुनै पनि हातलमा संसद्बाट पारित हुने नदिने उदघोष उनले गरे ।  संविधान संशोधनको पक्षमा बोल्ने मधेसी दलहरूप्रति ओलीले आपत्ति जनाए । ‘हिजो संविधान जारी गर्न नदिने र संविधान च्यात्नेहरूलाई अहिले संशोधन किन चाहियो ?’ उनले भने । मधेसी दलहरूलाई आफ्नो हैसियत बुझेर कुरा गर्न ओलीले चेतावनी दिए । केही समयअघि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको ‘एमालेलाई बैन्ड बाजा बजाएर तराईबाट लखेट्ने’ अभिव्यक्तिप्रति संकेत गर्दै ओलीले हैसियत सम्झाएका हुन् ।  ‘मधेसी दलहरूले तराईमा ११ सिट जितेका हुन्, एमालेले त्यहाँबाट ४० सिट जितेको छ,’ उनले भने, ‘तराईका जनतालाई झुक्याउन, अल्मल्याउन सकिन्छ भन्ने नसोचे हुन्छ ।’ मधेसी र थारू समुदायको झाँकीसहित प्रदर्शनमा सहभागी भएकाहरूलाई देखाउँदै ओलीले भने, ‘मधेसी दलहरूले भन्दै आएका कुराले त्यहाँको जनमतको प्रतिनिधित्व गर्दैन ।’ फागुन दोस्रो सातादेखि एमालेले तराईमा विशेष अभियान सञ्चालन गर्ने र सबै ठाउँमा आफूसमेत पुग्ने उनले बताए । काठमाडौं उपत्यका र राजधानीमा जागेको जागरणलाई देशव्यापी बनाउने उनले बताए । अबका ११ महिनामा तीन तहको निर्वाचन गरेर संविधान पूर्ण रूपमा कार्यान्वयन हुन नसके संसद् र प्रधानमन्त्रीसमेत नरहने अवस्थाप्रति ओलीले ध्यानाकर्षण गराए । ‘संविधान त जारी भएको छ, पूर्ण रूपमा कार्यान्वयन गर्न तीन तहको निर्वाचन गर्नु छ,’ उनले भने, ‘अर्को सालको माघ ७ गतेसम्म चुनाव हुन सकेन भने संसद् रहने छैन, प्रधानमन्त्री रहने छैनन् ।’  संशोधनले कुनै पनि हालतमा चुनावी वातावरण बनाउन सहयोग नगर्ने भन्दै ओलीले फिर्ता लिन आग्रह गरे । सत्तारूढ दलका नेताहरूले संविधान संशोधनलाई राष्ट्रहितअनुरूप रहेको भनी जुवाडेको जस्तो झूठो दलिल गरिरहेको उनको आरोप थियो, ‘राष्ट्रपतिज्यूले ५ दलका नेताहरूलाई राखेर हिजो चुनाव गर्नेतर्फ ध्यानाकर्षण गराउनु भो, तर सत्तारूढ दलका नेताहरू संविधान संशोधन नै चुनावका लागि हो भनेर जुवाडेको जस्तो तर्क गर्न थाल्नु भो । जुवाडेले कौडा पछार्छ, हारजित जुवाको होइन सम्पत्तिको हुन्छ । तास पछार्छ हारजित सम्पत्तिको हुन्छ । सत्तारूढ दलहरू तासका पत्ती पछारेर देशलाई हराउने कोसिस गर्दैछन् ।’
मधेसका नाममा संविधान संशोधनको कुरा गरेर मधेसमाथि नै प्रहार गर्न खोजिएको ओलीको जिकिर थियो । ‘कुरा मधेसको गर्ने तर त्यहाँको मौलिक मैथिली, भोजपुरी र अवधी भाषालाई समाप्त पारेर हिन्दीलाई अगाडि सार्ने ?’ ओलीले भने, ‘प्रहार कहाँ गर्ने ? गौरवपूर्ण मैथिली र भोजपुरीमाथि । तर, कुरा मधेसको गर्ने ?’  कार्यक्रममा प्रत्येक दलबाट एक जनाले मात्र सम्बोधन गरे पनि स्वागत मतव्यका क्रममा एमाले महासचिव ईश्वर पोखरेलले पनि बोलेका थिए । पोखरेलले संविधान जारी हुन नदिने र च्यात्नेहरूले गर्ने सबै प्रकारका षड्यन्त्रलाई विफल पार्ने चेतावनी दिए । मुलुकलाई आत्मनिर्भर हुन नदिनेहरूविरुद्धको लडाइँ एमालेले सुरु गरेको उल्लेख गर्दै उनले राष्ट्रिय स्वाभिमानका पक्षमा उत्रिन आहवान गरे । माले महासचिव सीपी मैनालीले संविधान संशोधन विधेयकमा रहेका अन्तरवस्तु राष्ट्रघाती रहेको टिप्पणी गरे । सर्वोच्च अदालतको निर्णयबाट पनि अब सीमा फेरबदल गर्ने गरी संविधान संशोधन गर्न नमिल्ने स्पष्ट भइरहेकाले जोरजबर्जस्ती नगर्न सत्तापक्षलाई चेतावनी दिए ।  नेपाल मजुदर किसान पार्टीका नेता प्रेम सुवालले बंगलादेश टुक्र्याउने र सिक्किमलाई विलय गराउने जस्तै प्रयास भारतले नेपालमाथि गरिरहेको आरोप लगाए । विधेयक संसद्मा पेस हुने हैसियत नरहेको उल्लेख गर्दै कुनै हालतमा लैजान नदिने उनले बताए । प्रदेश नम्बर २ मा समेत मधेस मात्र राखेर गल्ती भएकाले अब पहाडसमेत मिसाउनुपर्ने सुवालको भनाइ थियो ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीयहरूको अत्याचार नेपालीले नसहने बताए । नेपालको ९० प्रतिशत जनमतले संविधान जारी गरेको विरोधमा भारतले पाँच महिनासम्म नाकाबन्दी गरेको स्मरण गर्दै अध्यक्ष केसीले नेपाललाई टुक्राटुक्रा पार्ने ‘ग्रान्ड डिजाइन’ लाई सफल हुन नदिने बताए ।  भारतको ‘वारेस’को रूपमा मधेसी दलहरू प्रस्तुत भइरहेको आरोप केसीको थियो । ‘भारतको वारेस बनेका केही व्यक्तिले भनेको आधारमा कञ्चनपुरदेखि झापासम्म बुझाउनुपर्ने रे,’ उनले भने, ‘नेपालीहरू आफ्नो कलेजो काटेर भारतलाई बुझाउन तयार छैनन् ।’  राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका अध्यक्ष शिवलाल थापाले संशोधन प्रस्तावमा आएका सीमांकनलगायत प्रस्तावको विरोध गरे । सीमांकनका सम्बन्धमा भने उनले मगरातहरूको बाहुल्य हुने प्रदेश बन्ने भएकाले त्यसमा सकारात्मक हुने धारणा राखे । तर नागरिकता, भाषा लगायतका अन्य विषयहरू आपत्तिजनक रहेको उल्लेख गरे ।  पुष्पकमल दाहाल नेतृत्वको सरकार असफल भएकाले राजीनामा दिनुपर्ने उनीहरूको माग थियो । नेपाल परिवार दलका एकनाथ ढकाल, नेपा पार्टीका लक्ष्मण राजवंशी, बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवान, मधेस समता पार्टीका मेघराज निषाधले सभालाई सम्बोधन गर्दै संविधान संशोधन राष्ट्रहित विपरीत रहेको भन्दै फिर्ता लिन माग गरेका थिए ।



Post a Comment

 
Top