0
जिन्दगी एउटा यात्रा हो। सबैका लागि सुन्दर अवसर बनेर जिन्दगीको यात्रा आएको हुन्छ। यो यात्रालाई कतिले सार्थक बनाउछन्, कतिले निरर्थक। कुनै लेखाजोखा हुन सक्दैन। जसले जे जसरी जीवनयात्रालाई गुजारा गरे तापनि सबैका आ–आफ्नै अनुभूतिजन्य फरक–फरक विभेद देख्न, भोग्न, सुन्न र अनुभूत गर्न पाइन्छ। समयको कालखण्डमा कुनै दिन कुनै व्यक्तिका लागि फरक अनुभूति गर्ने सन्दर्भ बनेर आउछन्। मेरो जिन्दगीमा पनि एउटा फरक अनुभूति दिएर २०७३ असोज २९ गते शनिबारको दिन गएको छ।

सन्दर्भ साहित्यिक हो। रैथाने र आगन्तुकका बीच जहिले जहाँ पनि ठूलो विभेद देखिन्छ। जसरी नेपाली वाङ्मयको उन्यनमा लागिरहेका स्रष्टा साधकका लेख, रचनामाथि विवेचना हुन थाल्छ। त्यहाँ प्रयोग गरिएका रैथाने र आगन्तु शब्दका बारेमा व्यापक चर्चा, परिचर्चा र टिकाटिप्पणी हुन्छन्। त्यसै गरेर स्रष्टाका वासस्थानका बारेमा यस्तै विभेदको खाडल दिनप्रतिदिन डरलाग्दो भएर गइरहेको देखिन्छ। पोखरामा बसेर साहित्य साधनामा लागिरहँदा धेरैका व्यवहारबाट आफु पोखरेली नभएकोमा उपेक्षित भएको अनुभव साहित्यिक यात्राको कालखण्डमा नभएका होइनन्। तथापि ती सन्दर्भलाई छलफलका विषय बनाएर बस्ने आदत नभएको व्यक्ति भएर होला आफ्नो साधनालाई डग्मगाउनु त परको कुरा भएको छ। आफूलाई थातथलोको रैथानेको धाक लगाएर सामाजिक सञ्जालमा साहित्य र सिजर्नासँग सम्बन्धित दुई टुक्रा प्रर्दशन गरेर, लोकतन्त्रमा लोकमानतन्त्रको शासन चलाए जस्तो आत्मरतिमा रमाउनेहरूका टिठलाग्दा किस्सा सुन्न र सुनाउन मलाई कत्ति मन लाग्दैन। त्यसैले त्यता लागेर समय बर्बाद गर्न कहिल्यै नपरोस् भनेर ह्दयको अदालतमा खबरदारी गरिरहेको छु।
मेरो थातथलो आगो पिएर अँगार ओकल्नेहरूको इलाका हो। समृद्ध राष्ट्रनिर्माणका लागि त्यहाँको पानी पिएकाहरूले दिएको योगदानको चर्चाका बारेमा केही भनि रहन आवश्यक देखिदैँन। पछिल्लो समय वाङ्मयको उन्नयनमा लागि रहेकाहरू पनि निकै क्रियाशीलताका साथअगाडि बढेका छन्। हिजो त्यहाँ साहित्य सिर्जना फस्टाउन सकेन। साहित्यिक गतिविधि हुन सकेन भन्नेहरू आज आफैँ जुर्मुराएका छन्। आफ्नो आङ कनाइ रहँदा त्यही आङमा छारो दल्न आउनेहरूको ठेलमठेल भिड छिनभरमा पैदा हुनु कुनै अनौठो होइन तर उनीहरू भिडलाई पन्छाएर वाङ्मयिक यात्रामा निरन्तर साधनारत रहन प्रयत्न गर्दै अगाडि बढिरहेका छन्। यसरी साधनारत रहने अवस्थामा पछिल्लो समय २०७२ सालमा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र समाज कल्याण परिषद्मा आवद्ध रहेर एक साहित्यिक संस्था तातेताते गर्दै हिँडिरहेको छ। जसको नाम हो, ज्याग्दी खोला साहित्य प्रतिष्ठान। ज्याग्दी मात्रै होइन, सिङ्गो स्याङ्जाली साहित्य लेखनलाई मलजल दिनका लागि चिल्नेबास–३ स्याङ्जाका देवेन्द्र लम्सालको अध्यक्षतामा गठिन ११ सदस्यीय कार्य समितिले अहिले ज्याग्दीखोला साहित्य प्रतिष्ठानको रथ हाँकिरहेका छन्। यी चिल्नेबासका लम्साललाई जगत्भञ्ज्याङ–३ का अग्नीकुमार पल्लव, मल्याङ्कोट–६ का डोलराज अर्याल, चिल्नेबास–७ का शालिकराम लम्साल, चिल्नेबास–७ कै कृष्णप्रसाद कोइराला क्रमशः उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिव पदमा बसेर सहयोग गरिरहेका छन्। यस्तै मल्याङकोट–६ का गोपालप्रसाद अधिकारी, मल्याङ्कोट–१ का सूर्यप्रसाद पौडेल, क्याक्मी–९ का रेशमबहादुर गोतामे, क्याक्मी–५ का शोभाकान्त लम्साल, रत्नपुर–७ का गोविन्दशरण उपाध्याय र मल्याङकोट–१ का हुमबहादुर विश्वकर्मा सदस्य पदमा रहेर ज्याग्दीको सुसाइलाई उरालिरहेका छन्। उनीहरू ज्याग्दीखोलेलाई उरालिरहेका मात्रै छैनन्। भर्खर वामे सर्दै गरेका नाबालक साहित्यिक मनदेखि, अनुज, समकालिन, अग्रजका साथै स्याङ्जासहित राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएका स्रष्टा साधकका सिर्जनालाई बटुलेर ज्याग्दी खोला साहित्य प्रतिष्ठानको मुखपत्र ज्याग्दी खोलाको तरङ्गसहित जुर्मुराइरहेको छ। स्याङ्जाका विभिन्न खोला, खहरे र झरना आफ्नो पहिचानसहितको सुवास बोकेर हिँडिरहेका छन्। त्यो हिँडाइमा सुनमा सुगन्ध थप्नका लागि ज्याग्दीखोलेको जुर्मुराई पछिल्लो समय स्मरणयोग्य रहेको आकलन गर्न सकिन्छ। लाग्छ स्याङ्जाको आँधीखोलाले जसरी आफ्नो सुवास बोकेर हिँडिरहेको छ त्यस्तै गरेर ज्याग्दीखोले हिँडन चाहेका छन्। आफ्नो नियमित प्रकाशन ज्याग्दी खोलाका तरङ्ग लिएर। हिँडन चाहनु र सरासर हिँडनु फरक कुरा हो। भोलिका दिनमा हिँडाउनेहरूका पाइताला नै लर्बराउन थाले भने त्यो हिँडाइको के सार्थकता रहन्छ र त्यसैले यी हिँडाउनेहरूले राम्ररी बुझेका छन् र यो यात्राका यात्रीलाई कालान्तरसम्म डो¥याइरहने रहर उनीहरूसँग छ। उनीहरूको रहरमा सधै प्रेरणा मिलिरहोस् भन्ने कामना छ। जुनसुकै कार्य गर्नका लागि रहर गर्न जान्नुपर्छ। रहर गर्न जानियो, त्यो कार्यप्रति जिज्ञासु भइयो भने मात्रै न उन्नति र प्रगति हुने हो त्यसैले उनीहरूको रहरले सार्थक रूप लिँदै गइरहेको छ। प्रतिष्ठान गठनको सुरुमा अर्धवार्षिक, चौमासिक हुँदै उनीहरूले आफ्नो प्रकाशनलाई त्रैमासिकमा पु¥याएका छन्। सीटीपी छपाई, उच्च गुणस्तरिय कागजको प्रयोगले पनि ज्याग्दी खोलाको तरङ्ग पत्रिकाले आफ्नो मुहार उचो बनाएको छ। विधिवत प्रतिष्ठान दर्ता भएपछि आफ्ना नियमित चार अङ्क प्रकाशन गरिसकेको प्रतिष्ठानले चौथो पुष्पमालाको असोज २९ गते वालिङमा पतञ्जली योगपीठ वालिङको सभाहालमा विमोचन तथा रचनावाचन सम्पन्न गरेको छ।
प्रतिष्ठानका उपाध्यक्ष अग्नीकुमार पल्लव मसँग २०६९ चैत्रमा चिनजान भएका स्रष्टा हुन्। उनको गजल कृति आगोको झिल्को प्रकाशनका लागि पोखराको पृथ्वीचोकमा पहिलो पटक भेट भएको थियो। पल्लवका लागि उक्त संग्रह प्रकाशन गर्न जतिसक्दो थोरै पैसामा गुणस्तरीय र छिटो पुस्तक प्रकाशन गर्नुपर्ने बाध्यता थियो। प्रेस लाइनका साथीसँगको संगतले धेरै स्याङ्जालीलाई सहयोग गरियो। केही सन्दर्भ कुनै पूर्व प्रकाशित सामग्रीमा उल्लेख भइसकेकाले सबैलाई जोडिरहन आवश्यक देखिदैन। तर पल्लवका लागि गरेको सहयोगको सन्दर्भ छुटाउनु भनेको सहयोगी मनहरूलाई उपेक्षा गर्नु सरह हुन्छ। रञ्जित महतो, अमन शाह र श्याम विहारी यी तीन मित्रको सहायताले पल्लवको पुस्तक उनले सोचे भन्दा उत्कृष्ट गुणस्तरमा प्रकाशन गरेर उनको गृह जिल्ला पठाइयो। त्यस पछाडिको प्रक्रिया कसरी अगाडि बढ्यो, न उनले जानकारी गराए न मैले सोधेँ। कुनै पत्तो भएन। तत्काल तात्तातै साथीलाई काम गराए जस्तै प्रेसको खर्च रकम त उनीबाट तत्काल भुक्तान भयो। प्राविधिक रूपमा छापाखानासम्म पु¥याउनका लागि टाइप, सेटिङ, सम्पादन, प्रुफलगायतका कार्यको पारिश्रमिकका लागि उनीसँग त्यही समय पर्याप्त रकम थिएन। त्यसका बारेमा हिसाब गरौला भनेर छुटेका पल्लव न आफ्नो पुरानो रफ सामग्री –पाण्डुलिपी) लिन आए। न तपाईंको मेहेनतको सेवासुविधा के कसो गरौँ भनेर सोधे। त्यसपछि उनीसँगको सम्बन्धमा दरार आए जस्तै भएको थियो। समयको कालखण्ड हो। साँझ अस्ताएको सूर्य बिहान उदाउने हो भन्ने मैले राम्ररी बुझेको थिएँ। त्यो बुझाई सत्यसावित भयो पनि भन्ने मलाई यही समय लाग्यो। उनले असोज २७ गते बेलुका ८ बजे मेरो सेलफोनमा सम्पर्क गरेर भने, म अग्नीकुमार पल्लव। हाम्रो ज्याग्दीखोला साहित्य प्रतिष्ठानले प्रकाशन गरेको त्रैमासिक पत्रिकाको चौथो अंक ज्याग्दी खोलाको तरङ्ग र आचार्य बालकृष्णका भाइ युवराज सुवेदीको फूलसँगै फूल्ने रहरमा गजल संग्रहको विमोचन कार्यक्रम वालिङमा राखिएको छ। प्रमुख अतिथि प्रा.डा. जगदीशचन्द्र भण्डारी हुनुहुन्छ। हजुरलाई वालिङतिर भेटघाट नगरेको पनि धेरै भयो। जसरी पनि आउनुहोला है सर ? उनको निमन्त्रणामा स्नेह थियो। सद्भाव र सम्मान थियो। मैले सकेसम्म आउछु भने पनि उनले आउनैपर्छ भनेर प्यार दर्साइरहेका थिए। उनको निमन्त्रणाले मलाई वालिङ जानुपर्छ भनिरहेको थियो। त्यसको भोलिपल्ट २८ गते बिहानै कृतिका स्रष्टा युवराज सुवेदीले फोन गरे। उनको पनि आग्रह थियो, जसरी पनि आउनुपर्छ। उनले यसभन्दा अगाडि आफ्नो विवाहमा र बाबा बनेपछि बच्चाको न्वारनमा बोलाएका थिए। यो तेस्रो पटक थियो र जानका लागि मञ्जुर भएर बसेँ।
शनिबारको दिन थियो २९ गते। बिहान छ बजे घरबाट सबै तयारी गरेर चिया खाएर निस्केँ। मेरो भूमिका रहेको पोख्तक र सम्पादन रहेको बिरिमफुल मुक्तक संग्रहका २० थान पुस्तक झोलामा बोकेर वालिङका लागि हिँडे। बगरबाट २० रूपैयाँ माइक्रो भाडा तिरेपछि पृथ्वीचोक पुग्न कुनै समस्या रहेन। पृथ्वीचोक पुगेपछि वालिङ पुग्ने धेरै साधन थिए। सुनौली जाने लामो रुटका, मिनी बस, ट्याक्सी र भ्यानहरू कराइरहेका थिए। ७ बजे छुट्ने माइक्रो –हाइस) पुरापुर थियो। त्यसमा जान मन लागेन। धेरै कन्डक्टर र खलासी साथीभाइले कहाँ जाने भनेर धेरै पटक सोधे। नजिकै भन्दै बसिरहेँ। बिहानीको मौसम उभिँदा–उभिँदा चिसोले पिसाबका लागि शौचालय र अर्को खाली हाइसको खोजीमा म बसिरहेँ। केही समयपछि शौचालयका लागि एउटा विकल्पको खोजी भयो। सहरमा पैसा तिरेर चाहेको बेलामा सार्वजनिक शौचालयको प्रयोग गर्न पाइँदैन। सुन्दर, सभ्य र भव्य पोखराको पृथ्वीचोकका चारै कुनामा सम्बन्धित निकायले सार्वजनिक शौचालय निर्माण गर्न सक्ने हो भने केहीलाई रोजगारी र यात्रुलाई सहायता हुने थियो भन्ने मनमा लाग्यो। मनमा लाग्नु बाहेक अरु हुनेवाला केही थिएन। यसरी बसिरहेकै बेला वालिङका लागि हाइस आयो। अगाडिको सिटमा बसेर वालिङ पुग्ने तय गरियो। जब गाडी हिँड्यो सबैका आ–आफ्नै व्यथा सुरु भए। गाडीका साहुजी आफैँ कन्डक्टर भएका रहेछन्। गाडीका गुरुजी बुद्धचोक आइपुगे भन्दाभन्दै सम्पर्कमा नआएपछि आफ्ना आफन्तलाई बोलाएर गाडीलाई निकालेका रहेछन्। उनलाई लगानीको चिन्ता थियो। एक महिना अगाडिमात्रै निकालेको गाडीका लागि ७६ लाख लगानी गरेका उनी १५ जना यात्रु क्षमताको सवारीमा ३ जना वालिङ र ६ जना स्याङ्जाका नौ जना यात्रु बोकेर हिँडिरहेका थिए। अरु भन्दा धेरै सुविधा रहेको भनिएको उनको हाइस गाडीले कहिले कमाएर लगानी उठाउने भन्नेमा उनी बाटैभरी चिन्तित थिए। सामान्य यात्रुलाई पनि उकाली ओराली गर्दै अगािड बढेका साहुजीको आफ्नो चिन्ता एकातर्फ थियो। अर्कातर्फ डूाइभरको पनि उस्तै चिन्ता थियो। छोरेपाटनमा ममः पसल सञ्चालन गरेका उनी घरमा श्रीमतीको लेक्चर सुन्नुपर्छ भनेर चिन्तित थिए। उमेरले हेर्दा बल्ल ३० वर्षका जस्ता देखिने उनी १७ वर्षदेखि गाडी लाइनमा लागेको भनेर आफ्ना अनुभव सुनाउँदै थिए।
यसैक्रममा उनकी जीवनकी धनीको फोन आयो। सोल्टीको ड्राइभर नआएकाले पालो दिन आएको छु। एक बजे फर्केर फर्केर सुकुटी बनाउछु।  श्रीमतीलाई थुम्थुम्याउँदै थिए। काम गर्ने कर्मचारी दसैँका लागि घर गएकाले सबै काम आफै गर्नुपर्दाको कचकच सुनिरहेका उनी अघिल्लो दिन पनि अर्का मित्रलाई सहयोग गर्दा त्यस्तै लेक्चर सुन्नुपर्यो। आएर २५ प्लेट मम बनाए भनिरहेका थिएँ। यसरी अगाडि बढ्दै जाँदा ९ जनामध्येका तीन स्याङ्जाको घुम्तीमा झरे। दसैँको बेला पनि रित्तै हिँडनु परेकोमा चिन्तित बनेका साहुजीले लागेको भाडा भन्दा एक सय कम हुने गरेर पैसा फिर्ता गरेछन्। गुरुजीले देखिरहेका रहेछन्। उनले सोधेपछि, हो त कस्तो हुन्छ कहिलेकहीँ भनेर थकथकी मानिरहे। एक जनाको नागरिकता ल्याइदिएका रहेछन् त्यो पनि सम्बन्धित व्यक्ति भेट हुन नसकेपछि प्रहरी बिटमा छोडिदिएर गाडी स्याङ्जा चोक कटेर गयो। पृथ्वीचोकबाट हिँडदा बिरौटा, छोरेपाटन, सर्केटारी, खडकेटारी, स्याङ्जामा यात्रु फेला पर्ने आसा बोकेर हिँडेका साहुजीको मुहारमा कुनै चमक आउने लक्षण नदेखिदैँ गाडी वालिङ आइपुग्यो। फर्किदा सिटभरीका यात्रु लिएर फर्कने आसा लिएरै उनी वालिङ मोडबाट गाडी मोडेर पोखरा लागे म भने कार्यक्रमका लागि सम्बन्धित व्यक्तिको सम्पर्कमा।
गजलकार युवराज सुवेदी मलाई लिनका लागि मोटरबाइकमा आए। घरमा पुगेर सागरजीसँग चिनापर्ची भयो। एउटा होटलमा खाना खाएर कार्यक्रमस्थलतर्फ लाग्ने निर्णय तय गरियो। होटलको नामै त किन लिनु प¥यो, मनले चिने भयो। रुचिकर लाग्ने खाना नभएपछि फ्रुटीको गुलियोसँग दुई चार गास धकेले सागरले। मैले बडो मुस्किलले तिलको चटनीसँग दिएको भाग सके। कार्यक्रमतर्फ लागियो। मान्नुपर्ने अग्रजदेखि आफूप्रति श्रद्धा राख्ने समकालिन स्रष्टा साधक उपस्थित थिए। पाल्पाबाट आएका कृष्ण पहारीसँग छलफल भयो। केहीले औपचारिकताका लागि हाइ हेल्लो गरे। केहीले सम्मानपुर्वक गरेको नमस्कार नसुने झैँ गरे भने केहीले श्रद्धाले नमन गरे। केही समय यसरी नै बित्यो।
बिहान ११ बजे सुरु हुने भनेको कार्यक्रम झण्डै एक बज्ने बेला सुरु हुने लक्षण देखियो। प्रतिष्ठानका सचिव शालिकराम लम्सालले अध्यक्ष देवेन्द्र लम्साललाई अध्यक्षताका लािग अनुरोध गर्दै अगाडि बढे। प्रमुख अतिथिका रूपमा आएका प्रा.डा. जगदीशचन्द्र भण्डारीसहित विशेष अतिथि देवीप्रसाद वनवासी, विश्वप्रेम अधिकारी, लोकबहादुर थापासहित दर्जन बढी साधकलाई विशेष अतिथिका रूपमा अबिर र माल्यार्पणसहित आसनग्रहण गराइयो। जसमध्येको एक आफैँ पनि थिएँ। प्रतिष्ठानका उपाध्यक्ष अग्नीकुमार पल्लवले स्वागतसहित आफ्ना सबै कुरा सकेर बिदा भए। प्रमुख अतिथिद्वारा ज्याग्दी खोलाको तरङ्गको अंक ४ र देवीप्रसाद वनवासीद्वारा युवराज सुवेदीको फुलसँगै फूल्ने रहरमा गजलको विमोचन भयो। लोकार्पण सँगसँगै पराजित रेशम गोतामे, वसन्त खनाल, पुष्पराज सुवेदी, सविता भण्डारी, सागर भण्डारी, तोलाकान्त बगाले, शम्भु अर्याल, तोरणराज बस्याल, लिलांवर ढुङ्गाना, खुम थापा, दयानाथ अर्याल, श्यामप्रसाद ढुंगानालगायतले रचनावाचन गरे। दीपक लम्साल, गायत्री लम्साल परिरोशनी, नारायण मरासिनी, परशुराम कोइरालाले मन्तव्यसहितका रचना राखे। समीक्षाको सन्दर्भ आयो। मलाई फूलसँगै फूल्ने रहर गजल कृतिको समीक्षाको जिम्मा मलाई दिइएको थियो। १० मिनेट वा त्यो भन्दा बढी अवस्था हेरेर बोल्ने लक्ष्यका साथ मैले १२ देखि २५ मिनेटका लागि ७४ थान गजलसहितको कृतिको समीक्षाको तयारी गरेको थिएँ। विडम्बना त्यहाँ अवस्था त्यो रहेन। कार्यक्रम सञ्चालकज्यूले समीक्षाका लागि तीन मिनेटको समय छुट्याइएको जानकारी गराएपछि मेरो समीक्षाको कथा एकादेशको कहानी मै रहयो। मैले समीक्षा होइन, पुस्तकका बारेमा परिचय मात्र दिन उपयुक्त माने। बसेको स्थानबाट मोवाइलमा टाइमर लगाएर कार्यक्रमको मञ्चसम्म पुग्दा ३० सेकेण्ड पुगेको थियो। मैले उनले भनेको समय भन्दा ३० सेकेण्ड बढी समय लिएर आफ्ना कुरा सकेर आफ्नै स्थानमा आएर बसेँ। कार्यक्रमका सञ्चालक तथा संस्थाका सचिव, हेर्दा शिक्षक जस्ता देखिन्थे। शिक्षक आफू जलेर पनि उज्यालो छर्ने मैनबत्ति हुन्। मेरो उनीहरूप्रति सदा श्रद्धा रहँदै आएको छ र उनीप्रति पनि  त्यो यथावत रह्यो। एउटा कुरा के लाग्यो भने मैले उनी साहित्यका विद्यार्थी होलान भन्ने ठानेको थिएँ। तर त्यो मिथ्या सावित भयो। मनले उनी नेपाली साहित्यका विद्यार्थी होइनन् भन्यो। समीक्षा भनेको के हो, कसरी गरिन्छ। यसका आधार के–के हुनसक्छन्।  उनलाई के थाहा ? यो उनको दोष होइन। दोष हामीले उनलाई साहित्यको पाठशालामा भर्ती गरेर त्यसको मर्म र धर्मका बारेमा जानकारी गराउन नसक्नेहरूको हो। देशको बागडोर समालेर राष्ट्रर राष्टिूयताका लागि सही मार्गनिर्देश गर्न नसक्नेहरू झैँ स्रष्टा साधकले गर्न नसकेको साहित्यिक स्कुलिङ सम्झेर एकछिन टिठ लाग्यो। केही साथीले उनले अरु कसैलाई पनि समय तोकेनन् तपाईंलाई मात्रै यसो भने भनिरहेका थिए। मैले उक्त सन्दर्भलाई म पहिला नै बोल्ने वक्ता भएकाले एकमुष्ट भनेका होलान भनेर उत्तर दिए तापनि उनीहरू प्रायोजित तरिका हुनसक्छ भन्ने अडकल बाजी गरिरहेका थिए। जसमा कति सहमत हुने कति असहमत त्यो व्यक्तिगत कुरा थियो त्यसैले मैले त्यसलाई बढी चासोमा राखिन। किनकि ओठको हाँसो र मनको आनन्दलाई तुरुन्त नाश गर्ने क्रोधभन्दा ठूलो शत्रु मानिसको निम्ति अरु केही हुन सक्दैन भन्ने राम्ररी बुझेको थिएँ। मैले हाँसो र आनन्दलाई मार्न चाहिन तर समय आफ्नै गतिमा बितिरहेको थियो। स्रष्टा रचना सुनाइरहेका थिए। केही समयपछि पत्रिकाको समीक्षाको पालो आयो। जसका लागि उभिएका लोकबहादुर थापाले समीक्षा सुरु गरे। उनको त्यो समीक्षकीय टिप्पणी सुनेपछि मलाई लाग्यो। कार्यक्रम सञ्चालकलाई अलिकति भए पनि यिनको समीक्षाले सहयोग गर्ने छ। समीक्षा भनेको के हो भनेर। उनलाई निरन्तर यस्ता समीक्षात्मक कार्यक्रममा उपस्थित गराउनु आवश्यक छ भनेर। त्रैमासिक प्रकाशन हुने पत्रिकाको उनले ३७ मिनेट लगाएर समीक्षा गरे। उनको शब्दमा त्यो सारसंक्षेप थियो।  समय ढल्किरहेको थियो। मेरो छ बजे पोखरामा आउनुपर्ने कार्यक्रम थियो। तीन बजेर बीस मिनेट जाँदा हलबाट निस्कने तयारी गरेँ। केही थान पुस्तक अग्रजलाई दिएर निस्केँ। सागरजीले सभाहलबाट गाडी स्टेशनसम्म मोटरबाइकमा ल्याउनु भयो। अम्मर होटलमा खाजा खाइयो। साच्चै अम्मर होटल खाजाका लागि एक उत्कृष्ट होटल रहेछ भन्ने अनुमान गरेर म पोखराको यात्रामा हाइसमा उक्लेँ। गाडीका कन्डक्टर भाइ १६ माथिका थिए। बसिरहेका एक यात्रुलाई उठाएर यो जेष्ठ नागरिक बस्ने सिट हो भनेर मलाई बसाले। चार बजाउँदै थियो घडीले। गाडी पोखराका लागि हिँड्यो। बिहान जाँदा दुई घण्टामा गन्तव्यमा पुगेकाले त्यही योजनानुरूप हिँडेको म आउँदा भने त्यो अनुरूप हुन सकेन। एक पटक सरासर जाऔं पोखरा पुग्ने समयमा स्याङ्जामै छौ भनेर भनेर कराएँ। अरु केही यात्रु पनि कराइरहेका थिए। यात्रुको आक्रोस शान्त पार्न उनले राङखोलाबाट सडकेटारी झर्नका लागि यात्रारत यात्रुलाई स्याङ्जामै ओर्लिन लगाए। यात्रुको सुविधाका लागि छोटो दुरीका यात्रुलाई चढाउने झराल्ने सहयोग भन्दा पनि डूाइभर र कन्डक्टरको योजना पोखरा आइपुग्दा ७ बजाइसक्ने रहेछ। सोहीकारण यात्रु कराएर हुनेवाला केही थिएन भन्ने कुरा भालु पहाड नजिकैको खाजा घरमा गाडी रोकेपछि उनको टेलिफोन संवादले सबै जानकारी गरायो। छ बजे पोखरा आउने योजनामा हिँडेको म साढे छ बजे भालु पहाडमा चिसो चना खाँदै थिएँ। कतै पढेको थिएँ, कार्य थाल्नुभन्दा अगाडि आफ्नो सामथ्र्य अनुसार कति गर्न सकिन्छ भनेर जानकारी लिुनपर्छ। सोही अनुरुप आफूले सिक्नुपर्ने कुरा सिकेर आफ्नो शक्तिको सीमाभित्र रहेर कार्य थाल्ने मानिसका लागि असम्भव भन्ने केही हुँदैन भनेर। कहिलेकहीँ आफ्नो विचारले गरेका कार्य पनि मिथ्या सावित हुँदा रहेछन्। मनमनै लाग्यो, साच्चै जिन्दगीमा धेरैका धेरै रहर फुल्न सक्दैनन्। यो पटक मैले पनि मेरा धेरै रहरलाई मारे। चाहे वालिङ पुग्नका लागि होस् चाहे पुगेर फर्कदा होस्। यात्रामा निस्कदा पृथ्वीचोकका चारै कुनामा सार्वजनिक शौचालय निर्माण गरिदिए भन्ने रहर पालेको मैले फर्किदा धेरै रहर मारेर फर्के। साच्चै आम नेपालीहरु आफ्नो जिम्मेवारी, पेसा व्यवसायमा सबै इमान्दार भइदिए। सबैले सबैलाई समान व्यवहार गरिदिए हुने थियो भन्ने मेरा रहरले मूर्त रूप पाउछन् पाउँदैनन् यसको लेखाजोखा छैन तर म भने निरन्तर फुल्न नसकेका रहर बोकेर अर्को यात्राको पर्खाइमा बसिरहेको छु।








Post a Comment

 
Top