0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले कृषिको विकासका माध्यमबाट देशलाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने विषय काँग्रेसको प्राथमिकताको विषय भएको बताएका छन्। नेपाल किसान संघ कास्कीको चौथो जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उनले काँग्रेसले स्थापनाकालदेखि नै कृषिको विकासलाई प्राथमिकतामा राख्दै आएको बताउँदै यसका लागि सरकारमा पार्टीको नेतृत्व रहेका अवस्थामा उल्लेख्य बजेट छुट्टाउने गरेको उल्लेख गरे । विपी कोइरालाले आफ्नो छोटो समयमा सरकारको नेतृत्व गर्दा कृषिको दीर्घकालिन विकासका विभिन्न योजना अघि सारेको बताउँदै उनले त्यस पछिका काँग्रेस नेतृत्वका सरकारले पनि कृषि क्षेत्रको विकासलाई सधैं आफ्नो प्राथमिकतामा राख्दै आएको बताए । आधुनिकीकरणका माध्यमबाट व्यवसायिक कृषिमा जोड दिदै युवाहरूलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्नु अपरिहार्य भएकोमा उनको जोड थियो । संविधानको कार्यान्वयनका लागि संविधानले व्यवस्था गरे अनुसारका तीन तहको निर्वाचन गराउनु काँग्रेसको दायित्व भएको बताउँदै उनले विद्यमान समस्याको समाधान गर्दै देशलाई दीगो शान्ति र विकासका मार्गमा लैजान पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । नेपाल किसान संघका केन्द्रीय अध्यक्ष भानु सिग्देलले तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला नेतृत्वको सरकारले कृषिको आधुनिकीकरण र विकासका लागि ल्याएको २० वर्षे कृषि रणनीति कार्यान्वयन अपरिहार्य भएको बताउँदै कृषिको विकासबाट देशलाई आत्मनिर्भरता तर्फ लैजान सकिने स्पष्ट पारे ।  नेपाल किसान संघ कास्कीका सभापति भेषराज पराजुलीले कृषिप्रधान देश नेपालको विकासका लागि कृषिको आधुनिकीकरण राज्यको प्राथमिकता पर्नुपर्नेमा जोड दिए । नेपाल किसान संघका केन्द्रीय सदस्य गणेश तिमल्सिनाले कृषिप्रधान भनिए पनि नेपाल कृषिमा आत्मनिर्भर बन्न नसकेका अवस्थामा तराईका २२ जिल्लामा मात्र सिंचाई गर्न सके पनि देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिने बताए । अर्का केन्द्रीय सदस्य अमृत श्रेष्ठले नेपाली कृषकका पीडा व्यथालाई सम्बोधन गर्नु सरकार तथा नेपाली काँग्रेसको दायित्व भएको बताए । कार्यक्रममा नेपाली काँग्रेस कास्कीका पूर्व सभापति सोभियतबहादुर अधिकारी, नेपाली काँग्रेस रसुवाका पूर्व सभापति बालचन्द्र पौडेल, नेपाल किसान संघका केन्द्रीय सदस्य वसन्ती घिमिरिे, नेपाल किसान संघ कास्कीका पूर्व सभापति हिरामणि सुवेदी, सीता देवकोटा, ढकनाथ कणेल लगायतले कृषि क्षेत्रको सबलतामा नै काँग्रेस बलियो बन्न सक्ने कुरालाई पार्टीले गम्भीरताका साथ लिनुपर्नेमा जोड दिए ।



Post a Comment

 
Top