0
गोल्डेन न्यूज संवाददाता
अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरूद्धको मुद्दामा सर्वोच्च अदालतमा केहीबेर अघि सुनुवाई सुरू भएको छ। न्यायाधीश आनन्दमोहन भट्टराई, ईश्वर प्रसाद खतिवडा, अनिल कुमार सिन्हाको पूर्ण इजलासले सुनुवाई सुरू गरेको हो। यसअघि मंसिर १६ गते न्यायाधीशहरु जगदीश शर्मा पौडेल, ईश्वर प्रसाद खतिवडा र आन्दन्दमोहन भट्टराईको पूर्ण इजलासमा परेको थियो । यसपालीको इजलासमा पौडेलको ठाउँमा न्यायाधीश सिंन्हा परेका छन्। बहस सुरु गर्दै रिट निवेदक ओमप्रकाश अर्यालले विभिन्न कारणले लोकमान अयोग्य भएको दाबी गरे। अर्यालले लोकमानको योग्यता पनि नपुग्ने र उच्च नेतृत्व तह पनि नएएकाले कार्कीको नियुक्ति बद्दर हुनुपर्ने माग गरेका थिए। त्यसैगरी, अधिवक्ता रमेश बडालले लोकमानको बीस वर्षे योग्यता नपुग्ने दाबी गरे। सुरेन्द्र भण्डारीले उनी उच्च नैतिक चरित्रको परिभाषाभित्र नपर्ने जिकिर गरे । दिउँसो खाजा समयका लागि इजलास स्थगित भएको छ। त्यसपछि रिट निवेदककै तर्फबाट दिउँसो ३ बजेसम्म बहस हुनेछ। तीनदेखि चार बजेसम्म सरकारी वकिलले लोकमान नियुक्तिको कारणबारे कानुनी प्रतिरक्षा गर्नेछन्। भोलि र पर्सी सरकारी वकिलहरूको भेला भएको हुनाले उनीहरूलाई बिहीबारै समय दिइएको हो। अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीको नियुक्ती संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा रीट निवेदन दायर गरेका थिए। सर्वोच्च अदालतले सुरूमा अर्यालको रीट खारेज गरेको थियो। पछि प्रधानन्यायाधीश सुशीला कार्कीलगायतको बेन्चले सो मुद्दा पुनः ब्युताएर सुनुवाई हुने निर्णय दिएको थियो। पछिल्लो पटक मंसिर १६ को सुनुवाई कार्की पक्षका वकिल बालकृष्ण न्यौपाने उपस्थित हुन नसकेको भन्दै स्थगितका लागि निवेदन दिएका थिए। न्यायाधीशहरू ले  फेरि यो मुद्दामा सुनुवाई स्थगित हुन नसक्ने भन्दै एक पटकलाई कार्की पक्षको निवेदन स्वीकार गरेको थियो। न्यायाधीशहरूले दुबै पक्षबाट बहसका लागि धेरै वकिलहरूले नाम लेखाएकाले समय व्यवस्थापन गर्न पनि दुबै पक्षलाई भनेका थिए। बिहीबार सुरू भएको सुनुवाई केही दिनमै सकिने अनुमान गरिएको छ। कार्कीको नियुक्ति संवैधानिक थियो वा थिएन भन्ने निर्णय सर्वोच्चले एक साताभित्रै सुनाउने सम्भावना छ। लोकमानविरूद्ध संसदमा एक चौथाइभन्दा बढी सांसदहरूले महाभियोगको प्रस्ताव दर्ता गरिसकेका छन्। प्रस्ताव दर्ता लगत्तै संवैधानिक प्रावधानअनुसार कार्की अहिले निलम्बित अवस्थामा छन्। यसैबीच नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि कालो मोसो दलेको घटना जनआक्रोश भएको टिप्पणी गरेका छन् । ज्ञवालीले भने–‘यो घटनाका बारेमा एमालेले आधिकारीक धारणा बनाएको छैन् । मेरो बिचारमा यो घटनाले जनतामा आक्रोश छ भन्ने देखाँउछ ।’ यस्तै नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले लोकमान सिंह कार्कीमाथि कालो मोसो दल्नु असोभनीय काम भएको बताएका छन् । उनले अदालतमा मुद्धा प्रक्रिया चलिरेहेको ब्यक्तिमाथि आक्रमण गर्नु उत्सृङ्खल गतिबिधि भएको बताँउदै कसलाई कस्तो कारबाही गर्नुपर्छ त्यो कानुनले निर्धारण गर्ने बताए । पौडेलले भने–‘अदालत परिसरमा यस्तो गतिविधि हुनु राम्रो कुरा हैन, यो उश्रृङ्खल गतिविधि हो ।’ यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालत परिसरमा भएको व्यवहार निन्दनीय भएको बताएका छन्। बिहीबार साँझ सामाजिक संञ्जाल ट्वीट गर्दै थापाले लोकमानसिंह कार्की माथी सर्वोच्च अदालत परिसरमा भएको अभद्र व्यवहार निन्दनिय भएको उल्लेख गरेका छन्। ‘विधिको शासन र मर्या्दित व्यवहार प्रजातन्त्रको आधारभूत मान्यता हो’ उनले भनेका छन्।  अदालतको तारेख बुझ्न सर्वोच्च गएका कार्कीलाई नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका कार्यकर्ताले बिहीबार दिउँसो कालोमोसो दलेका थिए।  यता, नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सर्वोच्चमा निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग गरेको छ । अखिल क्रान्तिकारीका अध्यक्ष पुर्णबहादुर सिंहले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ–‘नेपालको नामुद भ्रष्ट र दलाल अख्तियार प्रमुख लोकमान सिंह कार्की माथि कारवाहीको क्रममा हाम्रो संगठनका केन्द्रीय सदस्य दोय प्रकाश शाही र चन्द्र बुढालाई पुलिस प्रशासनले गिरफ्तार गरेको घटनाप्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।’ अगाडि उल्लेख गरिएको छ ‘हाम्रा साथिहरुलाई बिनासर्त रिहाईको माग गर्दछौँ । साथै भ्रष्टाचार, कालोबजारी र महंगीविरुद्धको अभियान जारी छ ।’ दलालहरु माथि कारवाही गर्नेक्रममा लोकमानलाई गरेको कारवाही सहि भएको भन्दै संगठनका महासचिव दिपेन्द्र चलाउनेले अन्याय गर्नेका विरुद्ध आफ्नो संगठन निरन्तर लडिरहने बताए । चलाउनेले आफ्ना पक्राउ परेका कार्यकर्तालाई रिहाई नगरे कडा आन्दोलनमा जाने पनि बताएका छन्  यसैबीच निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्कीले आफूलाई कालो मोसो दल्ने काम केही समयदेखि ‘आफू विरुद्ध चल्दै आएको षडयन्त्रपूर्ण चालबाजीको एउटा कडी’ भएको बताएका छन् । बिहीबार उनलाई अदालत परिसरमा कालो मोसो दलेको केही घण्टापछि एक विज्ञप्ति जारी गर्दै उनले उक्त ‘घृणित’ कार्यले आफू ‘स्तब्ध र दुःखी’ भएको बताएका छन् साथै उक्त घटनाले आफ्नो जिउधन असुरक्षित रहेको र न्यायालय परिसरमा समेत जान ‘सचेत’ रहनुपर्ने अवस्था बनेको बताएका छन् । अदालत परिसरमा उनलाई नेत्र विक्रम चन्दका कार्यकर्ताले कालो मोसो दलेका थिए । आफू विरुद्ध विभिन्न ‘षडयन्त्र’ भएपनि उनले अदालतबाट न्याय पाउने आशा गरेको बताएका छन् ि‘म माथि केही समययता पुर्वाग्रहपूर्ण ढंगले जे जस्तो व्यवहार हुँदै आएको भएपनि सम्मानित न्यायालयबाट न्याय पाउने आशा भने अझै गुमाईसकेको छैन,’ उनले विज्ञप्तिमा भनेका छन्।  राष्ट्रप्रति आफूले गर्नुपर्ने दायित्वबाट कदापि विचलित नहुने भन्दै उनले विज्ञप्तिमा लेखेका छन्– ‘यस प्रकारको निन्दनीय घटनाबाट मेरो आत्मविश्वास क्षयीकरण हुने ठानिएको हो भने त्यो कल्पना मात्र हुने अवगत गराउँछु।’



Post a Comment

 
Top