0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. २५, पुम्दीकोटमा निर्माण हुन लागेको महादेवको विशाल मूर्ति निर्माण गर्ने अभियानमा कास्कीका राजनीतिक दलहरुहरु एक भएका छन । धार्मिक तथा पर्यटकीय महत्व वोकेको पोखराको पुम्दीकोटमा महादेवको विशाल मूर्ति निर्माण गर्ने अभियानमा कास्कीका राजनीतिक दलहरु एक भई आर्थिक सहयोग जुटाउने अभियानमा सहयोग गर्ने भएका हुन् । पुम्दीकोट विशाल महादेव मुर्ति निर्माण उपभोक्ता एवं पर्यटन प्रवद्र्धन समितिले सोमबार पोखरामा कास्कीका राजनीतिक दलहरु संगको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा राजनीतिक दलहरुले पुम्दीकोट प्रदेश नं.४ को पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन आफूहरु प्रतिवद्ध रहेको बताएका थिए। कार्यक्रममा दलका नेताहरुले पुम्दीकोटमा निर्माणाधिन हुन लागेको महादेवको विशाल मूर्ति निर्माणमा आफूहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । नेकपा माओवादी केन्द्र कास्कीका इन्चार्ज राजकाजी गुरुङ (करण) ले पुम्दीकोटामा महादेवको मुर्ति बनाउने अभियान आर्थिक विकाससंग जोडिएकोले यसलाई आफूहरुले सहयोग गर्ने स्पष्ट पारे । विशाल महादेवको मूर्ति अवलोकन गर्न अपाङ्गता भएका व्यक्तिहरुको पनि पहुँच पुग्ने गरी अपाङ्ग मैत्री बनाउन उनले आग्रह गरे । उनले भने–‘माओवादीले द्वन्दकालमा राजनीति गरेको उक्त क्षेत्रमा हामीले केही गर्न नसकेको अवस्थामा धार्मिक तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विशाल महादेवको मूर्ति निर्माण गर्ने अभियानमा हाम्रो तर्फबाट जिल्ला स्तरदेखि केन्द्र सम्म पहल हुन्छ। नेकपा एमाले कास्कीका सदस्य राधिका शाहीले स्थानीय श्रोत साधन प्रयोग गरी प्रदेश नं. ४ कै पर्यटनको उत्कृष्ट गन्तव्य वनाउने अभियानमा आफ्नो पार्टीको पूर्ण साथ र सहयोग हुने प्रतिवद्धता जनाइन। पुम्दीकोट क्षेत्रमा गुणस्तरीय पर्यटकहरुको लागि रिसोर्टहरु समेत आवश्यक भएको भन्दै उनले सिधै सडक मार्ग पुम्दीकोटसम्म नजोड्न सुझाव दिईन । एमालेका जिल्ला सदस्य ईमानराज पौडेलले पुम्दीकोटमा महादेवको विशाल मूर्ति स्थापना भएसंगै त्यहाँको आर्थिक विकासमा महत्वपूर्ण योगदान हुने बताए । उनले भने–‘दूध उत्पादन हुने पुम्दी क्षेत्रका स्थानीयले अब दूधको भाडा वोकेर पोखरा धाउन पर्दैन, त्यही दूधबाट उत्पादन हुने परिकारहरु वनाएर विक्री गर्नुपर्दछ । नेपाली कांगे्रस कास्कीका सदस्य युवक लामिछानेले नमुना पर्यटकीय धार्मिक स्थल बनाउने अभियानमा आप्mनो पार्टी महत्वपूर्ण भूमिका निभाउन तयार भएको बताए । उनले भने–‘आर्थिक सहयोग जुटाउनदेखि केन्द्रबाट समन्वय गरी उक्त अभियान सफल पार्न हामी तयार छौं । जनमोर्चा नेपालका केन्द्रीय उपाध्यक्ष शंकर बरालले समावेशीकरण गरी पुम्दी क्षेत्रकै बृहत हित हुने गरी गुरुयोजना हुनु पर्नेमा जोड दिए । महादेवको मूर्ति बनाउने अभियानमा आफूहरु पनि कटिवद्ध रहेको भन्दै पोखरामा आएका पर्यटकहरुको वसाई लम्वाउने अभियानमा पुम्दी क्षेत्रमा यस्ता संरचनाले थप मद्धत पुग्ने विश्वास व्यक्त गरे। नेकपा क्रान्तिकारी माओवादीका जिल्ला प्रतिनिधि राम्जी थापाले विज्ञानको युगमा महादेवको मूर्तिको विकल्प खोज्न आग्रह गरे । उनले महादेवकै मूर्ति बनाउने भएपनि त्यसमा आफूहरुको पूर्ण सहयोग रहने स्पष्ट पारे ।  ईन्जिनियर बाबुराम बरालले पुम्दीकोटमा निर्माण हुने उक्त महादेवको विशाल मूर्तिको बारेमा जानकारी गराएका हुन् । रौतहटका प्रमुख जिल्ला अधिकारी तथा पुम्दीका स्थानीय नरहरि बरालले पुम्दीकोट प्राकृतिक हिसावले निकै मनमोहक भएपनि धेरै बर्षदेखि गुमनाम भएको भन्दै यस क्षेत्रको प्रचार–प्रसारमा जोड दिनुपर्ने बताए । उनले सबै क्षेत्रबाट सहयोग जुटाएर महादेवको मूर्ति वनाउने अभियानलाई सफल पार्न आग्रह गरे । उनले भने–‘यो ऐतिहासिक तथा धार्मिक पर्यटनको गन्तव्य हुन सक्छ, त्यही अवधारणमा अब सवै जागरक हुनुपर्दछ, आ–आप्mनो क्षेत्रबाट सकेको सहयोग सवैबाट भएमा अभियान सफल हुन्छ ।’ समितिका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय मित्रलाल बराल, सचिव प्रकाश बराल लगायतले बोलेका थिए । परम्परादेखि महिलाहरुको महान पर्व हरितालिका जित पर्व र महाशिवरात्रिको दिनमा विशेष पूजा हुने उक्त स्थान पर्यटकीय र धार्मिक दृष्टिकोणले महत्वपूर्ण हुने भएकाले मूर्ति स्थापना अभियानमा आफूहरु जुटेको समितिका अध्यक्ष बरालले बताए । पुम्दीकोटको बृहत् योजना पाँच बर्षको भएको जानकारी दिंदै संयोजक बरालले उक्त प्रोजेक्ट सफल पार्न करिब २१ करोड लागत लाग्ने बताए ।

Post a Comment

 
Top