0
गोल्डेन न्यूज संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो चरणमा स्थानीय तहकै निर्वाचन हुने बताएका छन् । प्रमुख तीन दलका शीर्ष नेताबीच अहिलेको निकायलाई तह बनाएर निर्वाचन गर्ने छलफल भएको उनले बताए । स्थानीय निकायको पुरानै संरचनाअनुसार निर्वाचन हुने सार्वजनिक भइरहेको बेला दाहालले त्यस्तो कुनै निर्णय नभएको बताएका हुन् । ‘म, शेरबहादुर देउवा र केपी ओलीबीच गाविस र नगरपालिकालाई संशोधन गरी स्थानीय तहको निर्वाचन गर्ने विषयमा छलफल भएको हो तर निष्कर्षमा पुगिएको छैन,’ प्रेस सेन्टर कास्कीको भेटमा शुक्रबार उनले भने–‘पुरानै संरचनामा निर्वाचन हुने प्रचारमा कुनै सत्यता छैन ।’ स्थानीय तहको निर्वाचन चैतभित्र गर्नुपर्ने भए पनि बैशाखमा सुरु भएर जेठसम्म पुग्नसक्ने उनले बताए । मधेसी मोर्चा पनि एउटा समझदारीमा निर्वाचनमा जाने वातावरण बन्दै गएको उनले दाबी गरे। संविधान कार्यान्वयनको आधारभूत र संस्थागतरुपले सुनिश्चितता गर्ने कुुरा निर्वाचनसँग जोडिएको भन्दै दाहालले संविधानले भनेअनुसार स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गरी देशमा राजनीतिक स्थिरता सुनिश्चित गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।  ‘मुख्य काम र चुनौती संविधान कार्यान्वयन हो । मधेसी, आदिवासी, जनजातिलाई विश्वासमा लिएर गर्न सकिने विषयलाई सम्बोधन गरी सबैलाई लिएर निर्वाचनमा जान आवश्यक छ’ उनले भने ।  प्रमुख शक्तिबीच छलफल भएर संशोधन प्रस्ताव परिमार्जन सहित पारित गरी निर्वाचनमा जानुको विकल्प नरहेको उनले बताए । आफ्नो नेतृत्वमा सरकार गठनपूर्व गरिएको ३ बुँदे सहमतिअनुसार आफूले संविधान संशोधनको प्रस्ताव संसदमा पेश गरेको उनले बताए ।
 
दुईपटक संविधान संशोधन भएपनि आन्दोलनमा रहेका असन्तुष्ट पक्षबाट आफ्नो माग राम्रोसँग सम्बोधन नभएको र देशको समग्र राजनीतिक स्थितिलाई दृष्टिगत गर्दा मधेस, पहाड, हिमाललाई जोडेर जानुपर्ने आवश्यकताको कारणले संविधान संशोधन प्रस्ताव गरिएको उनको दाबी थियो । ‘सहमतिको मान्यतामा रहेर सरकारबाट निर्णय गरेर संशोधन प्रस्ताव दर्ता गराएको छु । प्रस्ताव सबैलाई सहमति हुनसक्ने हिसाबले प्रस्तुत गरिएको छ,’ उनले भने, ‘यसमा प्रमुख प्रतिपक्ष दलले आपत्ति जनाउनु पर्ने कुनै कारण छैन ।’ संशोधन प्रस्ताव हतारमा नभई चार महिना लगाएर ल्याएको उनले बताए । यसमा प्रमुख प्रतिपक्ष दलसहित मधेसी, थारु, संघीय गठनबन्धनसँग पनि धेरैपटक कुराकानी गरेरमात्रै दर्ता भएको उनले जिकिर गरे । नागरिकता, अंगीकृतलाई राष्ट्रपति, हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने र देशलाई विखण्डन गर्ने गरी संशोधन आउने भनेर प्रचार गरिनु आफू र सरकारमाथि अन्याय भएको उनले बताए।  ‘नेपालको राष्ट्रिय एकतालाई बलियो पार्ने उद्देश्यले नै संशोधन आएको हो । राष्ट्रलाई हानी र नेपाली जनताको भावनालाई चोट पु¥याउने केही छैन,’ उनले भने ।  ५ नम्बर प्रदेशको  सीमांकन एमालेले नै अघि सारेको उनले बताए । ‘केपी ओली प्रस्तावक र कांग्रेस समर्थक भएर तयार पारिएको प्रस्ताव मैले ल्याएको मात्र हुँ’ उनले भने, ‘राष्ट्रघाति, देश विखण्डन गर्ने गलत प्रचार गर्नुको औचित्य छैन ।’ आफूले प्रस्ताव गर्दा राष्ट्रवादी र अरुले गर्दा राष्ट्रघाती नहुने भन्दै पहाडसँग नजोडिएको २ नम्बर प्रदेशको सीमांकनमा किन विरोध नभएको भन्दै उनले प्रश्न गरे । राष्ट्रलाई एकताबद्ध गर्न, मधेस, पहाड, हिमाल जुटाउन, मधेसी, जनजातिलाई सँगै लिएर हिँड्न खोज्दा आरोप लगाएर जनता उत्तेजित बनाउन खोजिएको उनले आरोप लगाए । दाहालले संशोधन प्रस्ताव फेल गराएर देखाउन एमालेलाई चुनौती पनि दिए ।  अहिले संशोधन प्रस्तावविरुद्ध भएको आन्दोलन प्रतिगमनकारी पनि हुन सक्ने उनले बताए । ‘एमाले अहिल्यै त्यहाँ पुग्यो भन्ने होइन,’ उनले भने, ‘समझदारीमा नआए ५ नम्बरको सीमाको मात्र होइन । संघीयता विरुद्ध र समावेशी प्रजातन्त्र विरुद्धको आन्दोलन हुनसक्छ ।’ उनले संशोधन प्रस्ताव फिर्ता नहुने बरु संसदीय परिपाटीबाट परिमार्जन हुनसक्ने बताए । प्रतिपक्षको धर्म विरोध गर्नु रहे पनि संसद अवरुद्ध गरी निर्वाचन, महाअभियोगको कार्यक्रम रोक्ने, जनतालाई समस्यामा पार्न नहुने उनले बताए ।  ४ नम्बर प्रदेशस्तरीय राजनीतिक प्रशिक्षणमा भाग लिन अन्य नेतासहित दाहाल शुक्रबार पोखरा आएका हुन् । माओवादी केन्द्र प्रदेश नं ४ को प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले संशोधन प्रस्तावलाई मतदानको प्रक्रियाबाट विफल बनाए सरकार सहर्ष स्वीकार गर्न तयार रहेको बताए । प्रधानमन्त्रीले संसद्को अवरोध र सडक आन्दोलन छाडेर समझदारीमा आउन विपक्षी दलसँग आग्रह गरे ।  पार्टी प्रदेश नं ४ का इन्चार्ज देव गुरुङको अध्यक्षतामा भएको सो भेलामा पार्टी नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले कार्यकर्तालाई प्रशिक्षण दिँदै पार्टी सङ्गठन अनुशासित र मर्यादित हुन सके मात्रै नेपाली जनताको सहयोग रहिरहने र पार्टी सङ्गठन बलियो हुने विचार व्यक्त गरे । एकदिने सो प्रशिक्षण कार्यक्रममा प्रदेश नं ४ का ४२५ केन्द्रीय सदस्यको सहभागिता थियो ।
 
‘मेरो निजी सम्पत्ति देखाऊ, सन्यासी बन्छु’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलोचकहरुलाई आफ्नो निजी सम्पत्ति देखाउन चुनौती दिएका छन् । कसैले आफ्नो निजी सम्पत्ति देखाए आफू सन्यासी बन्ने उनको घोषणा छ । सरकारले हालै सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार प्रचण्डको सम्पत्ति तीन तोला सुन र चितवनमा एक कठ्ठा जग्गा छ । यो पनि पत्नी सीता दाहालको नाममा रहेको प्रचण्डले उल्लेख गरेका छन् । प्रचण्डको यो सपत्ति विवरणलाई धेरैले पत्याएका छैनन् । तर, प्रचण्डले भने सम्पत्ति विवरणमा उल्लेख गरेको चितवन भरतपुरमा रहेको एक कठ्ठा जग्गा र ३ तोला सुन पनि व्यक्तिगत नभई पार्टीको भएको बताए । पार्टीको प्रशिक्षणका लागि पोखरा आइपुगेका माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘मान्छेहरु पत्याउँदैनन्, तर मेरो निजी सम्पति छैन ।’ साम्यवादको सिद्धान्त अनुसार नै आफूले सबै सम्पति पार्टीकरण गरिसकेकाले भएको सम्पत्ति कि पार्टीको कि सरकारको भएको उनले बताए । उनले आफूसँग अकुत सम्पति छ भनेर भ्रम फैलाएको भन्दै आक्रोश पोखे । उनले आफ्नो निजी सम्पत्ति भएको प्रमाणित गरेर देखाउन चुनौति दिए । कसैले निजी सम्पति भएको प्रमाणित गरे सन्यासी बन्ने उनको घोषणा छ ।








Post a Comment

 
Top