0
गोल्डेन न्यूज संवाददाता
पोखरास्थित कास्की कारागारभागेका एक कैदी काठमाडौंमा पक्राउ परेका छन् । कैदी पुष्कर खड्का भागेको एक महिनाभित्रै पक्राउ परेका हुन् । गत मंसिर ९ गते होटलमा युवतीसँग यौन प्यास मेटाउन लगिएको भनिएका कैदी काठमाडौंमा युवतिसँग जबरजस्ती गरेको अभियोगमा पक्राउ परेका हुन् । पक्राउ परेपछि अनुसन्धानका क्रममा उनी कास्की कारागारमा जेल सजाय भोगिरहेका र मंसिर ९ गते भागेकै ब्यक्ति रहेको पुष्टि भएको हो । प्रहरी बृत्त कमलपोखरीको टोलीले उनलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका निमित्त प्रमुख एसपी प्रद्युम्न कार्कीले खड्का पक्राउ परेको पुष्टि गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी घनश्याम अर्यालले पक्राउ परेको बारे जानकारी आएको र उनलाई कास्की झिकाउने प्रक्रिया सुरु गरिएको बताए । घटना विवरण अनुसार मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवति पुतलीसडक स्थित तिरुपति होटेल पुगिन् । अन्तर्वार्ताका लागि भनेर उनलाई होटेलमा बोलाइएको थियो । आफूलाई मोडल एजेन्सीको संचालक बताउने एक युवक उनलाई कुरिरहेका थिए । अन्तर्वार्ताका लागि भन्दै उनले युवति लाई होटेलको कोठामा बोलाए । सामान्य कुराकारी गरेपछि युवतिलाई उनले आफूसँग सम्बन्ध राखे मोडल बनाउने बताए । तर, युवतिले मानिनन् । त्यसपछि युवतिलाई जबर्जस्ती सम्बन्ध राख्ने प्रयास गरे । युवति चिच्याइन् । उनी भाग्ने प्रयास गरे । होटेलका कर्मचारी तथा सेक्युरिटी गार्ड मिलेर उनलाई भाग्दा–भाग्दै समाएर प्रहरीलाई बुझाए । अभय खड्का नाम गरेका ती व्यक्तिमाथि अनुसन्धान गर्दा प्रहरी चकित भयो । तिरुपतिमा उनले बलात्कारको प्रयास मात्र गरेका थिए, त्यसभन्दा पहिला धेरैपटक उनले युवतिहरूलाई मोडल र नायिका बनाउने भन्दै ठगी गरेको खुलेको छ भने उनी कास्की कारागारमा सजाय भोगिरेको अवस्थामा भागेको खुल्न आएको छ । पक्राउ परेका खड्काले १६–१७ वटा बलात्कारका घटनामा आफू संलग्न रहेको स्वीकारेका छन् । उनी अभय नभई पुष्कर खड्का भएको पनि पुष्टि भएको छ । सुरुमा उपचारका लागि लगिएकोमा गण्डकी मेडिकल कलेजबाट भागेको बताइएपनि युवतिसँग यौन सम्पर्कका लागि न्यूरोड स्थित होटल दिपसागरबाट भागेको खबर सार्वजनिक भएको थियो । खड्का भागेपछि कास्की कारागार प्रमुख हरिप्रसाद गौतमले अस्पतालबाट भागेको ‘कहानी’ बनाएपनि होटलबाट भागेको तथ्य खुलेपछि उनको सुरक्षामा खटिएका प्रहरी पनि कार्वाहीमा परेका छन् । मंसिर ९ गते बिहान करिब १० बजे कैदी खड्कालाई कारागार बाट लिएर प्रहरी सहायक निरीक्षक बोजकुमारी क्षेत्रीको नेतृत्वमा प्रहरी हबल्दार श्याम परियार र कारागारका एक कर्मचारी अस्पताल जाने भन्दै हिँडेका थिए । कैदी भागेपछि उनीहरु अहिले हिरासतमा छन् । महानगरीय प्रहरीका अनुसार खड्काले धेरै युवतिलाई मोडल तथा नायिका बनाउने भन्दै यौन प्यास मेटाउने माध्यम बनाएको देखिन्छ । उनले अन्तर्वार्ताको बहानामा होटेलमा शारीरिक सम्बन्धको प्रस्ताव राख्ने ।  अस्वीकार गरे बलात्कार गरेर युवतीलाई होटेलमै थुनेर भाग्ने गरेको समेत खुल्न आएको छ । उनी पोखराबाट भागेको घटनाबारे थप अनुसन्धान बाँकीनै रहेको र कास्की झिकाएपछि अन्य तथ्य खुल्ने एसपी अर्यालले बताए ।

Post a Comment

 
Top