0
गोल्डेन न्यूज संवाददाता
नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्तिको मुख्य फोकस मुलुकको आर्थिक विकास र समृद्धि नै भएको बताएका छन्। नेपाल प्रेस सोसाइटी कास्कीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संयोजक भट्टराईले नयाँ शक्ति वैकल्पिक राजनीतिक शक्ति भएकोले कार्यक्रमिक हिसाबले नै आर्थिक विकास र समृद्धिलाई मुख्य रुपमा फोकस गरिरहेको बताए । उनले अन्य राजनीतिक दलहरुले उठाउने धेरै मुद्दाहरुमध्ये विकास र समृद्धि एउटा हुने गरेको तर, नयाँ शक्तिले चाहिं यसैलाई मुख्य मुद्दा बनाएको स्पष्ट पारे । नेता भट्टराईले विकास र समृद्धिका लागि मुलुकको राजनीतिक स्थिरता अनिवार्य पूर्वशर्त हुनेपर्नेमा जोड दिए। संयोजक भट्टराईले राजनीतिक स्थिरताका लागि संविधानमा सबै क्षेत्र, जाति, वर्ग, भाषा, लिंग र समुदायको अपनत्व र स्वामित्व हुनुपर्ने उल्लेख गर्दै राजनीतिक स्थिरताबिना विकास र समृद्धि हासिल हुन नसक्ने स्पष्ट पारे ।
अहिले बढ्दै गएको राजनीतिक अन्यौलताको अन्त्य र आन्दोलनरत पक्षहरुलाई सहमतिमा ल्याउनका लागि संविधान संशोधन अपरिहार्य रहेकोले प्रमुख प्रतिपक्षीले संविधान संशोधनमा अवरोध गर्नु नहुने उनको भनाइ थियो ।‘जसरी अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधन गर्नुहुन्न भनिरहेको छ, यसमा प्रतिपक्षले पनि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने–‘सबैलाई विश्वासमा लिएर संविधानको स्वीकार्यता बढाएर स्थिरता कायम गर्नु नै राजनीतिक निकासको मुख्य पाटो हो ।’ उनले यसको लागि नयाँ शक्तिले सबै पक्षसँग आवश्यक पहल गर्ने बताए । संविधान संशोधनको आवश्यकता संविधान जारी गर्दादेखि नै महशुस भएको प्रसंग उद्धृत गर्दै भट्टराईले संविधान जारी गर्दा माओवादीकै तर्फबाट संविधानका ५७ वटा विषयमा फरकमत राखेको बताए े ।

सीमांकनको सबैभन्दा उत्तम विकल्प राज्य पुनःसंरचना आयोग र संविधानसभा अन्तर्गतको पुनःसंरचना समितिले संविधान सभामा पेश गरेको पहिचानका ५ र सामथ्र्यका ४ आधारअनुसार प्रदेशको सीमांकन गरिनुपर्दथ्यो,’ उनले भने–‘यद्यपि अहिले त्यो परिस्थिति नभएको हुँदा १ प्रतिशत भन्दा बढी जनसंख्या भएका जाति, भाषा र समुदायको बसोबासको ऐतिहासिक थातथलो नटुक्रिने गरी सीमांकन गर्ने नै हो । उनले संविधान संशोधनको अर्को आवश्यकतामा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीसहितको शासकीय स्वरुप र पूर्ण समानुपातिक संसद हुनुपर्नेमा जोड दिए। एक फरक प्रसंगमा उनले नयाँ शक्ति पार्टी समग्ररुपले एउटा वैकल्पिक राष्ट्रिय पार्टी भएकोले विभिन्न पक्षहरुसँग ध्रुवीकरण गर्ने मान्यताअनुसार राजनीतिक ध्रुवीकरणका लागि विभिन्न पक्षहरुसँग कुराकानी चलिरहेको बताए ।यता,पोखरास्थित पृथ्वीनारायण क्याम्पस पोखरामा नयाँ शक्ति विद्यार्थी युनियनको आयोजनामा नवआगन्तुक विद्यार्थीहरुलाई गरेको स्वागत कार्यक्रममा बोल्दै संयोजक भट्टराईले युवा विद्यार्थीहरुले नयाँ विचार र चिन्तनको खोजी गर्नुपर्ने बताए । उनले देशको राजनीतिक ठीक भएन भने देशको विकास र समृद्धि संभव नहुने भएकोले अब युवापुस्ताले देशको राजनीतिलाई ठीक ठाउँमा ल्याउनुपर्ने आवश्यकता रहेको स्पष्ट पारे । स्वागत कार्यक्रमलाई नयाँ शक्ति पार्टीका संगठन विभाग प्रमुख देवेन्द्र पौडेल, ४ नम्बर प्रदेश संयोजक बलावती शर्मा, सांस्कृतिक विभाग प्रमुख करिश्मा मानन्धर, प्रवक्ता खिमलाल देवकोटा लगायतले सम्बोधन गरेका थिए ।




Post a Comment

 
Top