0
नेपाली कांग्रेस निकट कृषकहरुको संस्था नेपाल किसान संघ कास्की क्षेत्र नं. ३ को क्षेत्रीय समितिमा निर्वाचित पदाधिकारीहरु को पदस्थापन बिहीबार सम्पन्न भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाको उपस्थितिमा उनीहरु लाई पदवहाली गराइएको हो । कार्यक्रममा बोल्दै कांग्रेस नेता कोइरालाले ले कृषिको विकासका लागि राज्यको नयाँ सोच आवश्यक भएको बताएका छन्। किसान र राज्यका बीचको दुरी अझै कम हुन नसकेको बताउँदै उनले किसानमैत्री राज्यका लागि एकआपसमा समन्वय आवश्यक भएको बताए । उत्पादित वस्तुको सही मुल्य नपाउनु, ढुवानी, बजारीकरण जस्ता धेरै समस्याले कृषक ग्रसित बनेको बताउँदै उनले विद्यमान समस्याको समाधान गरेमा मात्र कृषि प्रति आकर्षण बढाउन सकिने स्पष्ट पारे । देशलाई राजनीतिक अस्थिरताबाट मुक्ति दिनु अपरिहार्य भएको भन्दै नेता कोइरालाले आगामी १३ महिना भित्र तीन तहका निर्वाचन गर्न नसकेमा संविधानको कार्यान्वयन प्रभावित हुने तर्फ दलहरू गम्भीर बन्नुपर्नेमा जोड दिए। नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले दलहरूका घोषणापत्रमा कृषि केन्द्रित विभिन्न विषय समेटिए पनि तिनै दल सरकारमा रहँदा ती विषयवस्तुको कार्यान्वयन नहुने गरेको वास्तविकतामा कृषकहरूले आफ्ना हक हितका लागि जवरजस्त आन्दोलन गर्नुको विकल्प नभएको बताए । नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले किसानहरू आफ्ना हक हितका लागि संगठित बन्नुपर्नेमा जोड दिदै पछिल्ला समयमा खेतीयोग्य जमिनहरू मासिने क्रम बढ्नु चिन्ताको विषय भएको बताए । सांसद शारदा पौडेलले कृषिको विकासका लागि किसान मैत्री नीति नियम ल्याउनु पर्नेमा जोड दिइन। नेपाल किसान संघ कास्कीका सभापति भेषराज पराजुलीले राज्य अझै कृषक मैत्री बन्न नसकेको बताउँदै कृषक मैत्री नीति निर्माण तथा त्यसको कार्यान्वयन वर्तमानको आवश्यकता भएको स्पष्ट पारे । कार्यक्रममा नेपाल किसान संघ कास्की क्षेत्र नं ३ का सभापति विश्वराज आचार्य, प्रा.डा. भुपती ढकाल कमल, नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाट, प्र.डा. रामचन्द्र पोखरेल, तारा पाखे, प्रेमनाथ बराल, लगायतले कृषिप्रधान देश नेपालमा आधुनिक कृषिको विकासबाट मात्रै देश आत्मनिर्भरतातर्फ लम्कनुपर्नेमा जोड दिएका थिए ।



Post a Comment

 
Top