0
गोल्डेन न्यूज संवाददाता
बाबा फाउण्डेशन नेपालद्वारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार–२०७३ बाट पत्रकार कृष्णमणि बराल सम्मानित भएका छन् । बाबा फाउण्डेशनको नवौं साधारणसभाका अवसरमा बाल अधिकार संरक्षण र प्रवद्र्धन तथा वातावरण संरक्षणको बिषयमा बर्ष भरी उष्कृष्ट लेख तथा समाचार प्रसारण एवं प्रकाशन गर्ने सञ्चार माध्यम वा सञ्चारकर्मीलाई पुरस्कार प्रदान गर्ने व्यवस्था अनुरुप बराललाई यसवर्षको पुरस्कार प्रदान गरिएको हो ।  बराललाई पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज बरालले  सम्मानपत्र, फाउण्डेशनका अध्यक्ष दीलिपराज श्रेष्ठले नगद १५ हजार १११ रुपैयाँ प्रदान गरेका थिए भने नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले दोसल्ला ओढाएका थिए । यस्तै प्रतिभा छनौट समितिका संयोजक तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति गंगाधर पराजुलीले माला र नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले अबिर लगाएर बराललाई सम्मान गरेका थिए । पोखरा–७ नुवारथोक निवासी बरालले देशान्तर साप्ताहिकबाट पत्रकारिता सुरु गरेर हिमालय टाईम्स, समाधान हुँदै विगत १३ बर्षदेखि अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत रहेका छन् । उनले विशेष गरी वातावरण सम्बन्धी वाईल्ड लाईफ, सिमसार संरक्षण, तालतलैया सम्बन्धी र गिद्ध संरक्षण सम्बन्धी समाचार तथा फोटो पत्रकारिताका साथै सन २००७ देखि फोटो प्रदर्शनी गर्दै आएका उनले फोटो पत्रकारिता पुरस्कार २०६७, डब्लुडब्लु एफ मिडिया कन्जरभेसन अवार्ड–२०१२ लगायतका पुरस्कार प्राप्त गरिसकेका छन् । कार्यक्रममा बोल्दै क्षेत्रीय प्रशासक बरालले पोखरा क्षेत्रको वातावरण संरक्षणका लागि संचारकर्मी र नागरिकका साथै राज्यका निकायहरु सचेत बन्नुपर्नेमा जोड दिए । पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारितामा विशिष्टिकरणको खाँचो औंल्याए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बाबा फाउण्डेशनले प्रजातन्त्रको पक्षमा सक्रिय रहेका आनन्दराज श्रेष्ठको नामबाट पुरस्कार स्थापना गरेकोमा खुशी प्रकट गर्दै पुरस्कारले पत्रकारिता क्षेत्र अझ सशक्त हुने बताए ।  पुरस्कार छनोट समितिका संयोजक एवं नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उप–सभापति गंगाधर पराजुलीले वातावरणको क्षेत्रमा काम गरेका पत्रकारहरु मध्येबाट बराललाई पुरस्कारका लागि छनौट गरिएको भन्दै विभिन्न खाले समस्याबाट पीडित पत्रकारहरुलाई बाबा फाउण्डेशन जस्ता संस्थाले स्थापना गरेको पुरस्कार र सम्मानले थप उत्प्रेरणा जगाउने बताए ।
फाउण्डेशनका अध्यक्ष दीलिपराज श्रेष्ठले संस्थाले बालबालिका र वातावरणका साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि काम गरिरहेको भन्दै विभिन्न शिपमूलक तालिम समेत संस्थाले प्रदान गर्दै आएको बताए।  कार्यक्रममा सम्मानित पत्रकार कृष्णमणि बराल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शुष्मा पौडेल, कास्की शाखा अध्यक्ष रामकृष्ण ज्ञवाली, पोखरा उप–महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेल, नागरिक समाजका अगुवा टेकनाथ बराल, फाउण्डेशन का प्रमुख कार्यकारी अधिकृत अमृता पौडेल, उपाध्यक्ष सरिता ताम्राकार, सचिव टंकराज अधिकारी लगायतले आ–आफ्ना भनाइ राखेका थिए ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति पराजुली संयोजक, कान्तिपुर दैनिकका पोखरा संवाददाता लालप्रसाद शर्मा, संचालक परिवारका सदस्य शर्मिला श्रेष्ठ र बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारी सदस्य रहेको प्रतिभा छनौट समितिले पत्रकार बराललाई सम्मान गर्ने निर्णय गरेको थियो ।




Post a Comment

 
Top