0
नेपालमा बढ्दो जनशक्ति पलायनको जोखिमबारे राज्य नै मौन देखिएको छ । बढ्दो गरिबी, बेरोजगारी र देशको अस्थिर राजनीतिका कारण युवापुस्ता हरेक दिन रोजगार गन्तव्यका लागि विदेसिन बाध्य छन् । राज्यले दक्ष जनशक्ति परिचालन गरेर मुलुकको समृद्धिमा प्रयोग गर्न नसकेकै कारण दैनिक एक हजार ६ सयभन्दा बढीको संख्यामा नागरिक विदेश पलायन भइरहेका छन् । स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोच बोकेका नागरिकको संख्या नगन्य छ । अकासिँदो महँगी, विभिन्न नाममा भइरहने आन्दोलन, बन्द, हड्ताल र बढ्दो अराजकताका कारण आमनागरिक बाँच्नै नसक्ने अवस्थामा पुगिसकेका छन् । एकातिर दिनहुँ जनशक्ति रोजगारीका नाममा बिदेसिएका छन् भने अर्को्तिर जोखिमपूर्ण श्रम गर्नुपरेका नेपालीका हृदयविदारक खबर हामीले सुन्न विवश छौँ । बन्द बाकसमा नेपाली युवाका शव आउनेक्रम पनि जारी नै छ । सरकार र राजनीतिक दलहरुको खिचातानीले गर्दा मुलुक दिन प्रतिदिन धराशायी बन्दै गइरहेको छ । राष्ट्रिय स्वाधीनता, स्वाभिमान र आत्मनिर्भरता खस्कँदो छ । हरेक जिल्लामा नागरिकहरु प्रशासनमा राहदानी बनाउन लामबद्ध भइरहेका छन् । वैदेसिक रोजगार विभागको तथ्याङ्कअनुसार हरेक वर्ष पाँच लाखभन्दा बढी राष्ट्रिय जनशक्ति विदेशमा पलायन भएका छन् । बिदेसिएका युवामध्ये करिब ४० प्रतिशत नागरिक मलेसियामा पुगेको देखिन्छ । हालसम्म वैदेशिक शिक्षा र रोजगारका लागि कति युवा विदेश पलायन भए भन्ने यकिन तथ्याङ्क राज्यसँग छैन । अवैधानिक तवरबाट विदेसिनेको संख्यासमेत जोड्ने हो भने नेपालको जनसंख्याको एक चौथाई जनशक्ति नेपालबाहिर नै रहेको देखिएको छ । करिब साढे तीन करोड जनसंख्या भएको मुलुकमा स्वदेशमा अवसर नपाएर दिनहुँ १६ सयभन्दा बढी दक्ष जनशक्ति प्रवासमा बाहिरिनु विडम्बनाको विषय हो । रेमिट्यान्सले मुलुकको बजेटमा केही हदसम्म टेवा पु¥याएको देखिए पनि त्यसले निम्त्याउने दीर्घकालीन असर भने भयावह हुनेमा कुनै द्विविधा छैन । बढ्दो वैदेशिक पलायनले नेपाली समाजमा निम्त्याएको समस्या पनि विकराल छ । सरकारले एकीकृत समाजलाई विखण्डन होइन, सभ्य र भव्य समाज निर्माणका लागि सीप र क्षमताको स्वदेशमै समुचित प्रयोग गर्न नागरिकलाई प्रोत्साहित गर्नुपर्नेमा त्यो कत्ति पनि हुन सकेको छैन । बढ्दो वैदेशिक रोजगारीका कारण कतिपय गाउँमा पुरूष मलामीसमेत नपाइने अवस्था छ । वैदेशिक रोजगारीकै कारण बढ्दो सम्बन्ध विच्छेद र आपराधिक क्रियाकलापसमेत बढ्दै गएको पाइएको छ । मुलुकको विकासका मेरूदण्ड मानिने युवाशक्तिहरुलाई विदेशी भूमिमा जोखिमपूर्ण श्रममा होइन, मुलुकको विकास निर्माण र समुन्नतिमा लगाउने वातावरण सिर्जना गर्नु जरूरी देखिन्छ ।


Post a Comment

 
Top