0
गोल्डेन न्यूज संवाददाता
पोखराको मूख्य बजारहरुबाट नजिक भएर पनि विकास निमार्णमा पछाडि पारिएको भन्दै लभ्लीडाँडा स्थित आदर्शवस्तीका बासिन्दाले गुनासो गरेका छन्। पोखरा उपमहानगर पालिकाको वडा नं २६ मा पर्ने उक्त वस्ती मुख्य बजारहरु महेन्द्रपुल र चिप्लेढुंगाबाट छोटो दुरीमा पश्चिमतर्फ पर्दछ । नगरबासी तथा अन्य पर्यटकहरुका माझ लभ्लीडाँडाका नामले परिचित सो बस्तीमा खानेपानीको ठूलो अभाव र सडकको पूर्वाधार नाजुक अवस्थामा रहेको स्थानीय बासिन्दाको भनाइ छ । शनिवार आदर्शवस्ती टोल विकास संस्थाको प्रथम साधारण सभामा उपस्थित सर्वसाधरणले नगर क्षेत्र नजिक रहेर पनि विकास पूर्वाधारमा पछाडि पर्नु परेको बताएका हुन् ।  उनीहरुले पोखरा उपमहानगर पालिका र अन्य सरोकारवाला निकायहरुले वस्तीको प्रमूख समस्याका रुपमा रहेको खानेपानी र सडकका समस्याहरु निराकरण गर्न ध्यान दिन आग्रह गरेका छन् । साधारण सभाका प्रमूख अतिथि पोखरा उपमहानगर पालिकाका वरिष्ठ इन्जिनियर शारदा मोहन काफ्लेले सो वस्तीको पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। काफ्लेले विकास योजनाहरु वडा भेलामार्फत अगाडि बढाउन पनि स्थानीय बासिन्दाहरुलाई सुझाव दिएका थिए । त्यसैगरी उपमहानगर पालिका वडा नं २६ का वडा सचिव रुद्र प्रसाद वस्ताकोटीले पनि सो क्षेत्रको विकासका लागि वस्तीका बासिन्दाहरु क्रियाशील हुनु पर्ने बताए । कार्यक्रममा सो टोल विकास संस्थाका सल्लाहकार शिव प्रसाद कोइरालाले वस्तीको खानेपानी समस्या समाधानका लागि स्थानीयदेखि केन्द्रीय तहसम्म पहल गरिए पनि सुनुवाइ हुन नसकेको जानकारी दिए। कोइरालाका अनुसार स्थानीबासिन्दाले खानेपानी आयोजनाका लागि भन्दै प्रारम्भिक सर्वेक्षण प्रतिवेदन समेत तयार पारेका छन् । नगर क्षेत्रभन्दा केही उचाइमा रहेको सो वस्तीको वरपर खानेपानीको मुहान छैन । नजिकमा रहेको पानीकोे स्रोत ढ्वाङको मुहानबाट सो क्षेत्रमा ल्याउन सकिने प्रतिवेदनमा उल्लेख छ । हाल सो मुहानबाट नगरक्षेत्रमा पानी लगिएको छ ।
मर्दिखोलाको पानी नगर क्षेत्रमा विस्तार गरिएकाले पनि सो मुहानको पानी आदर्श वस्तीले उपयोग गर्न पाउनु पर्ने स्थानीयको भनाइ छ । संस्थाका अध्यक्ष गोपाल खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार मोक्षनाथ तिमिल्सिना, उपाध्यक्ष दुर्गादत्त पराजुली, सचिव कमल भण्डारी र सदस्य राधा तिमिल्सिनाले पनि मन्तव्य राखेका थिए । सो साधारणसभाले पुनः गोपाल खड्काको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दुर्गादत्त पराजुली, सचिवमा कमल भण्डारी र कोषाध्यक्षमा हरिकला चालिसे चयन भएका छन् । सदस्यहरुमा सहारा नेपाली, फुलमाया राई, राधा तिमिल्सिना, टिकाराम भूगाई, शिव कुमार पौडेल, आत्माराम सुवेदी र उदयराज अधिकारी तथा सल्लाहकारमा शिवप्रसाद कोइराला, मोक्षनाथ तिमिल्सिना र रुद्रप्रसाद तिमिल्सिना रहेका छन् । साविक सराङ्कोट गाविसको सो वस्ती दुई वर्ष अगाडि उपमहानगर पालिकामा वरपरका गाविसहरु समायोजन गर्ने क्रममा गाभिएको थियो । हाल वस्तीमा डेढ सयभन्दा धेरै घरधुरी रहेका छन् ।


Post a Comment

 
Top