0
सरोज मिश्र
२०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिए । उनले आफ्ना पिताले झैं दलहरूलाई प्रतिबन्धित त गरेना्, बाँकी ठ्याक्कै आफ्ना पिता महेन्द्रको २०१७ को कदमलाई पछ्याए । यहाँसम्म कि उनको घोषणाको मजबुनसमेत धेरै हदसम्म महेन्द्रको सत्र साले घोषणासँग मिल्दोजुल्दो थियो । तर, उनको त्यो कदम १५ महिनामात्र टिक्यो । उनी व्यक्तिगत रूपमा मात्र असफल भएनन्, अन्ततः दुई शताब्दीभन्दा पुरानो राजतन्त्र नै धरासायी हुन पुग्यो । किन त्यस्तो चरम परिणाम आयो ? प्रश्न जति सजिलो छ उत्तर भने सरल नहोला ।
 
कुनै पनि राजनीतिक कदमका पछाडि केही निश्चित आधार वा निक्र्यौल हुन्छन् भने केही उद्देश्य पनि हुन्छ्न् । ज्ञानेन्द्र शाहको उद्देश्य निश्चित रूपमा पूर्ण अधिकार सहितको ‘सम्पूर्ण राजा’ बन्नु नै थियो । ‘म दाजुजस्तो नबोल्ने नसुन्ने राजा हुन चाहन्नँ’ भनेर उनले सार्वजनिक रूपमै भनेका थिए । त्यस्तो राजा बन्ने प्रयासका पछाडि उनको नियत अत्यन्तै राम्रो थियो र उनी जनता र देशको अवस्था सुधार्न चाहन्थे भनेर एकक्षण मानिदिन सकिन्छ । तर, त्यस्तो जोखिमपूर्ण कठोर कदम कुनै आधार वा निक्र्यौलबिना चालिएको थिएन । ती आधारहरूको विश्लेषण गर्ने प्रयास गरौं । उनको पहिलो निक्र्यौल थियो– राजनीतिक दलहरू अत्यन्तै अलोकप्रिय छन् र तिनीहरू जनताबाट टाढिसकेका छन् । माओवादी विद्रोह चरमचुलीमा थियो र मुलुक अस्तव्यस्त अवस्थामा थियो । संसदीय प्रणालीमा सकृय दलहरूबीच मतैक्यता थिएन । जनता आक्रान्त थिए । यी सबै कारणले गर्दा ज्ञानेन्द्रको अनुमान धेरै हदसम्म ठीक थियो । वास्तवमै राजनीतिक दलहरू लोकप्रियताको न्यूनतम बिन्दुमा थिए । तर, योसँगै ज्ञानेन्द्रले एउटा थप निक्र्यौल पनि गरे । त्यो हो–‘राजनीतिक दलहरू अलोकप्रिय भएको हुँदा म स्वतः लोकप्रिय छु ।’ उनको अर्को निक्र्यौल वा अनुमान थियो–त्यसबेलाका संसदीय राजनीतिका प्रमुख खेलाडी गिरिजाप्रसाद कोइराला र विद्रोही माओवादी कुनै पनि हालतमा एकै कित्तामा उभिन सक्दैनन् । 

गिरिजाप्रसाद कोइरालाको विगतलाई हेर्दा यो अनुमान पनि केही हदसम्म ठिक थियो । ज्ञानेन्द्र शाहलाई त्यसबेलाको तीन शक्तिहरू दरबार, संसदीय दलहरू र माओवादीमध्ये दुई शक्ति एकैठाउँमा उभिए भने तेश्रो शक्ति नासिन्छ भन्ने यथार्थको पटक्कै ज्ञान थिएन भनेर विश्वास गर्न मचाहिँ सक्दिनँ । उनको तेश्रो र महत्वपूर्ण निक्र्यौल चाहिँ भारत, युरोप र अमेरिका अर्थात् अन्तर्राष्ट्रिय जगतले माओवादी विद्रोहको कुनै तहको समर्थन गर्न सक्दैन । उनलाई पूरापुर विश्वास थियो माओवादी र उनीमध्ये एक रोज्नुपर्ने अवस्थामा अन्तर्राष्ट्रिय जगतले उनकै साथ दिनेछ । ज्ञानेन्द्र शाहका यी निक्र्यौल वा आधारभूत मान्यताहरू गलत सावित भए । राजनीतिक दलहरूले लोकप्रियता गुमाएको अवस्थामा म स्वतः लोकप्रिय छु भन्ने उनको अनुमान पूरै गलत थियो। दलहरू अलोकप्रिय छन् भन्ने उनको अनुमान धेरै हदसम्म ठिक भए पनि परिणामतः आफू स्वतः लोकप्रिय छु भन्ने उनको निक्र्यौल भयानक ठूलो गलत सम्प्रेषण थियो। नेपालको राज संस्थाको आधार भनेको पढेलेखेका सम्भ्रान्त शहरवासी जनता कहिल्यै थिएनन् । राजसंस्थाको खास आधार धर्मिभरू ग्रामीण जनसंख्या थिए जो राजालाई विष्णुको अवतार मानेर उनले टेकेको जमिनको धुलो निधारमा लगाउँथे । ज्ञानेन्द्र शाहको छवि त्यही जनसंख्याबीच अत्यन्तै धुमिल थियो । म आफू कुनै निर्णय दिइराखेको छैन, तर आम जनताबीच उनको छवि ‘दाइमारा’ को बनेको थियो । त्यसमाथि उनले सक्रिय राजाका रूपमा आफ्नो भत्ता बढाउने र दाजुको नामको सम्पत्ति नामसारी गर्न निक्कै हतार गरे । रहेसहेको कसर उनका सुपुत्र पारसले पूरा गरिदिएका थिए । वास्तवमा ज्ञानेन्द्र शाह नेपाली राजतन्त्रको इतिहासमा सर्वाधिक विवादास्पद, धुमिल छवियुक्त र अलोकप्रिय राजा थिए । अब आऔं उनको दोश्रो आधारभूत अनुमानतर्फ । गिरिजाप्रसाद कोइराला कुनै पनि हालतमा माओवादीसँग नजिकिन सक्दैनन् भन्ने उनको अनुमान सत्यको बहुत नजिक थियो । तर अचम्मलाग्दो कुरो त त्यो असम्भवप्रायः कुरोलाई सम्भव वनाउने कुरो उनी स्वयंले गरे। उनले के बिर्सिए भने बिरालोलाई अँध्यारो कोठामा भित्तैसम्म पुग्ने गरी थुन्यो भने त्यससँग चिथोर्ने वा झम्टिने बाहेकको बिकल्प रहन्न । उनले गिरिजाप्रसाद कोइराला लगायत संसदीय दलहरूलाई भित्तैसम्म पुर्याएको मात्र होइन, भ्रष्टाचार आदि इत्यादि नानाथरी निहुँमा थुनछेक समेत सुरु गरे । तमाम अलोकप्रियताका बाबजुद यी राजनीतिक दलहरूको गाउँगाउँ सम्म फैलिएको सांगठनिक आधार छ भन्ने यिनले पूरै बिर्सिए । असम्भव प्रतीत हुने राजनीतिक दल र विद्रोही माओवादीबीच सामिप्यता बढाउने काममा स्वयं ज्ञानेन्द्रले ठूलो योगदान पु¥याए ! अन्तर्राष्ट्रिय जगत विद्रोही माओवादीको पक्षमा कदापि उभिँदैन र तिनले आफूलाई साथ दिनेछन् भन्ने ज्ञानेन्द्रको आकलनमा पनि दम त थियो तर दोषमुक्त भने थिएन । थेगिनसक्नुको जनआक्रोशका अगाडि इरानका मुहम्मद रजा पहल्बी र फिलिपिन्सका फर्डिनान्ड मार्कोस् जस्ता आफ्ना ‘प्यारो मित्र’ लाई समेत अमेरिकाले एउटा बिन्दूमा पुगेर त्यागेको उदाहरण यिनलाई हेक्का भएन । वैशाख ८ को ज्ञानेन्द्रको घोषणापश्चात् पश्चिमा मुलुकहरूका राजदूतहरूले गिरिजाप्रसादको दैलोसम्म पुगेर उनलाई जोगाइसम्म दिने अन्तिम प्रयास गरेका पनि हुन् ! पश्चिमा सञ्चार जगतकै भाषामा दक्षिण एसियाको सबैभन्दा ठूलो प्रदर्शनका सामु कसैको केही चलेन ।
 
सत्ताच्यूत भएको दश वर्षपछि आज ज्ञानेन्द्र शाहलाई पुनः आशा पलाएको प्रतीत हुन्छ । तर, आज पनि यिनको निष्कर्ष, निक्र्यौल र अनुमानमा त्यही गल्ती रहेको देखिन्छ । राजनीतिक दलहरूको आधार गुमेको र तिनीहरू अलोकप्रिय भएका हुन् त ? यदि हुन् भने पनि राजनीतिक दलको बिकल्पका रुपमा जनता उनलाई स्वीकार्न तयार छ्न् ? यी प्रश्न अनुत्तरित छन् । उनको गुमेको साख अब पुनस्र्थापित भैसकेको छ भन्ने कुनै बलियो आधार छैन । पौष १ का दिन राजा महेन्द्रको सालिक अगाडि जम्मा हुने सय दुई सयको भीड वा असार महिनामा जन्मोत्सवको शुभकामना ‘टक्र्याउन’ पुग्ने एक डेढ हजारको भीड लोकप्रियताको प्रमाण हुन सक्दैन । उनको देवस्थल भ्रमणका अवसरमा जम्मा हुने भीड पनि फगत कौतुहलवश जम्मा भएका हुन् कि उनलाई दलहरूको विकल्पका रूपमा आत्मसात गरेर श्रद्धापूर्वक आएका हुन् खुट्याउनुपर्ने विषय छ । केही चाटुकारहरूले उनलाई ‘सरकार ! जनता आजित भैसके ! सरकारको प्रतिक्षामा छन्’ शैलीका ‘बिन्ती’ चढाउँदा पनि होलान् । जेसुकै भएता पनि अपदस्थ राजसंस्था पुनस्र्थापित गर्न सक्ने जनमत ज्ञानेन्द्रको पक्षमा आइसकेको विश्वास गर्ने पटक्कै आधार छैन । उल्टो, ‘राजा’को ‘एकाधिकार’ क्षेत्रभित्र रहेको भारत बिरोधी ‘राष्ट्रवादी’ भावनालाई समेत ओलीले ‘अपहरण’ गरेर आफ्नो पोल्टामा पारिसकेको अवस्था छ । अर्कोतर्फ, अन्तर्राष्ट्रिय जगतसामु उनले आफूलाई पुनस्र्थापित गरिदिन गर्दै हिँडेको अनुनय विनयले कुनै परिणाम ल्याएको छ वा ल्याउँछ भन्ने अनुमान सम्म गर्ने पनि आधार छैनन् । समग्रमा भन्नुपर्दा ज्ञानेन्द्रको साखमा कुनै सकारात्मक परिवर्तन आएको आभाष हुन्न, बरु गिरेको अनुभव हुन्छ ।







Post a Comment

 
Top