0
के तपाईलार्ई मन पर्ने कथाका लेखकसँग प्रत्यक्ष भेटेर कुरा गर्ने मन छ ? छ भने अब सांगीतिक साँझसहित पोखरामा अवसर जुरेको छ । ‘समर लभ र साया’ जस्ता पुस्तकबाट युवा पुस्तामा लोकप्रिय बनेका लेखक सुविन भट्टराईको पछिल्लो उपन्यास ‘मनसुन’ लाई  पनि पाठकले निकै रुचाएका छन् ।
विशेषत उनको लेखनमा प्रमिल भावमा युवावर्गलाई मज्जैले तान्यो । सोही पुस्तकका लेखक सुविन भट्टराई पोखरेली पाठकसँग साक्षात्कार कार्यक्रममा सहभागी हुने भएका छन् । उनलाई युवामाझ प्रत्यक्ष साक्षात्कार कार्यक्रमको व्यवस्था फ्रिक रिडर्स क्लबले मिलाएको छ । ‘मनसुन साँगीतिक साँझ’ कार्यक्रमको आयोजना गरी युवा पाठकमा लेखकलाई प्रत्यक्ष उभ्याउने तयारी गरेको क्लबका अध्यक्ष अर्जुन गिरीले बताए । पोखराको होटल स्नोल्यान्डमा आयोजना गरिने सांगीतिक साँझ पुस ८ गते साँझ ४ बजेदेखि ९ बजेसम्म हुने उनले बताए । ‘यसअघि साया पुस्तकको बारेमा पनि कार्यक्रम गरेका थियौं,’ उनले भने, ‘मनसुनको लोकप्रियता सँगै युवावर्गलाई सांगीतिक माहोलसँगै किताब पढ्ने बानीको विकास गराउने प्रयत्न गरेका छौं ।’  कहिल्यै किताब नपढेका र पठनमा बानी नभएका युवामा पनि भट्टराईका कृति पढ्ने फेसनै चलेको हुँदा यो कार्यक्रमको आयोजना गरिएको गिरीले जनाए । भट्टराईका कृति नेपाली साहित्यमा पछिल्लो समय सबैभन्दा धेरै संख्याका पाठकले रुचाएका र सबैभन्दा बढी संख्यामा बिक्री भएका छन् । पोखरा र सेरोफेरोका झन्डै ५ सय युवाको सहभागिता हुने अपेक्षा गरिएको छ । कार्यक्रममा ‘बसन एन्ड क्रु’ ब्यान्डको मोलेडियस प्रस्तुति रहनेछ । कार्यक्रम सम्पन्न गर्नको लागि झन्डै २ लाख  खर्च लाग्ने गिरीले जनाए ।




Post a Comment

 
Top