0
गोल्डेन न्यूज संवाददाता
पोखरामा दोश्रो अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव हुने भएको छ । पुस ६ देखि ८ गतेसम्म अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव आयोजना हुन लागेको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पोखरा फिल्म सोसाइटीको आयोजनामा पोखरा सभागृह हलमा महोत्सव गर्न लागेको संयोजक सरोज सापकोटाले जानकारी दिए। महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ५० भन्दा बढी चलचित्रहरूको प्रदर्शनी गरिने छ । महोत्सवकै क्रममा मुख्य कार्यक्रम बाहेक हरेक साँझ पोखरा आसपासका केही प्रमुख स्थानहरूमा खुल्ला रूपमा चलचित्रहरू प्रदर्शनी समेत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवमा नेपाली चलचित्र विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत हुने छ ।  ‘पोखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव’ कार्यक्रम अन्तर्गतनै नेपालका हिमाली जिल्ला र भेगहरू जोमसोम, घान्द्रुक, घले गाउँ र मनाङमा महोत्सवबाट छनौंटमा परेका केही चलचित्रहरूको प्रदर्शनी समेत गरिने भएको छ । चलचित्र महोत्सवमा सहभागिता हुन् अहिलेसम्म १ सय भन्दा बढी देशका ६ सय भन्दा बढी चलचित्रहरूले सहभागिताका लागि आवेदन दिन इच्छा व्यक्त गरेको पत्रकार सम्मेलनमा संयोजक सापकोटाले जानकारी दिए ।  ‘महोत्सवमा हामीले विशेष र हाम्रा विधाहरूसँग मिल्ने ५० भन्दा बढी चलचित्रहरू प्रदर्शनी गर्नेछौं । जसमा वृतचित्र, लघु चलचित्र, कथानक चलचित्र, प्रयोगात्मक चलचित्र, एनिमेशन जस्ता चलचित्रहरू समेटिने छन’–उनको भनाई थियो । पर्वत वा हिमाली क्षेत्र आसपासका संस्कृति, जनजीवन, परम्परा, जैविक विविधता र पर्यावरणको सम्वद्र्धन र प्रवर्धनमा चलचित्रमार्फत जनचेतना अभिवृद्धि गर्न सोही विषयवस्तुमा बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रहरूको प्रदर्शनी गरिनु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।  पर्वतीय क्षेत्र आसपासका मानिसहरूको अधिकार सुनिश्चितता गर्नुमा वकालत गर्नुका साथै यस क्षेत्रमा पर्यटनको प्रवद्र्धनका लागि महोत्सव सहयोगी हुने विश्वास आयोजकले गरेको छ । महोत्सवमा प्रदर्शनी गरिने चलचित्रले मनोरञ्जन प्रदान गर्नुकासाथै समाज रूपान्तरणमा आवश्यक संवादको थालनी गर्न अभिप्रेरित गर्ने विश्वास गरिएको बताइएको छ । सन् २०१४ को डिसेम्बर महिनामा अन्तर्राष्ट्रिय पर्वत संग्रहालय र फिल्म सोसाइटी फेडेरेसन नेपालसँगको सहकार्यमा शुरु भएको यो चलचित्र महोत्सवलाई हरेक बर्ष डिसेम्बर महिनामा महोत्सव गरी निरन्तरता दिने योजना सहित यो बर्ष पनि चलचित्र महोत्सवको आयोजना गर्न लागिएको फिल्म सोसाइटी पोखराका अध्यक्ष घनश्याम लामिछानेले बताए ।







Post a Comment

 
Top