0
गोल्डेन न्यूज संवाददाता
एसओएस बगर भाइखलक भेट्रान फुटवल प्रतियोगिताको तयारी तीब्र पारिएको छ । तयारी संगै प्रतियोगितालाई सहयोग आउने क्रम समेत जारी रहेको बताइन्छ । प्रतियोगितालाई हङकङबाट सुरज गुरुङ (मिकी) बाट प्रथम पुरस्कार प्रायोजन गर्नका लागि ७५ हजार रुपैयाँ सहयोग प्राप्त भएको बगर भाइखलकका अध्यक्ष दिल बहादुर गुरुङले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । उनका अनुसार द्वितीय पुरस्कारका लागि जापानबाट सौगात, प्रकाश, श्री गुरुङ लगायतले ५० हजार रुपैयाँ सहयोग गरेका छन । त्यसैगरी लेखनाथ–२ रिट्ठेपानीका बुद्ध गुरुङले पनि २५ हजार रुपैयाँ सहयोग गरेको अध्यक्ष गुरुङले बताए । यसैगरी पोर्चुगलका कमल गुरुङले एक सय रुपैयाँ युरो, पोर्चुगलबाटै सन्तोष गुरुङले १० हजार, हङकङबाट दिनेश शेरचन (डिसी) ले ५ हजार, नारायण सिंङ थापाले १० हजार, वसन्त गौचन, रमेश गुरुङ र बिनोद गुरुङले जनही ५÷५ हजार रुपैयाँ प्रतियोगिताका लागि सहयोग गरेको उनले बताए । प्रतियोगिताको आर्थिक संकलन संयोजकमा ईश्वर गुरुङ रहेका छन् भने उपसमितिमा धनकुुमार गुरुङ (सन्तोष), (चक्र प्रसाद) खगेन्द्र गौचन, गणेश थापा, राजेश गुरुङ र जोन गुरुङ रहेका छन । आर्थिक संकलन उप–समितिले आर्थिक संकलनलाई तीव्र रुपमा अगाडि बढाएको प्रतियोगिता संयोजक दिलबहादुर गुरुङले बताए । प्रतियोगितामा बगर भाइखलक युकेले सह–प्रायोजक गरी विशेष सहयोग गर्ने भएको छ । प्रतियोगितामा युके निवासी कमल गुरुङ, भानु गुरुङ (थकाली), चन्द्रमान गुरुङले पनि विशेष सहयोग प्रदान गर्ने भएका छन् । यसैबीच प्रतियोगिताको अवसरमा फुटवलमा योगदान दिएवापत पूर्व खेलाडी सम्मान समिति समेत गठन गरिएको छ । दिनेश श्रेष्ठको संयोजकत्वका गठित समितिमा पूर्व राष्ट्रिय खेलकुद परिषद सदस्य जयराम हमाल, कास्की जिल्ला खेलकुद बिकास समिति अध्यक्ष याम गुरुङ, तेक्वान्दो संघ नेपालका केन्द्रीय सल्लाहकार मदन केसी सदस्य रहेका छन् । वि.सं. २०६८ देखि पूर्व खेलाडीलाई सम्मान सुरु गरेको बगर भाइखलकले २०६८ मा स्व. सुकबहादुर गुरुङ र मोतीमान शाक्य, ०६९ मा स्व. शिव शंकर रन्जित, ०७० मा (आनन्द) रन्जित, ०७१ मा शम्भु कार्की र ०७२ मा इन्द्र गौचनलाई सम्मान गरिसकेको छ । प्रतियोगिता पुष ६ गते देखि पुष ९ गते सम्म पोखरा १ बगर स्थित पुरानो टुँडिखेलमा हुनेछ ।

Post a Comment

 
Top