0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले मंगलबार पोखरामा आयोजित दुई छुट्टा–छुट्टै कार्यक्रममा मुलुकको समसामयिक राजनीतिक अवस्था र नेपाली कांग्रेस भित्र देखिएका समस्याका बारेमा कार्यकर्ता र शुभचिन्तकहरु संग खुलेर कुरा गरे । उनले पार्टीका शीर्ष नेताहरु गुटगत स्वार्थमा लागेको भन्दै देश र जनतासंग सम्बन्धित सवालमा गम्भीरता नदेखाएकोमा दुःख प्रकट गरे । उनले नेकपा एमालेले संसद अवरुद्ध गरिरहेको कुराप्रति आपत्ति समेत प्रकट गरे । नेपाली काँग्रेस कास्कीद्वारा मंगलबार पोखरामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले  संसदीय प्रणाली भएका विश्वका अन्य मुलुकमा पनि राजनीतिक दललाई कुनै कुरा चित्त नबुझे १÷२ दिन संसद अवरुद्ध गर्ने प्रचलन देखिएपनि निरन्तर संसद अवरुद्ध गर्ने स्थिति कही नरहेको बताए । उनले नेकपा एमालेको कार्यशैलीप्रति आपत्ति प्रकट गर्दै संसदीय व्यवस्थामा १÷२ दिन संसद अवरुद्ध गरेपनि निरन्तर रुपमा संसद रोक्न नहुने बताए । उनले भने–‘अब करिब १३ महिनाभित्र ३ तहको निर्वाचन सम्पन्न गर्नुपर्ने र संविधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने वाध्यात्मक अवस्था छ तर एमालेले संसद अवरुद्ध गरेर निर्वाचन सम्बन्धी ऐनदेखि अन्य कुरा सबै रोकिएका छन्, जसका कारण मुलुक जटिलतातर्फ जाने सम्भावना छ । नेता कोइरालाले संविधान कार्यान्वयन नहोस् र देशमा स्थिरता नहोस् भनेर देशी विदेशी शक्तिले प्रयास गरिरहेको अवस्थामा एमालेको संसद अवरोध, पूर्व राजा ज्ञानेन्द्रको विदेश भ्रमण, वुटवलमा २५ हजार भारतीय पूर्व गोर्खा सैनिकहरु संविधान संशोधन विरुद्धको आन्दोलमा सहभागी भएको जस्ता कुराले महत्व राख्ने बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद समेत रहेका कोइरालाले संसदीय सर्वोच्चताका साथै संसदीय अराजकता समेत बढ्दै गएको स्पष्ट पारे । १४९ जना सांसदले हस्ताक्षर गरे जो कोहीलाई पनि कार्वाहीको माग हुने र कार्वाही नभए निलम्वनमात्र भएपनि गर्न सकिने व्यवस्थाले संसदीय अराजकता बढाएको उनको टिप्पणी थियो ।
 
सरकारले कर्मचारीहरुको तलव २५ प्रतिशत वृद्धि गरेपछि मुख्य सचिवको भन्दा बढी तलव सांसदको हुनुपर्ने आवाज उठेको स्पष्ट पार्दै उनले २० वर्ष अघिको सेवा सुविधा वृद्धि गर्दासमेत आलोचना बढेको भनि उनले गुनासो गरे । ‘घर भाडाका लागि ६ हजार पाँच सय रुपैयाँले खोर समेत पाइँदैन, १५० रुपैयाँ बैठक भत्ता र ३०० रुपैयाँ पत्रिका खर्च भनेर लिनु पनि लाजमर्दो भएकोले सांसदको सुविधा बढाउनुपरेको हो । तर यसरी सुविधा वृद्धि गर्दा आयोग तथा अन्य समिति बनाएर बढाएको भएराम्रो हुन्थ्यो । त्यसो नगर्दा हामी सांसदहरु नै अराजक भएको स्पष्ट भयो’–उनले भने । नेता कोइरालाले आफू पार्टीको केन्द्रीय सदस्य भएपनि पार्टीको केन्द्रीय समितिको बैठक नबस्नु र पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलालाई स्वार्थीहरुको झुण्ड चाहिएका कारण पार्टीमा गुटवन्दी बढ्दै गएको स्पष्ट पारे । उनले पार्टी कार्यकर्ताले कुन गुटको पुच्छर समातेर वैतर्नी पार गर्ने प्रश्न गर्ने गरेको कुराको चर्चा गर्दै कांग्रेस एक ढिक्का भएर अघि बढ्न नसक्ने हो भने र व्यक्तिवादी स्वार्थ कायम रहेमा कांग्रेस कमजोर हुँदै जाने समेत स्पष्ट पारे ।
 
यसैगरी प्रजातन्त्र संवद्र्धन केन्द्र नेपालले पोखरामा आयोजना गरेको लोकतन्त्रको संवद्र्धन र संरक्षणका चुनौतिहरु विषयक कार्यक्रममा बोल्दै कांग्रेस नेता कोइरालाले वर्तमान समयमा विश्वका कतिपय मुलुकमा उग्र राष्ट्रवादको प्रभाव बढ्दै गएको बताए । यसै सन्दर्भमा उनले भने–‘रुस, चीन, फ्रान्स र अमेरिकामा समेत उग्रराष्ट्रवादको प्रभाव देखिएको र नेपालमा पनि केपी ओलीको उग्रराष्ट्रवादको विषयलाई लिएर विभिन्न चर्चा हुने गरेका छन् । उग्रराष्ट्रवादले मुलुकलाई कति घात गर्छ भन्ने  वास्तविकता केही समयमा आफै छर्लङ्ग हुन्छ।’ उनले नेपालमा केही विदेशी शक्तिका कारण संविधानको कार्यान्वयमा जटिलता देखिएको र राष्ट्रियता कमजोर हुँदै गएको भन्दै मधेशलाई हेर्ने दृष्टिकोणमा परिवर्तन अपरिहार्य रहेको स्पष्ट पारे । नेता कोइरालाले कांग्रेसमा आन्तरिक प्रजातन्त्र कमजोर भएकाले नै विभिन्न गुट समातेर बस्ने प्रवृत्ति नेताहरुमा देखिएको भन्दै यहि अवस्था कायम रहेमा कांग्रेस कमजोर हुँदै जाने स्पष्ट पारे । कास्की कांग्रेसको कार्यालयमा आयोजित कार्यक्रममा सांसद यज्ञबहादुर थापा र बृन्दा रानाले देशलाई समस्याबाट निकास दिनु काँग्रेसको दायित्व भएको बताएका थिए । कास्की कांग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन र प्रतिस्पर्धी दलहरुले गरेका भ्रामक प्रचारलाई चिर्न आवश्यक रहेको बताए । कार्यक्रममा पार्टीका विभिन्न तहका कार्यकर्ताहरुले आ–आफ्नो जिज्ञाशा एवं गुनासो राखेका थिए ।
 
प्रजातन्त्र संवद्र्धन केन्द्र नेपालले पोखरामा आयोजना गरेका ेकार्यक्रममा सांसद यज्ञबहादुर थापा, शारदा पौडेल लगायतले संविधानको कार्यान्वयन वर्तमान आवश्यकता भएपनि चुनौतिहरु विद्यमान रहेको बताएका थिए ।नेपाल पत्रकार महासंघका पूर्व सभापति धर्मेन्द्र झाले कांग्रेसमा विचारमा शून्यता आएको, विद्वान र वुद्धिजीविहरुलाई उपेक्षा गर्ने गरिएको र मधेश आन्दोलनमा ५६ जनाको मृत्यु हुँदा समेत कांग्रेसले आफ्नो आवाज सार्वजनिक नगरेको भन्दै गुनासो गरे । उनले नेपालको संविधानमा व्यक्तिगत स्वतन्त्रताको अधिकारलाई कुण्ठित गरिएको र लोकतन्त्र प्रवद्र्धन गर्ने कुनै नीति नरहेको बताए । कार्यक्रममा प्रजातन्त्र संवद्र्धन केन्द्रका केन्द्रीय सदस्य डा. कुशुमाकर न्यौपाने, डा. वेदनाथ शर्मा, प्राध्यापक दीपेन्द्र पराजुली, डा. तरुणकान्त झा, डा. रामचन्द्र पोखरेल, अधिवक्ता दयाराम गौतम, प्राध्यापक कमल पौडेल र गणेश न्यौपाने, अधिवक्ता विनिता नेपाली, शिव केसी, अर्जुन गौतम, प्राध्यापक ऋषि बुढाथोकी, पत्रकार गंगाधर पराजुली, डा. रामरिझन यादव, कमल सापकोटा, विश्वमोहन अधिकारी, यादव अधिकारी लगायतले लोकतन्त्रको सुदृढिकरण र संवद्र्धनका बारेमा चर्चा गरेका थिए ।







Post a Comment

 
Top