0
गोल्डेन न्यूज संवाददाता
सय बढी सन्तानकी आमा भीमला ज्ञवालीको १०४ वर्षको उमेरमा बिहीबार निधन भएको छ । गुल्मी जिल्ला रुरु गाविस वडा नंं ३, च्यूरेककी भीमलाको आफ्नै निवासमा बिहीबार दिउँसो १२ बजेर ३८ मिनेटमा निधन भएको उनका नाति उपज ज्ञवालीले जानकारी दिए । दीर्घजीवन बाँचेकी ज्ञवाली जिल्लाकै सबैभन्दा पाको उमेरकी हुन् । बोल्दा–बोल्दै देह त्याग गरेकी उनको बिहीबार नै पवित्र धार्मिकस्थल रिडी, कालीगण्डकी किनारमा अन्त्येष्टी गरिएको छ । शवमा कान्छो छोरा परमानन्दले दागबत्ती दिएका थिए । गुल्मीकै सिमीचौरमा बाबु कलाधर र आमा देवकला गौतमबाट ज्येष्ठ सन्तानको रुपमा भीमलाको जन्म वि.सं. १९७० बैशाखमा भएको हो । नेपाली नागरिकतामा उनको जन्ममिति वि.सं. १९७० बैशाख १५ उल्लेख छ । उनले २०७० सालको मातातीर्थ औंसीका दिन १ सय ६ जना सन्तानको साथमा जन्मदिनको सत्वार्षिकी मनाएकी थिइन् । ज्ञवाली दम्पत्तिका पाँच बहिनी छोरी र दुई भाइ छोराको हाँगोबाट फैलिएका नाति, नातिनी, पनाति, पनातिनी, खनाति र खनातिनी गरी हालसम्म करिब १ सय १५ जना सन्तान छन् । उनको जेठो छोरा मुमेश्वरको गत वर्ष र जेठी छोरीको २ वर्षअघि निधन भएको थियोे । भीमलाका भाइ टीकारामले पनि दीर्घजीवन बाँचेका थिए । ५ वर्षअघि ९७ वर्षको उमेरमा टीकारामको निधन भएको थियो । ७६ वर्षीया एक बहिनी मानकुमारी जीवित छन् । ६ वर्षको कलिलै उमेरमा उनको विवाह जयनीधि ज्ञवालीसँग भएको थियो । आफू ४२ वर्षको हुँदा वि.सं.२०१२ मा पति वियोग झेलेकी उनी कान्छो छोरा परमानन्दसँग बस्दै आएकी थिइन् । बुढ्यौलीमा पनि उचित स्याहारसुहार, खानपीन एवं सरल तथा शान्त स्वभावले भीमला दीर्घजीवी भएको आफन्त बताउँछन् । पछिल्लो समय आँखाको दृष्टि केही कमजोर रहे पनि उनका कुनै पनि रोग नभएको कान्छी बुहारी उषा सम्झिन्छिन् । उनको सरल स्वभाव र सरल दिनचर्या एवं सकारात्मक सोचाइ सबैको लागि अनुकरणीय रहेको नाति हरि ज्ञवालीले बताए ।

Post a Comment

 
Top