0
गोल्डेन न्यूज संवाददाता
गुरुङ (लामा) बौद्ध धर्म समाजको दोस्रो राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । पोखराको बौद्ध अर्घौँ सदनमा पुसको २ गतेदेखि ४ गतेसम्म सम्मेलन हुने आयोजकले आईतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । यसअघि पहिलो राष्ट्रिय सम्मेलन काठमाडौंको सुकेधारास्थित नवबुद्ध गुरुङ सेवा समितिको परिसरमा भएको थियो । सम्मेलनको क्रममा गुरुङ समुदायमा रहेको विवादित रुपमा रहेको विभिन्न कर्मकाण्डिय सँस्कारलाई मिलाउन बृहत छलफल गरिने समाजका केन्द्रीय अध्यक्ष आचार्य हिर लामाले बताए । ‘कर्मकाण्डको हिसाबले गुरुङ समुदायमा लामो समय यता विवाद रहेको छ ।’ उनले भने–‘यो सम्मेलनले कर्मकाण्डिय विधिमा एकरुपता ल्याउन प्रयत्न गर्नेछ ।’ हिन्दु ज्योतिषको प्रभाव बढ्दै जाँदा विश्वविद्यालयबाट पढेर आएका लामाहरुले समेत आफ्नो अस्तित्व देखाउन नपाईरहेको भन्दै यो विषयमा पनि सम्मेलनको क्रममा गम्भीर छलफल हुने उनले बताए ।
पोखरामा हुने तीन दिने यो सम्मेलनमा नेपालका विभिन्न स्थानसँगै भारतको सिक्किम, दार्जिलिङ, आसाम, देहरादुन लगाएतका स्थानबाट गुरुङ लामाहरुले सहभागिता जनाउँदै छन् । गुरुङ समुदायभित्र रहेका ९ सय भन्दा बढि गुरुङ लामाहरुको सहभागिता यो सम्मेलनमा हुनेछ । त्यस्तै अवतारी लामा रिम्पोछेको पनि यो सम्मेलनमा विशेष सहभागिता रहनेछ । कार्यक्रमलाई श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनको क्रममा शान्तिपूर्ण पदयात्रा, बज्र नृत्य, पूजापाठ र प्रवचन पनि दिईने सम्मेलनका प्रचार–प्रसार सँयोजक अमृत गुरुङ (लामा) ले जानकारी दिए । त्यो सँगै अन्तिम दिन पुसको ४ गते संस्थाको पहिलो अधिवेशन हुनेछ । जसले नयाँ कार्यसमिति चयन गर्नेछ । पूजापाठको क्रममा भक्तजनहरुबाट दिईने दानबाटै सम्मेलनको खर्च धान्ने आयोजकको लक्ष्य छ । दानबाट आएको रकमबाट खर्च कटाएर संस्थाले आफ्नै भवन निर्माणका लागि कोष खडा गर्ने योजना बनाएको छ । त्यस्तै गुरुङ लामाहरुको मातहतमा रहेका नेपालका करिब ७५ भन्दा बढि गुम्बाहरुको उचित व्यवस्थापन र लोपोन्मुख लामा ग्रन्थको संकलनका लागि पनि रकम छुट्टाईने आयोजकले बताएको छ । गुरुङ समुदायमा लामा परम्परा करिब १ हजार वर्ष भन्दा पुरानो छ ।

Post a Comment

 
Top