0
नारच्याङ गाविस–४ का रेशबहादुर तिलिजा गाउँमै रोजगारी पाएकोमा मख्ख छन् । घरखर्च जुटाउन लामो समय वैदेशिक रोजगारीको सिलसिलामा खाडीमुलुक पुगेका तिलिजा अहिले नारच्याङमै निर्माणाधीन पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनामा काम गर्दै आएका छन् ।
गाउँमा जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम सुरु भएर रोजगारीको अवसर सिर्जना भएपछि वैदेशिक रोजगारीलाई त्यागेर उनी आयोजनामा काम गर्न थालेका हुन्। तिलिजाजस्तै १० वर्षसम्म कतारमा मजदुरी गरी फर्किएर घलेम्दी जलविद्युत् आयोजनामै आबद्ध भएका नारच्याङ–५ का नीरबहादुर थजालीले पनि गाउँमै रोजगारी पाएका छन् । गाउँमै जलविद्युत् आयोजनामा काम गरी घरखर्च जुटाउन पाउँदा आफूलाई सन्तुष्टि मिलेको उनी बताउछन्। आयोजनाको काम सुरु भएसँगै गाउँमा सडकलगायतका पूर्वाधार पनि तयार भएका छन् । ‘घलेम्दी हाइड्रो लिमिटेड’ले निर्माण गर्न लागेकोे घलेम्दीखोला जलविद्युत् आयोजनामा अहिले करिब ९० जनाले रोजगारी पाएका छन् । अन्नपूर्ण हिमालको फेदी हुँदै बग्ने घलेम्दीखोला जलविद्युत् आयोजनाको सुरुङ मार्ग, बाँध निर्माणलगायतको पूर्वाधार निर्माण काममा करिब २०० जना मजदुर परिचालन भएका छन् ।  आयोजनाको लागि आवश्यक पर्ने जनशक्ति स्थानीय स्तरमा उपलब्ध भएकाले उनीहरूलाई नै अवसर दिएको घलेम्दी हाइडूो लिमिटेडका कम्पनी सचिव विमल रिजालले बताए । जिल्लाकै व्यवसायी र अगुवाको नेतृत्वमा निर्माण सुरु भएको सो आयोजनाले स्थानीयलाई रोजगारीसँगै लगानीको समेत अवसर प्रदान गरेको छ । नारच्याङका अधिकांशले उक्त आयोजनामा सेयर लगानी गरेका छन् । सो गाविसबाट करिब एक करोड रुपैयाँ लगानी भएको रिजाल बताउछन्। नारच्याङ जलसरोकार समितिका सदस्य तेज गुरुङ रोजगारीको लागि खाडीमुलुक जाने युवा अहिले आयोजनामै आबद्ध भएका बताउछन्। नारच्याङमा घलेम्दीसँगै ‘रोवस्ट इनर्जी कम्पनी’ले ४२ मेगावाट क्षमताको मिरिस्तीखोला जलविद्युत् आयोजना समेत निर्माण सुरु गरेको छ । नारच्याङमा घलेम्दीखोला र मिरिस्तीखोला आयोजनासहित १० वटा जलविद्युत् आयोजना दर्ता भएका छन् । नारच्याङमा विसं २०४३ मा निर्माण सुरु भएर २०४४ देखि विद्युत् वितरण थालेको दुई मेगावाट क्षमताको तातोपानी जलविद्युत् आयोजनाले जिल्लामै जलविद्युत्को सम्भावनाको ढोका खोलेको थियो । अहिले गाउँमा भित्रिएका जलविद्युत् अयोजना निर्माण चरणमा प्रवेश गरेसँगै नारच्याङ ‘हाइड्रो भिलेज’ मा परिणत भएको छ । रासस

Post a Comment

 
Top