0
गोल्डेन न्यूज संवाददाता
सत्तारुढ कांग्रेस–माओवादी केन्द्र र मधेसी मोर्चाबीच स्थानीय निर्वाचनको मिति घोषणा गर्ने विषयले तिक्तता बढेको छ । सत्तारुढ दलहरुले संविधान संशोधन प्रस्ताव जस्ताको तस्तै अघि बढाउन तथा स्थानीय चुनाव घोषणा गर्ने सहमति दिन मोर्चा नेतालाई आग्रह गरेपछि बैठक तनावपूर्ण भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपराह्न साढे तीन घण्टा चलेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षी एमालेको अवरोधका कारण संसद चल्न नसकिरहेको हुनाले कांग्रेस, माओवादी र मधेसी मोर्चाले पेलेरै संशोधन प्रस्ताव अघि बढाउनुपर्ने प्रस्ताव गरेका थिए। उनको भनाइमा सहमति जनाउदै कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान जारी गर्दा पनि सर्वसम्मति जुट्न नसकेकाले अब संशोधन प्रस्ताव अघि बढाउन पनि उही शैली अपनाउनुपर्ने बताए ।
‘एमालेले न्यूनतम संसदीय अभ्यासको पनि ख्याल गरेन, अब तपाई हामी मिलेर यसलाई लैजानुपर्रुयो,’ अरु बेला कम बोल्ने गरेका देउवाले सुरुदेखि अन्त्यसम्म बैठकमा हावी हुँदै भने, ‘अब जसरी पनि ढिला नगरी स्थानीय चुनाव घोषणा गरिहाल्नुपर्छ ।’ दाहाल र देउवा बोलिसकेपछि तमलोपा अध्यक्ष महन्थ ठाकुरले मोर्चासग छलफल गर्नु नपर्ने विषयहरु सुनाउन बोलाउने गरेको भनी कडकिए । ‘९० प्रतिशतले संविधान बनाउनुभयो, अब कार्यान्वयन गर्न हामी १० प्रतिशत किन चाहियो ?’ उनलाई उद्धृत गर्दै मोर्चाका एक उच्च नेताले भने, ‘जे योजना बनाएर आज बैठक राख्नुभएको छ, त्यही अनुसार अघि बढ्नुस् । हामी संविधान संशोधन नगरी निर्वाचन घोषणा गर्ने कुरामा सहमत हुन सक्दैनौं ।’ वार्तामा प्रायः अनुपस्थित हुने गरेका संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरी कुनै पनि सरकारी कदम लागू हुन नदिने चेतावनी दिए । ‘सहमतिमा संशोधन हुन्छ भने हामी पनि चुनावमा जान्छौं, त्यसपछि तीनवटै चुनाव एकैचोटि गरे पनि हुन्छ,’ यादवले भने, ‘हामीले यो संविधान नै मानेका छैनौं भने यसको आधारमा हुने चुनाव किन मान्ने ?’

Post a Comment

 
Top