0
गोल्डेन न्यूज संवाददाता
कास्कीको पर्यटकीय स्थल पुम्दीकोटमा १०८ फिटको महादेवको मूर्ति स्थापनाका लागि पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण समितिले वीरगंजमा अन्तरक्रिया गरेको छ । वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा शुक्रबार आयोजित छलफल एवम् अन्तरकृयामा वक्ताहरूले धार्मिक पर्यटनको पर्याप्त सम्भावना बोकेको पुम्दीकोटमा विशाल महादेवको मूर्ति निर्माण गरिनुले पोखरा आउने पर्यटकको बसाइलाई थप लम्ब्याउन सहयोग पुग्ने बताए ।  अभियानका सम्बन्धमा जानकारी दिदै पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण समितिका संयोजक चन्द्रकान्त बरालले पोखरा सहित माछापुच्छ«े, अन्नपूर्ण लगायतका हिम श्रृङ्खलाको एकसाथ अवलोकन गर्न सकिने पुम्दीकोट आँफैमा धेरै पर्यटकीय सम्भाव्यता बोकेको क्षेत्र भएको बताए । उनले विशाल महादेवको मूर्ति निर्माण अभियानलाई साकार पारेमा यसले समग्र नेपालकै पर्यटनमा टेवा पुग्ने बताउँदै यस अभियानमा नेपालकै औद्योगिक शहरका रुपमा ख्यातिप्राप्त वीरगंजको महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले पुम्दीकोटलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने सोचका साथ सुरु अभियानका लागि वीरगंजसँगको आपसी सम्बन्ध थप प्रगाढ बनाउँदै सहयोगमा ऐक्यवद्धता गर्ने सोच पोखरा र बीरगंज दुबैका लागि फलदायी बन्ने उल्लेख गरे । अन्तरक्रियाका सभापति एवं वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिपकुमार केडियाले पर्यटकीय नगरी पोखराको नजिकैको पुम्दीकोटमा निर्माण गर्ने लक्ष्य राखिएको विशाल महादेवको मूर्ति लगायतका संरचना निर्माणले यस क्षेत्रको पर्यटनलाई थप सहयोग गर्ने बताए। पोखरा र वीरगंजबीच विगत लामो समयदेखि औद्योगिक सम्बन्ध रहेको चर्चा गर्दै उनले निर्माणाधिन विशाल महादेवको मूर्ति लगायतका संरचना निर्माणका लागि वीरगंज वासीका तर्फबाट सक्दो सहयोग गर्ने बताए। रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले पर्याप्त सम्भावना बोकेको पुम्दीकोटको सम्भावनालाई उजागर गर्न निर्माणाधिन विशाल महादेवको मूर्ति बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे । वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व सभासद् ओमप्रकाश शर्माले लगभग आधा अर्बको बजेट लाग्ने संरचना निर्माणका लागि जनस्तरबाट गरिएको प्रयास सह्रानीय भएको बताउँदै निर्माण अभियानका लागि वीरगंजका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुलाल चाचन, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य विजय सरावरी, बरिष्ठ उद्योग व्यवसायी जगदीश अग्रवाल, मधु राणा, कर्णेल नारायण थापा, बरिष्ठ घरेलु अधिकृत थमनसिंह थापा लगायतले अभियानको सफलताको शुभकामना व्यक्त गरे । मूर्ति निर्माण अभियानको सफलताका लागि वीरगंजबाट सहयोग जुटाउन वरिष्ठ उद्योगपति एवं समाजसेवी मुरलीधर रुंगटाको संयोजकत्वमा एक समिति समेत गठन गरिएको छ । महादेव मूर्ति सहितका संरचना निमार्णका लागि छ वर्ष अघि २० करोड भन्दा बढी लागत स्टिमेट गरिए पनि पछिल्ला वर्षमा बढीरहेको मूल्य बृद्धि आदिका कारण लागत बढ्ने अनुमान गरिएको छ ।  वीरगंजका उद्योग व्यवसायीबीच छलफल एवम् अन्तरकृयाका लागि मूर्ति निर्माण समितिका संयोजक चन्द्रकान्त बरालको नेतृत्वमा शिबकुमार पौडेल, मातृका बराल, सञ्चारकर्मी माधव रेग्मी सहितको टोली विहीबार वीरगंज पुगेको थियो ।








Post a Comment

 
Top