0
गोल्डेन न्यूज संवाददाता
नेपाल अर्वुद रोग निवारण संस्था कास्कीले वेलायतमा रहेको संस्था माया आउटरिचसंग सहकार्य गरेर पोखरामा मुखको क्यान्सर सम्बन्धी निःशुल्क परीक्षण कार्यक्रम शनिबार सम्पन्न ग¥यो । पोखराको न्यूरोड स्थित पोखरा क्यान्सर केयर सेन्टरमा संचालन गरिएको परीक्षणमा १२५ जनाले मुखको परीक्षण गराएका थिए। कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका डा. दीलिप महर्जन र डा. उज्वल चालिसे, गण्डकी मेडिकल कलेज पोखराका डा. दीपेन्द्र श्रेष्ठ, मणिपाल शिक्षण अस्पतालका डा. ऋषि शेरचन र डेन्टल सर्जन उमेश पराजुली सहितको टोलीले स्वास्थ्य परीक्षण गरेको माया आउटरिचकी संस्थापक कान्ति गुरुङ श्रेष्ठले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिइन । मुखको क्यान्सरबाट ओठ, गिजा, तालु, ¥याल ग्रन्थी, टन्सिल, मुखको तल्लो सतह र गालाको भित्रि सतहहरु प्रभावित हुने भएकाले आम नागरिकले यसबारे जानकार छैनन । जसका कारण दक्षिण एशियाली मुलुकमा बढी देखिने गरेको मुखको क्यान्सर नेपालमा क्रमशः बढ्दै गएको पाइएको छ । मुखको क्यान्सरमध्ये ओठमा हुने क्यान्सर साधारण घाउका रुपमा शुरु हुने र लामो समयसम्म रहिरहने गर्दछ भने जिब्रोमा हुने क्यान्सर शुरुमा जिब्रोमा केही समस्या या चस्केको, टोकेको जस्तो अनुभव हुने र पछि जिब्रो सुनिने र घाउ बढ्ने हुन्छ । मुखभित्र क्यान्सर हुँदा सास गनाउने, घाँटीमामा अप्ठ्यारो र दुःख्ने र खाना निल्न अप्ठ्यारो हुने समेत गर्दछ । मुखभित्र सेतो जा रातो दाग, गालाको भित्र भाग जिव्रो वा गिजामा कुनै घाउ खटिरा वा मासु बढेको भए छिट्टै उपचार गर्नुपर्ने र समयमै उपचार भए मुखको क्यान्सर पूर्ण रुपमा निको हुने स्वास्थ्य कर्मी बताउँछन् ।
आम नागरिकलाई मुखको क्यान्सरका बारेमा सचेतना जोगाउने र मुखको क्यान्सरबाट प्रभावित भएकाहरुलाई सहज उपचारको व्यवस्था गर्ने उद्देश्यले माया आउटरिचले कार्यक्रमको आयोजना गरेको गुरुङले बताइन । शिविरको शुभारम्भका अवसरमा नेपाल अर्वुद रोग निवारण संस्था कास्कीका निवर्तमान अध्यक्ष एवं कार्यक्रम संयोजक दिनेश शंकर पालिखे, कास्की शाखाका अध्यक्ष रामप्रसाद वस्ताकोटी माया आउटरिचका संस्थापक कान्ति गुरुङ श्रेष्ठ, पोखरा क्यान्सर केयर सेन्टरका प्रवन्ध निर्देशक उत्तम चालिसे, अर्वुद रोग निवारण संस्थाका सचिव शान्ताकुमार श्रेष्ठ लगायतले कार्यक्रमको महत्वका बारेमा प्रकाश पारेका थिए ।

Post a Comment

 
Top