
पोखरामा रहेका धादिङवासीहरु व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्नुपर्ने र सामाजिक संस्थामा काम गर्नेहरु राजनीतिक आस्था भन्दा माथि उठ्नुपर्नेमा पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । धादिङवासीमाथि हेरिने नकारात्मक दृष्टिकोण र आइपर्ने आइपर्ने सबै समस्या समाधान गर्नका लागि धादिङवासी एकजुट हुनुपर्ने खाँचो उनीहरुले औंल्याए ।
धादिङ–पोखरा सम्पर्क समाजद्वारा आयोजित निवर्तमान कार्यसमितिको बिदाइ, नयाँ पदाधिकारीको पदस्थापन तथा एम्वुलेन्स खरिद सहयोगार्थ भेटघाट कार्यक्रममा बोल्ने वक्ताहरुले समाजमा राजनीतिक पूर्वाग्रही नराख्न समेत आग्रह गरे ।
कार्यक्रमको उद्घाटन गर्दै रिपाटर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलाले जिल्लाका राजनीति दलका नेताहरुले पोखरामा रहेका धादिङवासीलाई वेवास्ता गर्न नहुने बताए । उनले धादिङमा चुनाव जित्ने आधार पोखरामा रहेका धादिङवासी भएकाले पोखरामा रहेका धादिङवासीको पनि मन जित्नुपर्ने खाँचो औंल्याए । पोखरामा धादिङ्गेहरुलाई सौताको छोराको व्यवहार नदेखाउन आग्रह गर्दै उनले भने-‘पोखरामा रहेकाहरु पनि धादिङवासी हुन्, कामको शिलशिला या दुःख पाएर पोखरा आएका हुन् । त्यसैले नेताहरु तथा सामाजिक अगुवाहरुले जिल्लामा रहेका जिल्लावासीलाई जस्तै माया गर्नुपर्छ, दुःख, पीर मर्कामा साथ दिनुपर्छ ।’
धादिङ समाजले एम्वुलेन्स खरिद गर्न लागेको प्रसङ्ग कोट्याउदै कार्यक्रमका प्रमुख अतिथि धमलाले समाजको यो रचनात्मक अभियानमा आफ्नो सक्दो सहयोग रहने प्रतिवद्धता जनाए । एम्वुलेन्स बारे धादिङवासीलाई आश्वास्त पार्दै उनले भने–‘तपाइँहरु ढुक्क हुनुहोस्, एम्वुलेन्स आउँछ–आउँछ, तपाइँहरु को यो सपना मेरो पनि हो, सपना अवश्य साकार हुन्छ।’
मुलुकमा राजनीतिक क्रान्ति सकिएको भन्दै धमलाले अब आर्थिक क्रान्ति गर्नुपर्नेमा जोड दिए । उनले आफूले अबको बहस राजनीतिक भन्दा आर्थिकमा केन्द्रित गर्ने समेत स्पष्ट पार्दै राजनीतिक दल तथा नेताहरुले फिस्टोको जस्तो छाती नबनाई राष्ट्रहितमा अग्रसर हुनुपर्ने खाचो औंल्याए ।

नेपाली कांग्रेस धादिङका सचिव विनोद तिमिल्सिनाले पोखरामा रहेका धादिङवासीको हक हित र संरक्षणमा नेपाली कांग्रेसको सक्दो सहयोग रहने स्पष्ट पारे । उनले भने–‘पोखरामा रहनुभएका तपाइँ धादिङवासीहरु ढुक्क हुनुहोस्, तपाइँको पीर मर्का सुन्न नेपाली कांग्रेस साथमा छ।’
उनले समाजले संचालन गरेको एम्वुलेन्स संचालन अभियानका लागि २५ हजार १०० रुपैयाँ सहयोगको घोषणा समेत गरे ।
नेकपा माओवादी केन्द्र धादिङका सह–संयोजक मनराज भण्डारीले पोखरामा रहेका धादिङवासीहरु एक भइ आवाज उठाउने हो भने जिल्लामा ठूला–ठूला विकास निर्माणका योजना अघि बढ्ने स्पष्ट पारे । उनले धादिङ समाजको एम्वुलेन्स खरिदका लागि माओवादी केन्द्र धादिङको तर्फबाट २० हजार २०५ सहयोगको घोषणा गरे ।
कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रीय सदस्य शोमती तमु, नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य रिम बस्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्ट, नेपाली कांग्रेस धादिङका सदस्य नवराज तिमिल्सिना, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य रामप्रसाद अधिकारी, नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क सदनका सभापति केदार धमला, माओवादी केन्द्र धादिङ–पोखरा समन्वयका अध्यक्ष रेशम सिंखडा लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
समाजका अध्यक्ष युवराज खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा समाजका संस्थापक अध्यक्ष नवराज दुवाडी, पूर्व अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, संस्थापक सचिव रामकृष्ण दुवाडी, समाजका वरिष्ठ उपाध्यक्ष सुदर्शन बसौला, महासचिव हरि पन्त कार्यक्रम संयोजक युगमराज अगस्ती लगायतले संस्थाको गतिविधिमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा समाजको एम्वुलेन्स खरिद सहयोगार्थ अभियानमा सहयोग पुर्याउनेलाई सम्मान गरिएको थियो ।

Post a Comment