0
गोल्डेन न्यूज संवाददाता
मुक्तक मञ्च पोखराले शनिबार मुक्तक र मिडिया विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । हरेक महिनाको अन्तिम शनिबार नियमित मुक्तक वाचनको श्रृङ्खला सञ्चालन गर्दै आएकोे मुक्तक मञ्चले शनिबार नियमित मुक्तक वाचनसँगै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा ‘मुक्तक र मिडिया’ विषयक कार्यपत्र प्रस्तुत गर्दै मञ्चका पूर्व अध्यक्ष सञ्जिव पौडेलले पोखरेली मुक्तक र मिडियाको सम्वन्ध सुधारोन्मुख रहेको उल्लेख गरे । सन्तुष्ट भइहाल्ने ठाउँ नभएपनि पोखरेली मिडियाले यहाँको मुक्तक विकास र उत्थानमा खेलेको भूमिका सह्रानीय रहेको उनको धारणा थियो ।  पौडेलले केही मिडियाहरुले गैरमुक्तकलाई समेत मुक्तक भनि प्रसारित÷प्रकाशित गर्ने गरेको पाइएको बताउँदै त्यसतर्फ सचेत हुन पोखरेली मिडियाकर्मीलाई अनुरोध गरे । कार्यपत्रमाथि छापा संचार माध्यमबाट पत्रकार कृष्ण वास्तोला तथा विद्युतीय सञ्चार माध्यमका तर्फबाट मन क्षत्रीले टिप्पणी राखेका थिए । टिप्पणीका क्रममा बास्तोलाले मुक्तक प्रकाशनका लागि मुक्तककार स्वयं संवेदनशिल नभएको एवम् पत्रपत्रिकाहरुमा साहित्यिक रचनाको बक्स खाली हुने गरेको बताए ।
पछिल्लो क्रममा साहित्यकारहरु राजधानी केन्द्रित भइदिनालेपनि स्थानीय स्तरका पत्रपत्रिकाहरुमा स्तरीय रचना आउन छाडेको उनको गुनासो थियो । विद्युतीय सञ्चार माध्यमका तर्फबाट टिप्पणी गरेका मन क्षेत्रीले पोखरेली मुक्तकको गरिमा बुझ्ने र बुझाउने कार्यक्रम सञ्चालकहरुको अभावका कारण पोखराका धेरैजसो एफएम रेडियोहरुमा मुक्तकका कार्यक्रमहरु सञ्चालित नभएको बताए। विधागत विकासका निमित्त मुक्तककारहरु स्वयं पहिलो जिम्मेवार हुनुपर्ने बताउँदै उनले पोखरेली मिडियामा मुक्तकले कम स्थान पाउनुमा दुवैपक्ष उत्तिकै जिम्मेवार रहेको धारणा राखे । कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले मुक्तककारहरु स्वयं आँफैमा ब्राण्ड बनेको अवस्थामा मिडियाहरुको खोजी बन्न सक्ने बताए । स्तरीय मुक्तककारहरु जहिलेपनि मिडियाको आँखामा पर्ने र जनमानसमा समेत सोही अनुसारको माग हुने उनको धारणा थियो ।

Post a Comment

 
Top