0
गोल्डेन न्यूज संवाददाता
‘घाचोक जाऔं, दुध र वदामका परिकारमा रमाऔं’ भन्ने मूल नाराका साथ शुक्रबारदेखि सुरु हुने दोश्रो संस्करणको घाचोक महोत्सव २०७३ को तयारी पुरा भएको छ । परिर्वतनका लागि युवा सञ्जाल  (युनेक) नेपालको आयोजनामा यही मंसिर २१ गतेसम्म घाचोकमा संचालन हुने महोत्सवको तयारी पुरा भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । महोत्सवमा हस्तकला सहित दैनिक उपभोग्य वस्तुका समेत गरी करिब २५ वटा स्टलहरु रहने भएको सञ्जालका अध्यक्ष मौसम कार्कीले बताए । पोखराबाट करीब १५ किलोमिटर टाडा रहेको पर्यटकीय गाँउ घाचोक र लाहाचोकको पर्यटनको विकास गराउने उद्देश्यले आफूहरुले उक्त महोत्सवलाई निरन्तरता दिएको अध्यक्ष कार्कीले जनाए । २० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सव सम्पन्न गर्न १४ लाख ४० हजार खर्च हुने भएको महोत्सव संयोजक विष्णुबहादुर कार्की क्षेत्रीले बताए । नेपाल पर्यटन वोर्डले प्रवद्र्धन गरेको महोत्सवमा जाने पर्यटकहरुलाई अर्गानिक बदाम सहुलियतमा उपलब्ध गराउने भएको लम्सालले बताए ।
 
उक्त गाँउमा यस बर्ष करीब डेढ सय मुरी वदाम उत्पादन भएको स्थानीयले बताएका छन । गाँउमा ३० भन्दा बढी होम स्टे र होटलहरु रहेकोले महोत्सवमा आगन्तुक पाहुनाहरुलाई टोलटोलका घर घरमा होम स्टेको रुपमा व्यवस्थापन गर्न सकिने भएको संयोजक क्षेत्रीले दाबी गरे । महोत्सवमा विदेशी पर्यटकहरुलाई समेत आकषर्ण गर्न पर्यटक दौड हुने भएको क्षेत्रीले जनाए । करिब १० किलोमिटर भन्दा बढीको पर्यटक दौडमा करिब २० जनादेखि माथि पर्यटकहरु सहभागिता गराउने लक्ष्य राखिएको क्षेत्रीले बताए ।  मेघराज आधारभूत विद्यालयको परिसरमा संचालन हुने महोत्सवमा अन्तर गाविस स्तरीय रत्यौली गीत प्रतियोगिता, दुना–टपरी गाँस्ने प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम, चर्चित हाँस्य कलाकारको प्रस्तुति, मौलिक झाँकी प्रदर्शन, बाल उद्यान, कृषि हस्तकला उत्पादनका सामाग्रिहरु प्रदर्शन लगायतका कार्यक्रमहरु रहेने भएको उनले जनाए । महोत्सवको अवसरमा प्रथम युनेक डान्सिङ आईडल खुल्ला एकल नृत्य प्रतियोगिता समेत हुने भएको सञ्जालका अध्यक्ष मौसम कार्कीले बताए । प्रतियोगितामा विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेश्रो हुनेले २० हजार रुपैयाँका साथमा अन्य गिफ्टह्याम्परहरु प्राप्त गर्नेछन ।  दोश्रो चरणबाट १२ जना फाईनल चरणका लागि छनौट भएको कार्कीले बताए । घाचोक एक पर्यटकीय गाँउ भएकोले घाचोक नजिक तातोपानी कुण्ड, होम स्टे, होटल तथा लजको व्यबस्था, प्राकृतिक तथा सांस्कृतिक एवं धार्मिक सम्पदा रहेकोले घाचोकको पर्यटन प्रवद्र्धनमा महोत्सवले सहयोग पु¥याउने विश्वास प्रचार संयोजक राजन लम्सालले व्यक्त गरे। महोत्सवमा स्थानीय गाँउमा उत्पादन भएको बदाम र दूधबाट विभिन्न स्थानीय परिकारहरु समेत उपलब्ध गराईने भएको छ । शुक्रबार महोत्सव स्थलमा जाने पर्यटकहरुलाई पोखराको हरिचोकदेखि घाचोकसम्म निःशुल्कः लैजाने र ल्याउने व्याबस्था मिलाएको आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन शुक्रबार वाणिज्य मन्त्री रोमी गौचन थकालीले गर्ने कार्यक्रम छ ।

Post a Comment

 
Top