0
गोल्डेन न्यूज संवाददाता
पोखरा २२ मंसिर ।
महिला हिंसा बिरुद्धको १६ दिने अभियान सञ्चालन भैरहेका बेला पोखरामा सुरक्षित सहरका लागि बहस भएको छ । बालिका तथा महिलाका लागि सुरक्षित सहर बिषयमा बुधवार अनुशिक्षण एबं अन्तरक्रिया कार्यक्रम गरिएको हो । एक्सन एड नेपालको सहयोगमा वाल तथा महिला सशक्तिकरण समाज नेपाल र सिद्धार्थ क्लबले संयुक्त रुपमा सुरक्षित सहर निर्माणका लागि बहस सुरु गरेका हुन् । आफ्नो गाँउ, टोल, नगर तथा सहर सुरक्षित नभएसम्म हिंसाका घटना न्यूनिकरण नहुने भएकाले सुरक्षित सहर निर्माणमा सबै पक्ष गम्भिर बन्नुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका छन् । सुरक्षित सहरका लागि अहिले कायम रहेको सहरी संरचना पर्याप्त नभएको, सार्वजनिक स्थल, सार्वजनिक सवारी लगायत स्थानमा अहिलेपनि असुरक्षित महसूस गर्नुपरेको सहभागीको ठहर छ । लागूऔषध दुब्र्यसन, मादक पदार्थ सेवनले पनि महिला हिंसाको घटनामा बृद्धि भएको उनीहरुले बताए । उनीहरुले महिला माथि हुने हिंसा नयाँ नयाँ प्रबृतिको देखिएको भन्दै चिन्ता ब्यक्त गरेका छन । कार्यक्रममा बाल तथा महिला सशक्तिकरण समाज नेपालकी अध्यक्ष रजनी कोईरालाले महिलाहरु लाई आत्मसुरक्षाको तालिम दिनुपर्ने खाचो औल्याइन् । उनले हिंसाको प्रतिकार गर्न महिला आफै सक्षम भएपनि केही हदसम्म सुरक्षित हुन सकिने बताइन् । ‘हिंसा सहेर बस्ने भन्दापनि प्रतिकार गर्न सक्नुपर्छ,’ उनले भनिन्–‘त्यसका लागि महिलालाई प्रतिरक्षात्मक प्रशिक्षण चाहिन्छ । ’ सिद्धार्थ क्लबका निर्देशक दिलीप दोषीले सुरक्षित सहर निर्माणका लागि जिम्मेवार सबै पक्षको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए । आफ्नो टोल, नगर तथा सहर महिलामैत्री एबं सुरक्षित बनाउन सरोकारवाला सबै निकाय बीचमा सहकार्य आबश्यक रहेको उनले बताए ।कार्यक्रममा बाल तथा महिला सशक्तिकरण समाजका कार्यक्रम संयोजक गणेश खतिवडाले हिंसा, दुब्र्यवहार तथा सहरी क्षेत्रमा सुरक्षाको अबस्थाका वारेमा बोलेकका थिए । त्यस्तै सिद्धार्थ क्लबकी नागरिक शिक्षा अधिकृत मुना पुनले सुरक्षा लेखाजोखाको विषयमा आफ्नो प्रस्तुति राखेकी थिइन् । कार्यक्रममा पाखरा २० भलाम, पोखरा २१ काँहु, पोखरा २८ अर्मला, पोखरा २४ कृष्ति र पोखरा–२६ सराङकोटका महिला अधिकारकर्मी, किसोरी सञ्जालका प्रतिनिधिको सहभागिता थियो । कार्यक्रमका सहभागीले आ–आफ्नो क्षेत्रमा भएको महिला सुरक्षाका विषयमा बोलेका थिए । हाल नेपालका कुनैपनि सहर महिला र वालिकाको लागि सुरक्षित नभएकाले सुरक्षित सहर निर्माणका लागि बहस सुरु गरिएको आयोजकले जनाएको छ ।

Post a Comment

 
Top