0
गोल्डेन न्यूज संवाददाता
पोखरामा ९५ जना महिलाहरु को एकै पटक भीआईए अर्थात् महिलाहरुको पाठेघरको क्यान्सर परीक्षण गरिएको छ । परीक्षणमा पाँच जना पोजेटिभ फेला परेका छन् । नेपाल आदर्श महिला समूह पोखराको आयोजना तथा पोखरा उप–महानगरपालिका कार्यालय र भयरस्थान टोल विकास संस्थाको सहयोगमा सो परीक्षण गरिएको हो । पछिल्लो समयमा मानिसमा नसर्ने खालका दीर्घरोगहरु बढ्दै गएको भन्दै महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको सो संस्थाले जानकारी दिएको छ ।  कार्यक्रमको उद्घाटन गर्दै पोखरा उपमहानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेलले महिलाहरुले आफ्नो समस्या लुकाएका कारण दीर्घरोगले ज्यान लिने गरेको बताए । उनले समस्या आएपछि त्यसको निदान खोज्नु भन्दा समस्या नआउँदै त्यसको निदान गर्नु उपयुक्त हुने बताए । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका सम्झना ढुंगानाले पुरुषलाई फोक्सो र महिलालाई पाठेघरको क्यान्सरले सताउने गरेको बताईन् । सरकारले कास्की र चितवनमा पाठेघरको मुखको क्यान्सर परीक्षण गर्ने योजना ल्याएको बताईन् ।  संस्थाका अध्यक्ष गीता रिमालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव राजुवहादुर कोईराला, भयरस्थान टोल विकास संस्थाका अध्यक्ष लोकनाथ भण्डारी,  भगवती कोईराला, वुढानिलकण्ठ टोल विकास संस्थाका अध्यक्ष श्रीप्रसाद भट्टराई, नेकपा एमाले कास्कीका उप–सचिव प्रभा कोईराला, संस्थाका सचिव कमला भण्डारी लगायतले वोलेका थिए ।




Post a Comment

 
Top