0
गोल्डेन न्यूज संवाददाता
भूकम्प प्रभावित क्षेत्रमा ४१ हजार ३११ घर पुनःनिर्माण भएको र १७ हजार १४४ घर पुनःनिर्माणका क्रममा रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरण गठन भएको एक वर्ष पुगेका अवसरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो । भौतिक संरचनाको पुनःनिर्माणमा प्राधिकरणले निजी आवासलाई विशेष प्राथमिकता दिएको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । “भूकम्पको मारमा परेका अतिप्रभावित १४ जिल्लाका छ लाख २६ हजार ३६ घरधनी घर पुनःनिर्माणका लागि सरकारले उपलब्ध गराउने अनुदान रकम प्राप्त गर्न सूचीकृत भएका छन् ।  पुस ८ गतेसम्म पाँच लाख ४३ हजार १०७ घरधनीले अनुदान सम्झौता गरेका छन् भने चार लाख ५८ हजार ५९२ घरधनीले अनुदान रकम प्राप्त गरी घर पुनःनिर्माण गर्ने वातावरण बनेको छ”–उनले भजे । भूकम्पबाट कम प्रभावित १७ जिल्लामा सर्वेक्षणको काम अघि बढेको छ । घरधुरी सर्वेक्षण, अनुदान सम्झौता र वितरणका क्रममा दुई लाख चार हजार १७७ वटा गुनासा स्थानीय तहमा दर्ता भएका छन् । प्राधिकरणमा एक लाख सात हजार गुनासा प्राप्त भएको छ । प्राधिकरणमा प्राप्तमध्ये ७९ हजार ३२२ वटा गुनासाको पुनरावलोकन भएको छ । जसलाई नयाँ अनुदान कार्यविधि पारित हुनासाथ प्रकाशन गरिने प्राधिकरणले जनाएको छ ।  क्षतिग्रस्त पुरातात्विक सम्पदामध्ये १५ वटाको पुनःनिर्माण कार्य सम्पन्न भएको छ । ६९ वटा सम्पदाको पुनःनिर्माण कार्य जारी छ । चालु आर्थिक वर्ष २०७३÷७४ भित्रै थप ७४ वटा सम्पदाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ । अत्यावश्यक सेवा भएकाले २०० वटा स्वास्थ्य केन्द्रको ‘प्रिफेब्रिकेटेड’ संरचनामा पुनःनिर्माण सम्पन्न भइसकेको र १६९ वटा स्वास्थ्य केन्द्रको पुनःनिर्माण जारी छ ।  चालु आवभित्रै २६८ वटा स्वास्थ्य केन्द्रको पुनःनिर्माण सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ ।  ध्वस्त भएका ३२ वटा सरकारी भवनको ‘प्रिफेब्रिकेटेड’ संरचनामा पुनः निर्माण सम्पन्न भएको छ । २२८ वटा सरकारी भवन पुनःनिर्माणको चरणमा छन् । चालु आवभित्रै केन्द्र र जिल्ला तहका स्थायी एवम् ‘प्रिफ्रेब्रिकेटेड’ गरी ५०७ भवन पुनःनिर्माण गर्र्ने लक्ष्य लिइएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।  प्राधिकरणले २०० विद्यालय पुनःनिर्माण गरेको छ भने एक हजार २०० प्रक्रियामा छन् । २०७४ साल कात्तिकभित्र दुई हजार ३०० विद्यालयको मर्मतसम्भार एवम् पुनःनिर्माण सम्पन्न गरिने छ । २९७ वटा खानेपानी आयोजना पुनःनिर्माण भएको छ । हाल ९६१ आयोजनाको पुनःनिर्माण जारी छ । सडक, जलविद्युत्, उद्योग, जीविकोपार्जनलगायतका क्षेत्रमा पनि काम भइरहेको  प्राधिकरणको भनाइ छ ।  ‘अझ राम्रो र बलियो बनाऔँ’ भन्ने अवधारणामा आधारित भई एकीकृत सघन बस्तीको विकासमा स्थानीय समुदायलाई प्रोत्साहित गर्न पूर्वाधार विकास सरकारले गरिदिने निर्णय भएको छ । जसअनुसार यस आवमा २५ वटा वस्तीको योजना तयारी गरिनेछ ।  उपत्यकाभित्रका सातवटै विश्व सम्पदा क्षेत्र र गोरखा एवम् नुवाकोट दरबार क्षेत्रको  बृहत्तर विकासका निम्ति गुरुयोजना तयारी कार्य अघि बढेको छ । गठन भएको वर्ष दिन पुगेका अवसरमा प्राधिकरणले पुनःनिर्माण र पुनःस्थापना कार्य तालिकासहितको स्पष्ट खाका बनाएको जनाएको छ । प्राधिकरणको अबको मूल्याङ्कनको आधार यही खाका हुने ज्ञवालीले बताए । भूकम्पपीडित घरधनीलाई रु तीन लाख उपलब्ध गराउने गरी अनुदान वितरण सम्बन्धी कार्यविधि मन्त्रिपरिषद् बाट स्वीकृतिका क्रममा छ ।

Post a Comment

 
Top