0
गोल्डेन न्यूज संवाददाता
सिर्जनशील कलाकार समूह पोखराको आयोजनामा कलाकार विश्वराज पराजुलीको पानी रंगमा सिर्जित ‘द व्युटीफुल एन्ड द सबलाइम’ शीर्षकको एकल चित्रकला प्रदर्शनी विहीबार पोखरामा सुरु भएको छ । चित्रकलाको समुदघाटन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवी शर्माले कलाकार पराजुलीका कला पोखरामा मात्रै सीमित नराखी अन्तर्रा्ष्ट्रिय तहको प्रदर्शनीमा लैजानु पर्ने अब्बल दर्जाका कला रहेको बताए ।  कलामा केवल रंग र रेखा मात्रै होइन दर्शन र मनोविज्ञान पनि रहेको हुने हुँदा कलाकारको अनुभव र अनुभूति कलामा अनुवाद भएको धारणा राखे । वरिष्ठ कलाकार दुर्गा बरालले कलाकार पराजुलीको परिचय दिदैं १४ वर्ष अगाडि त्रिभुव विश्वविद्यालयमा उनको कला प्रदर्शनी हेरेदेखि नै प्रभावित भएको थिएँ, आज उनका कलामा निखार आएको पाउँदा खुशी लागेको बताए । पानी रंगमा कला सिर्जना गर्नु अत्यन्तै जोखिम छ, पानी रंग चलाउनु जङ्गली घोडा चढ्नु जस्तै चुनौती भएको बरालले बताए । पानी रंगमा पादर्शिताका साथै भावनाहरुलाई बग्न दिनुपर्ने विचार बरालले राखे ।कलाकार पराजुलीले पोखरा विश्वविद्यालयमा प्राध्यापनको पेशा अँगाले पनि कला आफ्ना लागि प्यासन भएको हँुदा कलाकारितालाई निरन्तरता दिदै आफ्नो क्रियाशीलतालाई हरेक वर्ष सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरे । चित्रकलामा पोखरा पानी रंगको शहरका रुपमा परिचत छ, शिल्प र शैलीका दृष्टिले पोखरेली कलाको स्वाद फरक भएको मान्यतालाई स्थापित गर्न आफू लागिपर्ने जनाए । प्राकृतिक सुन्दरता र मनमोहक दृश्यलाई ५२ वटा क्यानभासमा पानी रंग मार्फत् अभिव्यक्त गरिएका प्रत्येक कलाको तरंगले दर्शकको मन छुने खालका छन् । पोखरा आर्ट ग्यालरी महेन्द्रपुलमा पुस २० गते सम्म प्रदर्शनी चल्ने जानकारी संस्थाका सल्लाहकार बुद्धि गुरुङ दिए । सिर्जनशील कलाकार समूहको अध्यक्ष सूर्य बरायलीको सभापतित्वमा सम्पन्न समुद्घाटनमा उपाध्यक्ष मनोज तामाङले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका सचिव जगत पुनले कार्यक्रम सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top