0
गोल्डेन न्यूज संवाददाता 
पोखराको नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा बिहीवारदेखि राष्ट्रिय औद्योगिक ब्यापार मेला सुरु हुदैछ । मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक पोखरा उद्योग बाणिज्य संघले मंगलवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । मेलाको लागि गठित मुल आयोजक समिति र विभिन्न २८ वटा उपसमितिले आफ्नो तयारी पूरा गरेको संघका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए । मेलामा स्टल निर्माण, बालउद्यान, मञ्च ब्यवस्थापन, कलाकारको छनौट तथा अन्य सबै तयारी पूराभएको छ । यो बर्ष अघिल्ला बर्षको भन्दा भिन्दै तरिकाले स्टल ब्यवस्थापन गरिएको छ ।
 
मंसिर २३ देखि पुस ४ गतेसम्म सञ्चालन हुने मेलाको मुख्य आकर्षणमा यो बर्ष एक लाख पुरस्कार राशीको गायन तारा प्रतियोगिता एबं अन्तर्राष्ट्रियस्तरका रेस्लरहरुको रेस्लिङ प्रदर्शन हुनेछ । यो पटकको मेलामा समावेश गरिएको पिसिसिआई गायन तारामा प्रथम हुनेले १ लाख र द्धितीय हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछ । मेलामा लोकदोहोरी, फेसन सो, बडि बिल्डिङ, अन्तर्राष्ट्रियस्तरका रेस्लरहरुको रेस्लिङ प्रदर्शन, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगीतिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता, स्थापित हाँस्य कलाकारहरुको मनोरञ्जनात्मक कार्यक्रमहरु समेत समावेश गरिएको महासचिव दामु अधिकारीले जानकारी दिए । ‘लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ आयोजित मेला पश्चिमाञ्चल क्षेत्रमा ब्यवसाय विस्तारको संभावनाको खोजी गर्ने उद्देश्यमा समर्पित रहने आयोजकको दावी छ । मेलामा अत्याधूनिक डोममा निर्मित विशेष प्रकारका ७८ वटा स्टल सहित २९५ स्टल रहने आयोजकले जनाएको छ । मेलामा रेष्टुरेन्टका १३, अटोको ५३, मेड इन नेपालमा १० र हस्तकलाका २५ फ्लोरिकल्चरको ४ गरी ११२ साधारण स्टल रहनेछन् । मेला अबधिभर झण्डै ३ लाख दर्शकहरुले अवलोकन गर्ने अनुमान छ । मेला सम्पन्न गर्न ९० लाख रुपैयाँ खर्च हुने र झण्डै एक करोड १० लाख रुपैयाँ आम्दानी गरी २५ लाख रुपैयाँ वचतको अपेक्षा गरिएको छ ।
 
नेपाल सरकारले २०७३ लाई घुमफिर वर्ष घोषणा गरेको सन्दर्भमा नेपाल पर्यटन वोर्डसँगको सहयोग तथा पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघको आयोजनामा संघले मेला सुरु हुने अघिल्लो दिन बुधवार ‘पश्चिमाञ्चल क्षेत्रको पर्यटन विकासका सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना समेत हुँदैछ । मेला आयोजनाबाट बचत भएको रकम पोखरा प्रदर्शनी केन्द्रको पूर्वाधार निर्माणमा विशेष प्राथमिकता प्रदान गरी खर्च गरिने आयोजकले जनाएको छ । मेलाको अवसरमा आउने आन्तरिक पाहुनालाई लक्षित गरी पोखरा बसाईमा २५ प्रतिशत छुट तथा विभिन्न पर्यटकीय गतिविधिमा समेत आकर्षक छुटको व्यवस्था गरिएको पालिखेले बताए ।पश्चिमाञ्चल होटल संघसँगको सहकार्यमा आवासमा छुटको व्यवस्था गरिएको हो । पर्यटन प्रवद्र्धनको लागि यो बर्ष मंसिर २६ गते पोखरामा रहेका विदेशी पर्यटकहरुलाई मेलाको अवलोकन गराउने कार्यक्रम तय भएको अध्यक्ष पालिखेले जानकारी दिए । मेला अबलोकनका लागि सर्वसाधारणलाई प्रति टिकट ६० रुपैया र विद्यार्थीको लागि ४० रुपैया तथा साँझ आयोजना हुने साँस्कृतिक कार्यक्रमको लागि डेढ सय रुपैयाँ टिकटदर कायम गरिएको छ । मेलाको पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । मेला उद्घाटन पूर्व संघको कार्यालय गैह्रापाटनबाट प्रभातफेरि सुरु भई मेला स्थल पुगेर टुङ्गिनेछ ।



Post a Comment

 
Top