0
गोल्डेन न्यूज संवाददाता
पोखराको लेकसाइड स्थित माउण्ट कैलाश रिर्सोटले स्तरीय सेवा प्रदान गरे बापत पुनः अर्को अन्तराष्ट्रिय अवार्ड जितेको छ । दुई महिना अघि गुणस्तरीय सेवामा विश्व अवार्ड जितेको रिसोर्ट पुनः अर्को अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको हो । गत कार्तिक १ गते विजनेश एनिसिएटिभ डिरेक्सन्स (बिआईडी) नामक अन्तर्राष्ट्रिय संस्थाबाट ‘वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’ प्राप्त गरेको रिसोर्टले मंगलवार राति बेलायतमा अर्को अवार्ड हात पारेको छ । बेलायतको अक्सफोर्ड अन्तर्गतको यूरोप बिजनेश एसेम्ब्ली (ईबीए) ले रिसोर्टलाई ‘म्यानेजर अफ दि इयर’ को मेडल सहित ‘बेष्ट इन्टरप्राइज अवार्ड ’ प्रदान गरेको हो । मंगलवार राति बेलायतमा आयोजित विशेष कार्यक्रमका बीच अवार्ड हस्तान्तरण गरिएको हो । रिसोर्टका अध्यक्ष नरेश बहादुर भट्टराईले मेडल र अवार्ड ग्रहण गरे । यूरोप बिजनेश एसेम्ब्लीले समाजलाई आर्थिक, शैक्षिक र बैज्ञानिक रूपमा विकास गर्न सहयोग पु¥याउने संस्थालाई अवार्ड प्रदान गर्दै आएको छ । एसेम्ब्लीको नोमिनेशन काउन्सिलले एशिया प्रशान्त क्षेत्रकै उत्कृष्ट गुणस्तर कायम गरी सेवा प्रदान गरेको ठहर सहित रिसोर्टलाई मेडल र अवार्ड दिने निर्णय गरेको थियो । अवार्ड ग्रहणपछि भट्टराईले माउण्ट कैलाश रिसोर्टले दिएको सेवा उत्कृष्ट भएकै कारण अन्तराष्ट्रियस्तरमा सम्मानित हुन पाएकोमा खुशी ब्यक्त गरे । पोखरामा सञ्चालित होटल तथा रेष्टुरेन्टले दिने सेवा सुविधाका बारेमा अन्तर्राष्ट्रिय समुदायले समेत मुल्याङ्कन गरिरहेकाले गुणस्तरीय सेवा प्रवाहमा जोड दिनुपर्ने उनले बताए । स्थापनाको ७ बर्ष पुरा गरेको माउण्ट कैलाश रिसोर्टले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ । रिसोर्टका अपरेशन म्यानेजर टेक बहादुर गुरुङले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो प्रभाव बनिसकेकाले आगामी दिनमा अझ सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । यसैबीच भिवोर सोसाइटी डेभलपमेन्ट बैंकले यो बर्ष एशिया प्रशान्त क्षेत्रको उत्कृष्ट बैङ्कको अवार्ड प्राप्त गरेको छ । बैंकका अध्यक्ष सुशिलराज पराजुली र प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले अवार्ड ग्रहण गरेका हुन् । गत बर्ष प्राइम कमर्शियल बैंकले यो अवार्ड हात पारेको थियो ।




Post a Comment

 
Top