0
थिलथिलो अवस्थामा रहेको भूकम्प पुनर्निर्माण कार्य ११ जिल्लामा खटिएका एक हजार ३६० जना इन्जिनियरहरुले विभिन्न सेवासुविधासहित काम गर्ने वातावरण सिर्जना गरियोस् भन्ने माग राख्दै गत मंगलबार सामूहिक राजीनामा दिएपछि पुनर्निर्माण कार्य पूर्ण रुपमा प्रभावित हुने भएको छ । यो घटनाले ५० हजारको पहिलो किस्ता अनुदान लिएर घर बनाउन थालेका २० हजार भूकम्पपीडित परिवार पूर्ण रुपमा प्रभावित भएका छन् । दोस्रो जाडोमा पनि बाध्यतावश त्रिपालमुनि बस्न बाध्य भएका भूकम्पपीडित परिवारको झन् बिजोग हुने भएको छ भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यशैली र कार्यक्षमतामा समेत प्रश्नचिन्ह खडा भएको छ । सामूहिक राजीनामा दिएका इन्जिनियरहरुले पुनर्निर्माण कार्यमा भएको ढिलासुस्ती र प्राविधिकहरुलाई गरिएको असहयोगलाई मुख्य कारण बनाएका छन् । जे भए पनि यो चिसो मौसममा भूकम्पपीडितहरुको मानवीय संवेदनशीलतालाई समेत ध्यान राखेर भए पनि यसरी इन्जिनियरहरुले सामूहिक राजीनामा दिएर काम ठप्प पार्न नहुने अधिकांश नेपालीको अभिमत रहेको छ । व्यक्तिभन्दा समाज र समाजभन्दा राष्ट्र ठूलो हुन्छ भन्ने आदर्श मान्यतालाई आत्मसात् गरेर भए पनि भूकम्प पुनर्निर्माणको काम नै प्रभावित हुनेगरी विभिन्न जिल्लामा खटिएका इन्जिनियरहरुले आफ्नो यो निर्णयप्रति पुनर्विचार गर्नु देश र जनताको हितमा राम्रो हुनेछ । प्राधिकरणका अनेक कमी र कमजोरीको प्रभाव भूकम्पपीडित परिवारलाई पार्नुहुन्न भन्ने हामी ठान्दछौँ । हास्यकलाकार जोडी धुर्मुस र सुन्तलीद्वारा यिनै भूकम्पपीडितका लागि भनेर आफ्नो निजी लगानी र स्वदेशी, विदेशी दाताहरुको सहयोग संकलन गरेर पाँच करोड १९ लाखको लगानीमा ६५ परिवार बस्न मिल्ने सामूहिक आवास भवन बनाएर गत महिना हस्तान्तरण गरिएको घटनालाई उदाहरणका रुपमा लिएर भए पनि यो प्राविधिकहरुको आन्दोलन स्थगित हुनुपर्छ भन्ने हामी ठान्दछौँ । स्मरणीय छ, प्राविधिकहरुले पहिलो किस्ताबापत् निकासा भएको ५० हजारबराबरको काम भएको प्रमाणित भएपछि मात्र दोस्रो किस्ताबापत्को रकम १ लाख ५० हजार पाउन सक्नेछन् । अर्को शब्दमा भन्नुपर्दा यो सामूहिक राजीनामा प्रकरणले भूकम्पपीडित परिवारहरु गम्भीर समस्यामा परेका छन् । आन्दोलित इन्जिनियरहरुले प्राधिकरणलाई अल्टिमेटम दिएर मंसिर २२ गतेदेखि नै फिल्डमा गएर काम गर्न बन्द गरेका थिए । दैवी आपत र विपद्को यो प्रतिकूल समयमा व्यक्तिगत लाभ र सुखसुविधा खोज्न हामी कसैलाई पनि सुहाउँदैन । पुनर्निर्माण प्राधिकरणको असहयोग र असक्षमताको आक्रोशको असर भूकम्पपीडित परिवारलाई कदापि पारिनु हुन्न भन्ने हामी ठान्दछौँ । मानवीय मर्म, मूल्य र मान्यतालाई आत्मसात् गरेर भए पनि पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले यो सामूहिक राजीनामा फिर्ता लिएर प्राधिकरणसँग वार्ता र संवाद गरेर आफ्ना जायज र उचित मागहरु पूरा गराउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ । सडकदेखि सदनसम्म राजनीतिक आन्दोलन चर्केको यो संक्रमणकालीन अवस्थामा प्राधिकरण पुनर्निर्माणको कार्यमा खटिएका इन्जिनियरहरुलाई काम गर्ने उपयुक्त वातावरण बनाउन सरकारले पनि ध्यान दिनु अब जरूरी भइसकेको छ ।

Post a Comment

 
Top